कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

काभ्रेका स्थानीय तहमा इन्धन दुरुपयोग

काभ्रे — बनेपा नगरपालिका प्रमुख लक्ष्मीनरसिं बादे श्रेष्ठ कार्यालय आउनको लागि दैनिक करिब ५५ किलोमिटर ओहोरदोहोर गर्छन् ।

बनेपाका स्थायी भएका कारण नगरप्रमुख उम्मेदवार उनी निर्वाचित भएपछि बास बस्न भने ललितपुर जिल्लाको पाटन पुग्छन् । उनलाई कार्यालय ल्याउन लानको लागि सरकारी नम्बर प्लेटको टोयटा प्राडो दैनिक सरदर १ सय १० किलोमिटर गुड्छ । बिहान बादेलाई पाटन पुगेर नगरपालिका कार्यालय ल्याउने नगरपालिकाका चालक बेलुका घर पुर्‍याएर बनेपा नै फर्किछन् । भोलिपल्ट बिहान फेरि लिन पाटन पुग्छन् ।

नगर प्रमुखको गाडीमा घरआउन जानआउन हुने इन्धन खर्च नछुटिएपनि आर्थिक वर्ष २०७६/७७ मा इन्धनको लागि २८ लाख विनियोजन गरेको नगरपालिकामा २७ लाख ५ हजार ३ सय ७६ खर्च भएको छ । कर्मचारी र जनप्रतिनिधीले प्रयोग गर्ने सवारीसाधनको लागि मात्रै १५ लाख खर्च भएको छ । नगरपालिकाका सफाइ साधनको लागि १२ लाख ५ हजार ३ सय ७६ खर्च भएको छ ।

प्रमुख बादेलाई टेलिफोन सम्पर्क गर्दा उनी घर फर्कने क्रममा बाटोमा नै भएको बताए । ‘हप्तामा ५ दिन जति ओहोरदोहोर गर्दछु, बनेपा नै बस्न पाए त मलाई नै राम्रो हुन्थ्यो,’ तपाईंलाई मतदाता र कार्यकर्ताले भेट्न नै नपाएको गुनासो छ नी भन्ने प्रश्नमा उनले भने, ‘मलाई भेट्न चाहनेको लागि कुनै समस्या छैन, सहजै भेट्न सक्नुहुन्छ ।’ आफ्नो कोरोना संक्रमित भएर निको भएको कारण पछिल्लो समय भेटघाटलाई केही कम गरेको भने स्विकारे ।

पाँचखाल नगरपालिका प्रमुख महेश खरेल पनि आफ्नै नगरपालिकामा बस्दैनन् । पाँचखाल खरेलथोकका स्थायी बासिन्दा उनी त्यहाँबाट ४० किमि परको काठमाडौं बानेश्वरमा बस्छन् । कार्यालय परिसरमा नै उनको लागि क्वार्टरको व्यवस्था गरिएको छ तर कार्यालयको साधन प्रयोग गर्दै उनी दैनिक काठमाडौं ओहोरदोहोर गर्छन् ।

आर्थिक वर्ष २०७६/७७ मा मात्रै इन्धनको लागि नगरपालिकाले १४ लाख ५८ हजार २ सय ८२ रुपैयाा खर्च गरेको छ । नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतको चढ्ने गाडी, एम्बुलेन्स र नगरपालिका कर्मचारीको लागि मासिक १० लिटर पेट्रोल खर्च हुँदै आएको छ । नगरप्रमुख खरेलले आफू काठमाडौं ओहोरदोहोर गर्नाले कुनै समस्या नभएको बताए । ‘खरेलथोकस्थित मेरो घर र काठमाडांै पुग्न उत्तिनै समय लाग्छ, त्यस माथि पनि म धेरैजसो नगरपालिकाको आवासमा नै बस्छु,’ उनले भने, ‘म ओहोरदोहोर गरेपनि सेवाग्राहीलाई कुनै समस्या पर्न दिएको छैन, भेट्न पाइएन भन्ने त प्रश्न नै छैन, मेरो कोठासम्म सबै सेवाग्राहीलाई पहुँच छ ।’

मण्डनदेउपुर नगरपालिका प्रमुख टोकबहादुर वाइवा पनि बनेपा नै बस्छन् । कार्यालय दैनिक ओहोरदोहोर गर्ने उनी कहिलेकाँही मात्रै नयाँगाउँस्थित आफ्नो घरमा बस्छन् । नेकपा जिल्ला कमिटीका सचिव समेत रहेका उनी पार्टीका काममा पनि सरकारी गाडी नै प्रयोग गर्छन् । कार्यालय आउन टाढाबाट आउनुपर्ने कारण इन्धन खर्च पनि बढिरहेको छ । नगरपालिकाले कार्यालयको स्वामित्व रहेका सवारीसाधनको लागि मात्रै ९ लाख ३२ हजार ३३ रुपैयाँको तेल खर्च भएको छ । नगरपालिकाले आर्थिक वर्ष २०७६/७७ मा नगरपालिकाले आफ्ना १२ जना वडाअध्यक्षलाई मासिक ५ हजार खर्च दिएको थियो । वडाअध्यक्षलाई इन्धन खर्च र मर्मतको लागि मात्रै वार्षिक ७ लाख २० हजार खर्च भइरहेको छ । प्रमुख प्रशासकीय अधिकृत प्रणराज न्यौपानेले इन्धनमा धेरै खर्च भएकोले यो बर्षदेखि २० लिटर तेल मात्रै दिने निर्णय भएको बताउँछन् ।

पनौती नगरप्रमुख भीम न्यौपानेको घर नगरपालिका कार्यालयबाट करिब ५ किलोमिटरको दुरीमा छ । उपप्रमुख गिता बञ्जारा करिब २ किलोमिटरको दुरीमा बस्छिन् । तर यी दुई जनाले प्रयोग गर्ने दुई सवारी साधनमा मात्रै गत आर्थिक वर्षमा ९ लाख ८० हजार ७ सय ७२ रुपैयाँको डिजेल प्रयोग गरेको छ । नगरप्रमुख भीम न्यौपाने ठूलो भुगोल भएको कारण इन्धनमा धेरै खर्च भएको तर्क गर्छन् । ‘जनताको प्रतिनिधि भएको कारण हाम्रो गाडी सबैले चढ्छन्,’ न्यौपानेले भने, ‘१८ किलोमिटरको यो क्षेत्रफल छ, ग्रामिण भेग भएकोले इन्धन खपत अलि बढी भएको हुनुपर्छ ।’

नमोबुद्ध नगरपालिका उपप्रमुख रामदेवी तामाङ दैनिक काठमाडौं ओहोरदोहोर गर्छिन् । नगरपालिकाले उनलाई मासिक तीन सय लिटरसम्म डिजेल उपलब्ध गराएको छ । ‘छोरीहरु काठमाडौं बस्ने भएकोले पहिला म पनि उत्तै जान्थे, अहिले गाउँमा नै बस्छु,’ उनले दाबी गरिन्, ‘अहिले पनि आउने जाने त गर्छु तर धेरै दिन चाही पालिकामा नै हुन्छु ।’

आर्थिक वर्ष २०७६/७७ को लागि इन्धनमा २४ लाख छुट्याएको धुलिखेल नगरपालिकाले सो वर्ष २३ लाख ४० हजार ८ सय १५ खर्च गर्यो । नगरपालिकाका लेखा अधिकृत धनबहादुर बस्नेत नगरपालिकाका दमकल लगायतका अन्य सवारी साधनमा पनि खर्च हुने भएकोले धेरै देखिएको तर्क गरे । नगरपालिका प्रमुख, उपप्रमुखहरु दैनिक काठमाडौं ओहोरदोहोर गर्नाले इन्धन खर्च त बढाएकै छ, सेवाग्राहीले उनीहरुलाई भेटन् पनि पाउदैनथे । ‘मेयरसापलाई भेट्न साह्रै मुस्किल भयो, दिनदिनै काठमाडौंबाटै आउने जाने भएकोले भेटन सकिदैन,’ बनेपा नगरपालिका परिसरमा भेटिएका ती सेवाग्राहीले भने, ‘बनेपा नै बस्ने भए त साँझ विहान भेट्न पाइन्थ्यो, जिल्लामा नै बसे त उहाँहरुलाई नै फाइदा हुन्थ्यो ।

जनप्रतिनिधीमात्र हैन जिल्लाका सरकारी कार्यलय प्रमुख, कर्मचारी समेत दैनिक ओहोरदोहोर गर्छन् । टाढाबाट आउने भएकोले बिहान ढिला आइपुग्ने र बेलुका फर्कन हतार हुन्छ । त्यसको कारण कार्यालय र सेवाग्राहीले कम समय पाउँछन् ।

प्रकाशित : पुस ५, २०७७ १९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?