कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५१

नियमित डायलसिस माग्दै चितवनमा मिर्गौलाका बिरामीले गरे प्रदर्शन

रमेशकुमार पौडेल

चितवन — नियमित उपचारको माग गर्दै मंगलबार भरतपुरमा मिर्गौला रोगी र उनीहरुका आफन्तले सडकमा प्रदर्शन गरेका छन् । उनीहरुले हप्तामा दुई दिन हुँदै आएको डायलसिस सेवा कायम राख्न माग गर्दै चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलाई ज्ञापनपत्र पनि बुझाए ।

नियमित डायलसिस माग्दै चितवनमा मिर्गौलाका बिरामीले गरे प्रदर्शन

भरतपुरको सरकारी अस्पतालमा डायलसिस गराउँदै आएका मिर्गौला रोगीहरु अहिले उपचार सेवा कटौतीमा परेका छन् ।

डायलसिस युनिटका चिकित्सक र नर्सहरुमा नै कोरोना भाइरसको संक्रमण देखिएको भन्दै अस्पतालले भदौ १५ गते सूचना निकालेर ‘आकस्मिक डायलसिस सेवा’ मात्र दिन सक्ने जनाएको थियो । यस्तो हुँदा आफूहरु धेरै नै मर्कामा परेको भन्दै बिरामीहरुले सेवा नरोक्न माग गरेका छन् ।

नवलपरासी कावासोतीका ३१ वर्षीय ओमराज सुनार बैशाखी टेकेरै डायलसिसका लागि भरतपुर अस्पताल आउँछन् । डायलसिस गरेर भरतपुरबाट घर फर्कंदा दुर्घटनामा परेर दुई महिनाअघि उनको देब्रे खुट्टामा चोट लागेकोले बैशाखीको सहयोग लिनु पर्ने बाध्यता आएका हो ।‘हप्तामा दुई पटक डायलसिस लिने गरेकोमा अहिले हप्तामा एक पटक मात्रै पाइन्छ’ ओमराजले भने ।

मिर्गौला रोग पीडित पूर्वी चितवन राप्ती नगरपालिका–१ का ८६ वर्षीय तप्तबहादुर श्रेष्ठले डायलसिस कम हुँदा शरीर दुख्ने र बेहोस हुन थाल्ने समस्या आएको गुनासो गरे ।

भरतपुर अस्पतालको डायलसिस युनिट इन्चार्ज सुनिता आचार्यका अनुसार अस्पतालबाट सेवा लिने ११० जना छन् । चिकित्सक र स्वास्थ्यकर्मी कम हुनुका साथै मेसिन नै बिग्रन थालेपछि सेवा कटौती भएको उनले बताइन् ।

प्रकाशित : भाद्र २३, २०७७ १८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?