डेढवर्षे छोरासहित महिला खोलामा हाम फालिन्, छोराको मृत्यु

रमेशकुमार पौडेल

चितवन — एक जना महिला आफ्नो डेढ वर्षीय छोरासहित खोलामा हाम फालेकी छिन् ।  आमाको उद्धार भए पनि बच्चाको मृत्यु भएको छ ।

चितवन जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार भरतपुर महानगरपालिका–२२ पटिहानी बोटे टोलकी ३५ वर्षीया हेमन्ती बोटे बुधबार दिउँसो साढे दुई बजे छोरा बोकेर राप्ती खोलामा हाम फालेकी थिइन् ।

चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी सूर्य थापाका अनुसार महिलाले रक्सी खाएर खोलामा हाम फालेको खुलेको छ । घटनापछि इलाका प्रहरी कार्यालय गीतानगरको टोली उद्धारका लागि पुगेको थियो । बालक बगेर तलै गएका कारण मृत्यु भएको प्रहरीले जनाएको छ । तीनवटा डुंगामा खोजी गर्न गएको प्रहरी टोलीले घटनास्थलबाट दुई किलोमिटर तल मेजरघाटमा बच्चाको शव फेला पारेको थियो ।

महिलालाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको डीएसपी सूर्य थापाले बताए । कालिका नगरपालिकाको पदमपुर घर भएकी ती महिला १० वर्षयता पटिहानी बोटे टोलमा डेरामा बस्दै आएकी थिइन् । उनी नारायण बोटेको घरमा डेरा लिएर बस्दै आएका राम बोटेकी कान्छी श्रीमती हुन् । ‘रक्सी खाएको थियो, बाटोमै सुतेको थियो । मैले यसरी बाटोमा नसुत घरतिर जाउ भनेको थिएँ । रिसाउँदै कराउँदै घरतिर लागेको थियो’ रामले भने ।

केही बेरपछि छोरो बोकेर उनी खोला तिर लागेकी थिइन् । ‘घर आडैमा खोला किनारमा पार्क जस्तो पनि छ । मैले ठाने त्यही पार्कमा बस्न छोरो लिएर गइन् । तर उता तटबन्ध गरेतिर लागेर एक्कासि हाम फालेकी हुन,’ राम बोटेले भने ।

श्रीमतीसँग यसअघि पनि बेला बेलामा सामान्य विवाद हुने गरे पनि कहिल्यै ठूलो झगडा नभएको उनले बताए । उनले त्यसो किन गरिन् आफूले केही बुझ्नै नसकेको राम बताउँछन् ।

जेठी श्रीमती मिर्गौलामा समस्या भएका कारण बितेकी थिइन् । जेठी श्रीमतीबाट दुईवटी छोरी छन् । ‘यो बेलामा त म पनि बिरामी नै थिएँ । दिसापिसाब रोकिएर उपचार गराउँदै थिए । यही बेलामा यस्तो दु:खद घटना भयो । किन भयो, मैले केही सोच्न सक्दिनँ’ रामले भने । बोटे भए पनि उनको लाइसेन्स नभएका कारण राप्ती खोलामा माछा मार्न पाउँदैनन् । उनी ज्याला मजदुरी गरेर गुजारा चलाउँछन् ।

प्रकाशित : आश्विन २९, २०७७ ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?