सेनाद्वारा गोसाइँकुण्ड पदमार्गमा रेलिङबार निर्माण- वाग्मती - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सेनाद्वारा गोसाइँकुण्ड पदमार्गमा रेलिङबार निर्माण

बलराम घिमिरे

रसुवा — प्रसिद्ध पर्यटकीय एवं धार्मिक तिर्थस्थल गोसाइकुण्ड पदमार्गमा रेलिङबार निर्माण गरिएको छ । उक्त पदमार्गको बुद्ध मन्दिरदेखि गोसाइकुण्डसम्म अफ्ठ्यारो भिरमा रेलिङबार निर्माण गरिएको हो । 

लाङटाङ राष्ट्रिय निकुञ्जको सरक्षार्थ खटिएको नेपाली सेनाको कालीजंग गणले रेलिङबार निर्माण सम्पन्न गरेको हो । नेपाली सेनाको सैनिक–नागरिक सम्बन्ध अभिवृद्धि कार्यक्रम अन्तर्गत बुद्ध मन्दिरदेखि गोसाईकुण्डसम्म भिरमा रेलिङबार निर्माण गरिएको कालीजंग गणका प्रमुख सेनानी सविन्द्र नगरकोटीले बताए ।

भिरको बाटोमा २.५८ किलोमिटर लामो पक्की रेलिङबार निर्माण गरिएको उनले बताए । त्यस्तै तिर्थयात्रीहरुलाई विश्राम गर्न चोलाङपाटीमा ४० फिट लम्बाइ र २० फिट चौडाइको विश्राम घर, भूकम्पले भत्केको बुद्ध मन्दिरको पुनर्निर्माण र हेलिप्याड पनि निर्माण गरिएको छ ।

भत्केको बाटो मर्मत तथा गणेशगौंडा, बुद्ध मन्दिर र गोसाईकुण्डमा विश्रामस्थल पनि निर्माण गरेको सेनाले बताएको छ । रेलिङबार निर्माण भएपछि गोसाईकुण्ड पुग्ने पर्यटक तथा तिर्थयात्रीहरुलाई आवत जावत गर्न सहज भएको छ । करिब ५० लाखको लागतमा रेलिङबार निर्माण सम्पन्न भएको हो । कालीजंग गणबाट १० लाख १२ हजार भन्दा बढी जनश्रमदान रहको छ । लकडाउनका बाबजुत पनि सेनाले ८ महिनामा निर्माण सम्पन्न गरेको हो ।

रेलिङबार निर्माण भएको स्थान समुद्री सतहबाट ४ हजार २ सय देखि ४ हजार ३ सय ८० मिटरको उच्चाइमा रहेको छ । लेक लाग्ने ठाउँमा पनि सेनाले जोखिम मोलेर दिनरात नभनि रेलिङबार निर्माण सम्पन्न गरेको हो । श्री नं ६ बाहिनी अड्डा वैरेनिका बाहिनीपति सहायक रथी सुनिल श्रेष्ठले रेलिङबारको उद्घाटन गरेका हुन् ।

उद्घाटन पश्चात सेनाले निर्माण सम्पन्न गरेको रेलिङबार आइतबार गोसाईकुण्ड गाउँपालिकालाई हस्तान्तरण गरेको छ । सेनाले बुद्ध मन्दिरदेखि गोसाईकुण्डसम्म अफ्ठ्यारो भिरमा रेलिङबार निर्माण गरी पदयात्रामा आउने पर्यटक तथा भक्तजनको यात्रालाई सहज बनाएको गोसाईकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङले बताए ।

रेलिङ मार्गबाट करिब ३० हजार तिर्थयात्री तथा पर्यटक लाभान्वित हुने गाउँपालिकाले जनाएको छ ।

प्रकाशित : आश्विन १३, २०७७ १५:२८
प्रतिक्रिया
पठाउनुहोस्

ब्रोईलर कुखुरालाई मेहेन्दी !

कान्तिपुर संवाददाता

काठमाडौँ — ब्रोईलर कुखुराका चल्लालाई रंग लगाएर लोकल कुखुरा भनेर बेच्‍ने गिरोहका ३ महिलासहित एक पुरुषलाई महानगरीय प्रहरी वृत्त कालिमाटीले पक्राउ गरेको छ ।


वृत्तले रंग लगाएर बेच्‍न ठिक्क पारिएका ३६ सय ५० चल्ला, रंग लगाउन तयारी अवस्थामा राखिएका २४ हजार ९ सय ५० चल्लासहित ३ महिला र एक पुरुषलाई कलंकीबाट पक्राउ गरेको हो ।

वृत्तका अनुसार चितवनबाट ल्याइएका कुखुराका चल्लालाई कृत्रिम रंग दलेर लोकल कुखुरा भन्दै महँगो भाउमा बेचिरहेको सूचनाका आधारमा प्रहरीले काठमाडौंका विभिन्‍न पोल्ट्री सप्लायर्समा छापा मार्दा उनीहरु पक्राउ परेका हुन् । प्रहरीले उनीहरुको साथबाट प्रयोग भइसकेका दर्जनौं मेहन्दीका खोल र प्रयोग गर्न राखिएका केही प्याकेट मेहेन्दीका खोल समेत बरामद गरेको छ । प्रहरीका अनुसार दस रुपैया प्रतिगोटामा किनेको चल्लालाई रंग लगाएपछि ६० देखि डेढ सय रुपैयाँसम्ममा बेच्दै आएका थिए ।

कलंकीस्थित प्रेमसिला देवीको फार्ममा रहेको अन्दाजी १० हजार चल्लामध्ये १५ सय चल्ला र वकिल खानको सप्लायर्समा रहेको ५ हजार चल्ला मध्ये ३ सय चल्ला रंग लगाएको अवस्थामा फेला पारेको हो । त्यस्तै सुमित्रा जैसवालको ४५ सय चल्लामध्ये १ सय ५० रंग परिवर्तन गरिएको र चन्दा देवी साहको २ हजार चल्लामध्ये ५ सय चल्लाको रंग परिवर्तन गर्ने तयारी गरिएको अवस्थामा बरामद गरिएको हो । त्यस्तै प्रहरीले पुरा नाम नखुलिसकेको तर गुन्जा भनिने व्यक्तीको साथबाट रंग परिवर्तन गरिएका १७ सय चल्ला पनि बरामद गरेको छ ।

वृत्तका डीएसपी अपिलराज बोहोराले ठगीको अनौठो प्रवृत्तिको सूचनाका आधारमा छापा मारिएको र टोलीको सम्पर्कमा अन्य व्यक्ती पनि छन् कि भनेर खोजी जारी राखिएको बताए ।

प्रकाशित : आश्विन १३, २०७७ १५:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×