पीसीआर रिपोर्ट नआउँदै शव आफन्तलाई बुझाएपछि शिर मेमोरियल अस्पताललाई स्पष्टीकरण- वाग्मती - कान्तिपुर समाचार

पीसीआर रिपोर्ट नआउँदै शव आफन्तलाई बुझाएपछि शिर मेमोरियल अस्पताललाई स्पष्टीकरण

नगेन्द्र अधिकारी

काभ्रे — कोरोना आशंकित महिलाको मृत्युपछि पीसीआर रिपोर्ट नआउँदै आफन्तलाई शव जिम्मा लगाइएको घटनामा जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले बनेपास्थित शिर मेमोरियल अस्पताललाई स्पष्टीकरण सोधेको छ । 

भदौ २५ गते मृत्यु भएकी भुम्लु गाउँपालिकाकी ७४ वर्षीया महिलाको शव सद्गत गरिएपछि रिपोर्ट आउँदा कोरोना पुष्टि भएको थियो ।

संक्रमितको शव व्यवस्थापनमा लापरबाही गरेको र समुदायमा कोरोना संक्रमणको जोखिम बढाएको भन्दै अस्पताललाई स्पष्टीकरण सोधिएको जिल्ला कमान्ड पोस्टका सदस्य डा. नरेन्द्रकुमार झाले जानकारी दिए । २४ गते अस्पताल भर्ना भएकी ती महिलाको उपचारका क्रममा मृत्यु भएको थियो । लगत्तै स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि पठाइएकोमा २८ गते साँझ रिपोर्ट आएको थियो ।

अस्पतालले परिवारले नमानेका कारण रिपोर्ट आउनुअघि नै घर पठाइएको जनाएको छ । ‘दमकी रोगी भएकाले सोही कारण मृत्यु भएको हुन सक्ने भन्दै परीक्षण गराए पनि रिपोर्ट आउन्जेल परिवारले कुर्नुभएन, मान्दै नमानेपछि सद्गत गर्न थोरै व्यक्ति जानु, मास्क प्रयोग गर्नु, सामाजिक दूरी कायम गर्नु भनेर सम्झाएका थियौं,’ अस्पतालका प्रवक्ता डा. अरुण गुप्ताले भने ।

स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले मृतकबारे अस्पतालले कुनै जानकारी र समन्वय नगरेको बताए । ‘परीक्षणको नतिजा आएपछि मात्रै अन्तिम संस्कार गरेको भए कम जोखिम हुन सक्थ्यो तर शंकास्पदको स्वाब लिएको, मृत्यु भएकोलगायत कुनै पनि घटनाबारे अस्पतालले जानकारी र समन्वय गरेन,’ उनले भने, ‘कन्ट्याक्ट ट्रेसिङ टिमले काम थाल्दा सबै कुरा पत्ता लाग्यो, प्रत्यक्ष सम्पर्कमा आएकाको स्वाब संकलन गर्छौं ।’

मृतक परिवारका सदस्यले भने सामाजिक दूरी कायम गरी अन्तिम संस्कार गरिएको बताए । गाउँपालिका अध्यक्ष गुमानध्वज कुँवरले अस्पतालको लापरबाहीका कारण जोखिम बढेको बताए । हालसम्म कोरोनाले जिल्लाका दुई र अन्य जिल्लाका तीन जनाको धुलिखेल अस्पतालमा मृत्यु भएको थियो । उनीहरूको शव व्यवस्थापन नेपाली सेनाले गरेको थियो ।

प्रकाशित : भाद्र ३१, २०७७ १२:२५
प्रतिक्रिया
पठाउनुहोस्

रामलीला मैदानमा मजदुरको दारुण कथा

विभिन्न जिल्लाबाट कामको खोजीमा आएकाहरु हिजोआज कामविहीन छन्, बिहानै रामलीला मैदानमा जम्मा हुनु र दिनभरि कुरेर निराश भई फर्कनु उनीहरुको दैनिकी बनेको छ ।
मधु शाही

नेपालगन्ज — झुत्रे ढाका टोपी । काँधमा पसिना पुछ्ने रुमाल । सुन्निएर जिलजिल बनेका खुट्टाका औंला । सुर्खेतका ५५ वर्षीय मनबहादुर पुन मगरलाई खुट्टाको घाउको दुखाइभन्दा भोकले बढी पीडा दिएको छ । उनी हरेक दिन बिहानै कामको खोजीमा नेपालगन्जको रामलीला मैदान पुग्छन् । घण्टौं कुर्छन् ।

कसैले काममा बेलाउला भन्ने झिनो आशामा उनका आँखा टोलाउँछन् । र, बेलुका निराश हुँदै घर फर्किन्छन् । कामै नपाई रित्तै घर फर्किनु अचेल उनको नियति बनेको छ ।

झन्डै एक महिनादेखि आफू बेकामे भएको उनले बताए । ‘काम पाए बाँचिन्थ्यो,’ उनले भने, ‘कोरोनाले भन्दा भोकले मरिएला भन्ने पिरलो बढेको छ ।’ मनबहादुरका छोराछोरी र नातिनातिना गरी ५ जनाको परिवार छ । ०७१ सालमा सुर्खेतको पुर्ख्यौली जमिन पहिरोले बगाएपछि उनी बेघर भएका थिए । दुई छोरा वैदेशिक रोजगारीमा छन् । बुढ्यौली उमेरमा पनि मनबहादुरले पेट पाल्न मजदुरी गर्नुपर्ने बाध्यता बनेको छ ।

नेपालगन्ज रोजगारीको थलो हो । यहाँ कोहलपुर, दाङ, सुर्खेत, रुकुम, रोल्पा, बर्दियालगायत सीमावर्ती भारतीय गाउँबाट समेत मानिस आएर मजदुरी गर्छन् । त्रिभुवन चोकमा बसेर कामको खोजी गर्छन् । भीडभाड हटाउने भन्दै प्रशासनले उनीहरूलाई मुख्य चोकभन्दा भित्री भागमा पर्ने रामलीला मैदानमा सारेको छ । यतिबेला उनीहरू बिहानै ६ बजे मैदानमा जम्मा हुन्छन् । तर, अधिकांश निराश भएर फर्किन बाध्य छन् ।

कमैयाबाट मुक्ति पाएको एक दशक पुगे पनि बर्दियाका राधेश्याम थारू गरिबीबाट मुक्त हुन सकेनन् । कमैयालाई भनेर सरकारले दिएको तीन कट्ठा जमिन छ । त्यो पनि निकुञ्जको छेउमा । जंगली जनावरले फल फल्न नपाउँदै बर्सेनि बाली नास गर्छन् । ६ जनाको परिवार पाल्न उनी मजदुरी गर्छन् । अलि ठूलो सहर भनेको नेपालगन्ज हो ।

उनी साइकल चढेर तीन घण्टाको बाटो हुँदै नेपालगन्ज आउँछन् । तर, अहिले जिल्लामा निषेधाज्ञा भएपछि हिँडडुल गर्न समस्या छ । नचाहेरै पनि भाडा लिएर नेपालगन्जमा बस्न बाध्य भएको उनले बताए । ‘पुलिसले एक जिल्लाबाट अर्को जिल्ला आउन दिँदैन,’ उनले भने, ‘नेपालगन्जमा काम पाइन्छ कि भनेर अहिले यतै भाडा तिरेर बस्न थालेको छु ।’ उनले १५ दिनको लामो पर्खाइपछि एक दिन काम पाए । त्यो पनि गिट्टी बोक्ने । ‘एक दिनको कमाइले चामल किनें, दाल किन्न पुगेन,’ उनले भने, ‘भोकैले मरिने भइयो ।’

बर्दियाका हरिगोविन्द थारू सात दिन घरभित्रै बसे । निषेधाज्ञा भएकाले कतै हिँडडुल गर्न पाएनन् । घरमा नुनतेल सकिएपछि उनी लुकेर चोरबाटो हुँदै दुई साताअघि नेपालगन्ज आए । ‘एक दिन बर्दियाको सीमाबाटै पुलिसले फिर्ता गरिदियो,’ उनले भने, ‘अहिलेसम्म काम पाइएको छैन ।’ सुर्खेत घर भएकी कल्पना भण्डारी एकल महिला हुन् । दुई छोराछोरीको पालनपोषण गर्न उनले मजदुरी गर्नुपर्छ । लकडाउनअघि होटलमा भाँडा माझ्ने काम गर्थिन् । ‘एक त महिलाले काम गर्न सक्दैनन् भनेर पत्याउँदैनन्,’ उनले भनिन्, ‘त्यसमाथि यो महामारीले भाँडा माझ्ने काम पनि गुम्यो ।’

त्रिभुवन चोकमा बस्दा फाट्टफुट्ट काम पाउने सम्भावना थियो । त्यो पनि गुमेपछि नेपालगन्जका ५० वर्षीय इन्द्र ओली निराश छन् । वर्षौंदेखि त्यही चोकमा उभिएर उनले आफ्नो परिश्रम बेचेका थिए । १० दिनअघि किनेको ५ किलो गहुँको पिठो नसकिँदै खाने अन्न जुटाउनुछ उनलाई । रोजगारीको अभावले कोरोना रोगभन्दा भोकले डर लाग्न थालेको उनले सुनाए ।

बर्दियाका मुक्त कमैया टोटु थारूले भदौ महिनामा तीन दिन मात्रै काम पाए । निषेधाज्ञाले घर आउन–जान समस्या भएपछि उनी नेपालगन्जमा एक रातको २५ रुपैयाँ तिरेर स्टोर रुममा सुत्छन् । ‘कमाइ एक रुपैयाँ छैन,’ उनले भने । बाँकेको डुडुवा गाउँपालिका–४ का निजामुद्दिन बागवानले त ६ महिनादेखि घरभाडा तिर्न सकेका छैनन् । स–साना बालबच्चालाई के खुवाउने भन्ने चिन्ताले उनलाई सताउन थालेको छ । तीन महिनाअघि राहतका नाममा १० केजी चामल पाएका थिए । त्यो राहत हात्तीको मुखमा जिराजस्तै भएको उनले सुनाए । ‘कति रात त भोकै सुतेको छु,’ उनले भने, ‘अब घरबेटीलाई भाडा कसरी तिर्ने ?’

दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने मजदुरको भोको पेट पाल्न यहाँका ७ वटै स्थानीय तहले कुनै ठोस योजना ल्याएका छैनन् । मजदुरको स्पष्ट तथ्यांक संकलन नहुँदा राहत वितरणमा अन्योल रहेको उपमहानगरपालिकाकी उपप्रमुख उमा थापामगरले बताइन् । जति सक्दो छिटो संक्रमणदेखि सुरक्षित भएर उद्योग, कलकारखाना खोल्न प्रशासनलाई जोड दिएको उनले सुनाइन् ।

प्रकाशित : भाद्र ३१, २०७७ ११:५५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×