कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पहिरोले माडीको परुई खोला थुनियो

चितवन — कमजोर भू–बनोट रहेको चितवन माडीको सोमेश्वर पर्वत श्रृंखलामा पर्ने एउटा डाँडो भत्कँदा स्थानीय परुई खोला थुनिएको छ । डाँडाको रुखबिरुवा, झाडीझ्याङ र ढुंगामाटोले खोलाको लगभग पाँच सय मिटर क्षेत्र पुरेको छ । थुनिएको क्षेत्रमा निकै अग्लो बाँध बनेको स्थानीयले बताए । खानेपानी र सिंचाइका लागि संकट सुरु भएको छ । खोलो थुनिएर बनेको ताल अचानक फुटे तल्लो क्षेत्रमा बाढी आउने त्रास पनि छ ।

पहिरोले माडीको परुई खोला थुनियो

माडी नगरपालिका–७ का कृष्णबहादुर राना आफ्नो गहुँ खेतमा पानी लगाउन शुक्रबार बिहान झिसमिसेमा नै घरबाट निस्किए । कुलोमा थोपो पानी थिएन । साँझसम्म मज्जाले पानी बगेको कुलोमा बिहान पानी नदेख्दा उनी छक्कै परे । उनी अगाडि बढ्दै खोलासम्म नै पुगे । कुलो जस्तै खोलो पनि चप्रक्क भएर सुकेको थियो ।

खोलोको दूरावस्थाका बारेमा उनले माडी–७ देवेन्द्रपुरका ढाकामोहन तिमिल्सिनालाई बताए । वडा सदस्य रामबहादुर आचार्यसम्म कुरा पुग्यो । अन्य दुईजना साथी खोजेर उनीहरु खोलैखोल अगाडि बढे । त्यसपछि जे देखे त्यो चानचुने थिएन । ‘परुई खोलाको मुहान बस्तीदेखि लगभग पाँच किलोमिटर पर छ । बस्तीदेखि त्यस्तै तीन किलोमिटर पर सेते पहरो छ । त्यही पहरोको पहिरोले खोला थुनेछ,’ ढाकामोहनले भने ।

उनीहरु पाँचजना शुक्रबार बिहान सवा नौ बजेतिर त्यहाँ पुगेका थिए । सेते पहरो पहिल्यैदेखि अलिअलि लच्केकोझैं देखिन्थ्यो । माडीमा ३१ सालदेखि ढाकामोहनको परिवार बस्दै आएको छ । घाँसदाउरा गर्न अनेकौं पटक गएको ठाउँ हो त्यो । तर हिउँद याममा त्यहाँ पहिरो आउँछ र खोलो यसरी थुनिन्छ भनेर कल्पना पनि नगरेको ढाकामोहनले बताए । पानी बग्ने खोलामा पहाड बगेको देख्दा अचम्म लागेको उनले सुनाए ।

‘बोटबिरुवा, खरकाँस, ढुंगामाटो सर्लक्क आएर खोलामा बसेको छ । अलिअलि कतै जमिन फाँटेकोझैं देखिन्छ । नभए पानी बग्ने खोलो नभएर पुरानै डाँडो भए जस्तो देखिन्छ त्यहाँ । खोलाको लगभग पाँच सय मिटर लम्बाइ यसरी पुरिएको छ,’तिमिल्सिनाले भने । खोला पुरिएको भागको उचाइ पनि अग्लो डाँडा जस्तै देखिएको उनले बताए ।

स्थानीय अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिका सदस्य कृष्ण पौडेल शुक्रबार दुई पटक पहिरो स्थलमा पुगे । ‘गहुँमा पानी लगाउने बेलामा खोलो सुकेपछि आपत परेको छ । त्योभन्दा ठूलो आपत खानेपानीको छ । मुहानबाट ल्याएको पाँच सय मिटर पाइप पहिरोले पूरै क्षति गरेका कारण शुक्रबार बिहानदेखि धारामा थोपो पानी आएको छैन,’ पौडेलले भने । पहिरोका कारण तीन सय धारामा पानी आएको छैन ।

परुई खोला आसपासमा बस्तीहरु छन् । परुई खोला रिउ खोलामा गएर मिसिन्छ । ‘खोलोमा पहाड आएर बसेपछि माथि पानीको ताल पर्न थालेको छ । खोलो खोल्न सजिलो छैन । पाँच सय मिटर लम्बाइको अग्लो ड्याम बनेको छ । ताल परको पानीले धकेलेर यो गिलो माटो कुनै पनि बेला भत्केर खोलामा एक्कासि बाढी आउने हो कि भन्ने डर त्रास पनि उत्तिकै छ,’ पौडेलले भने ।

अचानक पहिरो आएर खोला नै थुनिएका बारेमा जनप्रतिनिधि र प्राविधिकहरुलाई जानकारी गराइसकेको अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष शिवजी गायकले बताए । ‘पहाड नै खोलामा आएर बसेको छ भन्ने सुनिएको छ । चार पाँच सय मिटर लम्बाइमा खोलो नै पुरियो भन्ने छ । पानीको निकास दिनु पर्दछ । अहिले नभए पनि बर्खामा त ठूलो खतरा हुन्छ । त्यसैले सबै ठाउँमा जानकारी पुर्‍याएको छ,’ उनले भने ।

प्रकाशित : पुस ४, २०७७ १०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?