साबुन उद्योगको गोदाममा आगलागी- वाग्मती - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

साबुन उद्योगको गोदाममा आगलागी

सुवास विडारी

हेटौंडा — हेटौंडा–८ स्थित हेटौंडा औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति सोप उद्योगमा आगलागी भएको छ ।

सोमबार बिहान विद्युत् आपूर्ति गडबड हुँदा तार सर्ट भएर उद्योगको कार्टुन गोदाममा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

हेटौंडा उपमहानगरपालिकाको दमकल सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहयोगमा करिब १ घण्टापछि आगो निभाइएको प्रहरीले जनाएको छ ।

आगलागीबाट उद्योगको केमिकल तथा अन्य सामग्री गरी करिब ५० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : आश्विन १२, २०७७ १२:२२
प्रतिक्रिया
पठाउनुहोस्

मान्छे खाने बाघको सामुन्ने पुग्दा

रमेशकुमार पौडेल

चितवन — बूढो किन नहोस्, कमजोरै किन नहोस् । खुट्टामा घाउ भए पनि, दाँतै खुस्किए पनि आखिर बाघ भनेको बाघ नै हो । हार मान्न कदापि तयार हुँदो रहेनछ । 

शनिबार बिहान खाना खाइवरि सौराहातिर निस्कन झोला भिर्नै लागेको थिएँ, चितवन निकुञ्जबाट फोन आयो । सूचना अधिकारी अशोक रामले ‘पटिहानी बेलसहर मध्यवर्ती सामुदायिक वनमा बाघले मान्छे मारेको’ खबर दिए । यो खबर लेखेर म निस्किएँ । तर, चौबिसकोठी कटेलगत्तै पटिहानीबाट साथी अपिल घिमिरेको फोन आयो ।

अपिलले बाघलाई नियन्त्रणमा लिन टोली आउँदै गरेको सुनाएपछि म हाकिमचोकबाट दाहिने मोडिएर लागें पहिटानी छितामाईतिर । छितामाई बेलसहर वनको प्रवेशद्वारनजिक कार, मोटरसाइकल, साइकल टन्नै थिए । म बाइकमै वन छिरें । राप्ती किनारको वनपथ समाएर अगाडि बढें । मान्छेहरू कोही जाँदै, कोही फर्कंदै थिए । अलि परै पुगेपछि प्रहरीले घटनास्थलको सुरक्षा गरेको रहेछ ।

बाइक त्यहीँ रोकेँ । हेलमेट भिरेरै अगाडि बढेँ । साथी अपिल त्यहीँ थिए । मध्यवर्ती व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुंगाना, पटिहानी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष शंकर महतो, भरतपुर महानगरपालिका–१३ का वडासदस्य किशोर पौडेल त्यहीँ भेटिए । दुई–चारवटा हात्ती थिए, नारायणी सफारी होटलका । तर बाघ खोज्न अलि सशक्त हात्तीको प्रतीक्षा भइरहेको थियो ।

निकुञ्जको स्थानीय पोस्टका कर्मचारी पनि त्यहीँ थिए । कसराबाट सहायक संरक्षण अधिकृत ऋषि रानाभाट, लोकेन्द्र अधिकारी र सौराहाबाट राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी)को कार्यालयका प्रमुख बाबुराम लामिछानेसहित पशुचिकित्सक र प्राविधिकहरूको टोली पनि आइपुग्यो । त्यो टोलीमा थिए तीर्थ लामा । उनी वन्यजन्तु उद्धार टोलीको ‘हिरो’ हुन् । म उनलाई यही रूपमा मान्ने गर्छु ।

वन्यजन्तुलाई नियन्त्रणमा लिन लठ्याउनुपर्छ । लठ्याउन औषधिको सिरिन्ज त्यस्ता जन्तुको शरीरमा घोप्नुपर्छ । गाई–भैंसीलाई सिरिन्ज हानेजस्तो हुँदैन बाघ, गैंडा, भालु, चितुवालाई सिरिन्ज हान्नु । विशेषखाले बन्दुकले डार्ट हान्नुपर्छ । तीर्थले मेसो मिलाएर हानेको डार्ट कमै मिस जान्छ ।

प्राविधिकहरू डार्टको तयारीमा लागे । बाघ भएको क्षेत्र आकलन गरेर ‘भिट’ लगाउन सुरु गरे । बाघले सेतो घेरा नाघ्दैन भन्ने विश्वास छ । त्यसैले सेतो कपडाको घेरा हालेर बाघलाई छेक्ने गरिन्छ । ‘भिट’ भनेको यही हो । हात्तीको सहयोगले एउटा ठूलो क्षेत्रलाई प्राविधिकहरूले भिट लगाए । सौराहा खोरसोरबाट हात्ती आए । तर बच्चासहित । बच्चा भएको हात्ती लिएर बाघ खोज्न के हिँड्नु ?

अब कसराको हात्ती नआई काम सुरु नहुने भयो । बाघले पहिटानी छितामाईका जगदीश पनि भनिने जन्हु महतोलाई आक्रमण गरेको थियो । मध्यवर्तीका अध्यक्ष शंकर महतोको घर पनि त्यहीँ हो । उनी जगदीशसँग बिहान मात्र भेट भएको सुनाउँदै थिए । जगदीशका छोरा कमलले बुबा बाख्रालाई घाँस काट्न जंगल गएका बेला घटना भएको बताए । १० बजेतिर खबर आएपछि उनी र भाइ ट्र्याक्टर लिएर बाबुलाई खोज्न दौडिए । जंगलमा बाबुलाई क्षतविक्षत अवस्थामा देखे । उनीहरू ट्र्याक्टरबाट उत्रिए तर बाघ आडैमा रहेछ । बाघ जंगिएपछि उनीहरूलाई बुबासम्म पुग्ने आँट आएन । त्यसो गरेको भए अर्को दुर्घटना हुन्थ्यो ।

०००

कसराबाट हात्ती आइपुग्यो । पर्खंदा–पर्खंदै थकित देखिएका प्राविधिकहरूको अनुहार चम्कियो । बाघ खोज्न कसराबाट आएका जब्बर पाँचवटा हात्ती अगाडि लाग्ने भए । त्यसमा बस्ने प्राविधिक, सुरक्षाकर्मीको टुङ्गो लाग्यो । एउटा हात्तीमा दुई जना अनि अगाडि माहुते बसे ।

ऐश्वर्याकलीमा बस्ने प्रहरीका सइ मात्र भएछन् । लोकेन्द्रजीले ‘ल तपाईं नि जानुस्’ भनेर मलाई इसारा गरे । चितवनमा बसेको भनेर के गर्नु, मैले अहिलेसम्म प्राकृतिक वासस्थलमै पुगेर बाघ देखेको छैन । जावलाखेलको चिडियाखाना र उद्धार गरेर कसरामा राखिएका बाघ देखियो । २०६७ सालको असोजमा एउटा बाघ देखेको थिएँ, सौराहामा । होटलभित्रको झ्याङमा आएर बसेको बाघलाई उद्धार गर्दाको दृश्य हामीले होटलको तीन तलामाथिबाट नियालेका थियौं ।

अहिले पनि म ‘डार्ट’ गरेपछि बाघको फोटो–भिडियो खिच्ने मानसिकता बनाएर बसेको थिएँ । तर, लोकेन्द्रजीले हात्ती चढ्न इसारा गरेपछि डार्ट गर्नुअघिकै फोटो–भिडियो खिच्न पाइने भयो भनेर दंग परेँ ।

भिट नाघेर हात्ती अगाडि लम्के । सय मिटर पनि पर जानुपरेको थिएन, हात्तीले मेसो पाइहाले । अगाडि बढ्न अनकनाउन थालेका हात्तीलाई माहुतेले जोड लगाउन थाले । त्यसपछि सबै हात्ती कराउन थाले । ती सबैको आवाजलाई ‘माइनस’ गरेर एउटा फरक आवाज आयो । त्यो थियो– बाघको गर्जन । हाम्रो हात्तीभन्दा त्यस्तै १५/२० मिटर पर झाडीमै रहेछ ।

पहिले गर्जन अनि बाघ नै अगाडि आयो । हात्ती अलि अगाडि बढेको मेसो पाए बाघ गर्जनसहित निस्कन्थ्यो । अनि फुत्त झाडीमै लुकिहाल्थ्यो । मैले त्यति नजिकबाट न बाघको गर्जन सुनेको थिएँ न उसको आक्रामक रूपको दर्शन पाएको थिएँ ।

बाघ अगाडि सर्थ्यो, उभिएजस्तो देखिन्थ्यो । उफ्रन लागेझैं पनि लाग्थ्यो । उफ्रे सिधै हात्तीकै आडमा आउन सक्थ्यो । बाघ देखियो तर फोटो–भिडियो खिच्न पाइने छाँट देखिएन । एक त अगाडि सइ साप थिए । त्यसमाथि हात्तीको हलचल ।

मेरो दाहिनेतर्फ हात्तीमा एनटीएनसीका प्राविधिक बसेका थिए । उनले बाघदेखि तर्सेर हात्ती भागेका बेला मान्छे खस्ने खतरा हुने भन्दै सजग गराए । त्यस्तो बेला राम्रोसँग नसमाए भुइँमा पछारिन के बेर ? झन् डर लाग्यो । भिडियो खिच्न तयार गरेको मोबाइल टाउजरको खल्तीमा घुसारें । देब्रे हातले हात्तीको हौदा कसेको डोरी बेस्सरी समाएँ ।

मेरो देब्रेतिर सेनाका मेजर साप थिए । उनले ‘सर, मिलाएर फोटो त खिच्नुस्, केही परे जोगाउने म छँदै छु’ भन्दै भरोसा दिए । मैले मोबाइल झिकेर भिडियो लिने आँट गरिनँ । बरु क्यामेरा झिकेर स्पोर्ट्स मोडमा राखेँ, बाघ आए खचाखच खिच्न ।

क्यामेरा लिँदा मोबाइल फोन समाउनजत्तिको ध्यान केन्द्रित गर्न नपर्ने । घाँटीमा भिरेको हुँदा खस्ने डर पनि नहुने । अर्को हातले मज्जाले डोरी समाउँदा हुने । मैले प्राविधिक र सैनिक दुवैको कुरामा तालमेल मिलाउन खोजेँ । तर, हात्ती अगाडि बढ्नै खोजिरहेका छैनन् । माहुतेको बलले मात्र नहुने रहेछ । बाघ र हात्ती दुवैले आफ्नो सीमा नाघ्न नखोज्ने । बाघ दुई पाइला यता आए हात्तीको सुँडमै नङ्ग्रा गाड्न बेर लाउँदैनथ्यो । तर बाघ पनि यता नआउने, आफ्नै सीमाभित्र बसेर प्रतिवाद गर्ने । हात्ती र बाघबीचको यो साँधसीमाको खेल निकै बेर चलिरह्यो ।

बाघलाई झाडीबाट निकाल्न मौजुदा हात्तीले सक्दैनन् भन्ने लागेपछि प्राविधिकले अझै कडा स्वभावका हात्ती ल्याएर भोलि आउने कि भन्ने छलफल गरे । तर कमललाई उनका बाबुको शव पनि जिम्मा लगाउनु थियो । त्यसैले आजै काम फत्ते गर्नुपर्थ्यो ।

बाघ लुकेको झाडीभन्दा केही पर तीर्थ रूखमा बसेका थिए, डार्ट गन बोकेर । एनटीएनसीका प्राविधिकहरू बसेको हात्ती लक्ष्मीकली त्यहीँ पुगेर तीर्थलाई लिएर आयो । तीर्थले हात्तीलाई अगाडि बढाए । माहुतेले बाघ देखेको इसारा गरे । तीर्थले हात्तीलाई कुर्कुच्चाले मुसारे, हातले थपथपाए । हात्ती अलि स्थिर भयो । तीर्थले गनले अलिक बेर ताकेर फ्याट्ट ‘डार्ट’ छाडे । उनको निसाना चुकेन ।

बाघ लट्ठिएको थाहा भएपछि प्राविधिकहरू कुदेर झाडीमा पसे । बाघ बूढो भएको भाले रहेछ । पछाडि खुट्टामा चोट थियो । अगाडि एउटा कुकुर दाँत पनि भाँच्चिएको । जगदीशको शव बाघकै आडमा क्षतविक्षत थियो । चित्तल, जरायोजस्ता फुर्तिला जन्तुको सिकार गर्ने बाघले बूढो भएपछि नै हो मान्छेलाई समात्ने ।

घटनाको झन्डै सात घण्टापछि साँझ ५ बज्दै गर्दा बाघ नियन्त्रणमा आयो । कमलले आफ्नो पिताको अस्तुजत्तिको अवशेष पाए । वन्यजन्तु प्रकृतिका गहना हुन् । तर यहाँ त दुर्दशा पो थियो । वन्यजन्तुले स्वभाव बदल्दा जगदीशको जीवन नै सकियो । बाघले आफ्नो सीमा यहाँ त मिचेको थियो ।

बाघको अप्रत्याशित दर्शन र नौलो अनुभूति बोकेर म घर फर्कें । खाना खाएपछि सुत्ने बेलामा देब्रे कुम र पाखुरो निकै दुख्न थाल्यो । दिउँसो हात्तीबाट नखस्न देब्रे हातले डोरी समाएको बलले यस्तो दुःख पाइयो । तर, यो दुःख के दुःख ! जगदीश र उनका सन्तानको दुःख झन् कति हो कति ! निकुञ्जको मध्यवर्ती क्षेत्र नै यस्तै दुःखले भरिएको छ । चितवन निकुञ्ज नेपालमा बाघको मुख्य वासस्थल हो ।

प्रकृति, वन, वन्यजन्तुको संरक्षण एकतर्फ छ, स्थानीयको आवश्यकता र चासोको सम्बोधन र व्यवस्थापन पनि उत्तिकै चुनौतीपूर्ण छ । यो देखिने समस्या भयो । तर मध्यवर्तीमा बस्ने जगदीशको जीवन जोगाउन नसके पनि मृत्युपछि शव उनको परिवारलाई बुझाउने र अरूको त्यस्तो अवस्था नहोस् भनेर बाघ नियन्त्रणमा लिने कार्य पनि कम्ती दुःखको रहेनछ ।

प्रकाशित : आश्विन १२, २०७७ १२:०२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×