कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

८८ वर्षीया महिलालाई घरमै नागरिकता

रामेछाप — रामेछापकी एक वृद्धालाई प्रमुख जिल्ला अधिकारीले उनकै घरमा पुगेर नागरिकता प्रमाण पत्र उपलब्ध गराएकी छिन् । प्रजिअ रुद्रादेवी शर्माले रामेछाप नगरपालिका ५ रामपुरकी ८८ वर्षीया शक्तिमाया लामा तामाङलाई बुधबार घरमै पुगेर नागरिकता दिएकी हुन् । घरमै पुगेर जिल्लामा नागरिकता वितरण गराएको यो पहिलो हो । यसअघि जिल्ला प्रशासन कार्यालय र घुम्ती टोलीमा नागरिकता वितरण गर्ने गरिएको थियो । 

८८ वर्षीया महिलालाई घरमै नागरिकता

आफन्त कोही नभएकी, कान कम सुन्ने तामाङले नागरिकता प्रमाण पत्र नपाएको कारण सरकारी सुविधा उपयोग गर्न पाएकी थिइनन् । ती महिलाको प्रमाण नपुग्दा यसअघि नागरिकता नबनेको हो । वडाध्यक्ष भिमबहादुर तामाङले प्रमाण जुटाउन ३ महिना लागेको बताए । वडा अध्यक्ष तामाङका अनुसार वृद्धाको माइती दोलखाको विगु गाउँपालिका साविक ओराङ गाविसमा हो ।

१९९० सालको महाभूकम्पपछि उनीसहित बाबु सिन्धुली जिल्लामा झरे । सिन्धुलीको तिनपाटनमा बसोबास गरेका बेला बाबु विते । शक्तिमाया हुर्किन् तर समयमा विवाह भएन । उमेर अलि ढल्केपछि रामपुरका उरगेन तामाङ कामको खोजीमा तीनपाटन झरेका बेला शक्तिमायासँग भेट भयो । उरगेनका श्रीमती बितिसकेकी थिइन् । उनले शक्तिमायालाई श्रीमती बनाएर घर ल्याए । त्यसको केही समयपछि उरगेन पनि बिते । त्यसपछि उनी एक्लै रामपुरमा बस्दै आएकी छिन् ।

वडाध्यक्ष आफैं दोलखाको विगु पुगेर शक्तिमायाको माइतीको नागरिकता र नाता प्रमाणित जुटाए । उरगेनको नागरिकताको प्रमाण घरमै भेटियो । बल्ल उनी नेपालको नागरिक बन्नको लागि बाटो खुल्यो । शक्तिमायाको देवरको छोरा नातिले नागरिकताका लागि सनाखत गरीदिए ।

शक्तिमायालाई नागरिकता वितरण गर्न ३० किलोमिटर टाढाको रामपुर पुगेकी प्रजिअ शर्मा उनको अवस्था देखेर भावुक भइन् । शरीर कुप्रो भइसकेको बेलामा उनी आफैं तुल्याउँछिन्, खान्छिन् । खोजबिन गरेको अन्न संगाल्छिन् । घर लिपपोत गर्छिन् । उनले ४ वटा बाख्रा समेत पालेकी छिन् । तिनको रेखदेख समेत तिनै वृद्धाको काँधमा छ । प्रजिअ शर्माले उनलाई तातो लुगा र केही खाद्यान्न सहयोग गर्ने र थप हेरचाह गरिदिन नजिकका छिमेकीलाई आग्रह गरिन् ।

बुधबार नै प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखहरुले रामपुरका नागरिकहरुसँग अन्तर्क्रिया समेत गरेका थिए । त्यसक्रममा स्थानीयले रासायनिक मल एक बोराको ३ हजारसम्म हाल्नु परेको गुनासो गरे ।

प्रकाशित : पुस १, २०७७ २२:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?