कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कर्मचारीलाई कोरोना देखिएपछि सिन्धुलीमा मालपोत कार्यालय र चार वटा बैंक बन्द

राजकुमार कार्की

सिन्धुली — कर्मचारी तथा प्रमुखहरु संक्रमित भएपछि सिन्धुलीको मालपोत कार्यालय र चारवटा बैंकले बुधबारदेखि आफ्ना सेवाहरु बन्द गरेका छन् । कन्‍ट्याक्ट ट्रेसिङका आधारमा गरिएको पीसीआर परीक्षणमा कर्मचारीहरुमा कोरोना देखिएपछि कार्यालय तथा बैंकहरुले संक्रमण फैलन नदिन आफ्ना सबै सेवाहरु अनिश्चितकालका लागि बन्द गरेको जनाएका छन् ।

कर्मचारीलाई कोरोना देखिएपछि सिन्धुलीमा मालपोत कार्यालय र चार वटा बैंक बन्द

मालपोत कार्यालयले एक सूचना जारी गर्दै कोभिड–१९ को संक्रमण फैलन सक्ने अवस्थालाई मध्यनजर गरी कार्यालयको सेवा प्रवाह अर्को सूचना जारी नहुन्जेलसम्मका लागि बन्द गरेको जनाएको छ ।

कार्यालयमा कार्यरत नायब सुब्बा तथा सूचना अधिकारी पुरुषोत्तम दाहालले आफूमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको सामाजिक सञ्जाल मार्फत जानकारी गराएका छन् । त्यसैगरी सदरमुकाम सिन्धुलीमाढीस्थित सिद्धार्थ बैंक, मेगा बैंक, एनआईसी एसिया बैंक र राष्ट्रिय सहकारी बैंकले पनि कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिएपछि सूचना टाँसेर केही दिनका लागि कारोबार बन्द गरेको जनाएका छन् ।

बैंकका सबै कर्मचारीको स्वाब संकलन गरी परीक्षणको नतिजापछि मात्र खुल्ला गरिने ती बैंकले जनाएका छन् । मेगा बैंकले बुधबार बैंक बन्द गरी कर्मचारीलाई पीसीआर परीक्षणका लागि महोत्तरीको बर्दिबास पठाएको छ । बैंकका अनुसार पीसीआर रिपोर्ट नेगेटिभ आउनेले बैंक खोलेर कारोबार सुरु गर्नेछन् । पोजिटिभ रिपोर्ट आउने कर्मचारी उपचारमा बस्ने छन् । नजिकै आएको बडादसैंलगायतका चाडपर्वका कारण सिन्धुलीका वित्तीय संस्थामा पछिल्लो समय भीडभाड बढेसँगै कोरोना संक्रमणको जोखिम बढ्दै गएको छ ।

सिन्धुलीमा स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, नेपाली सेना, शिक्षक, बैंकका कर्मचारीहरुसहित फ्रन्टलाइनमा काम गर्नेहरुमा संक्रमण देखिएको छ । पछिल्लो २६ सहित सक्रिय संक्रमितको संख्या ४८ पुगेको छ । ८५ जना निको भएर घर फर्किएको सिन्धुली अस्पतालका व्यवस्थापक विमलकुमार श्रेष्ठले जानकारी दिए । नयाँ भेटिएका संक्रमितलाई राख्ने आइसोलेसनको अभाव भएको छ । कोभिड–१९ उपचार केन्द्र, एपोलो अस्पताल र सिन्धुली अस्पतालमा रहेको ३९ बेडको आइसोलेसन भरिएपछि होम आइसोलेसनको प्रयोगमा जोड दिइएको छ ।





प्रकाशित : आश्विन २१, २०७७ ०९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?