कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भरियो आइसोलेसन, संक्रमितलाई कहाँ राख्ने अन्योल

सुवास विडारी

मकवानपुर — कोरोना भाइरस संक्रमितलाई राख्नका लागि तयार गरिएको हेटौंडाको आइसोलेसन वार्ड भरिएको छ । हेटौंडा उपमहानगरपालिकाले हेटौंडा–४ स्थित कर्राको श्रमिक माविको नयाँ भवनमा निर्माण गरिएको ३५ बेड क्षमताको आइसोलेसन कोरोना संक्रमितले भरिएको हो ।

भरियो आइसोलेसन, संक्रमितलाई कहाँ राख्ने अन्योल

पछिल्लो समय कोरोना संक्रमितको संख्या दैनिक बढ्न थालेपछि हेटौंडाको एकमात्र आइसोलेसनमा संक्रमित राख्न सकिँदैन भनेर स्वास्थ्यसँग सम्बन्धित व्यक्तिहरुले भनिरहे पनि त्यसतर्फ कुनै पनि निकायको ध्यान पुगेको छैन । आइसोलेसन वार्डमा संक्रमित राख्न बेड अपुग भएपछि संक्रमित घरमै बस्न बाध्य भएका छन् ।

बिहीबार ३७ जना कोरोना संक्रमित थपिएपछि उनीहरुलाई कहाँ राख्ने भन्ने विषयमा अन्योल भएको छ । मंगलबार थपिएका १३ जना कोरोना संक्रमितमध्ये ८ जना घरमै बसिरहेका छन् । उनीहरुलाई आइसोलेसनमा राखेर उपचार गर्न सक्ने अवस्था नभएपछि घरमै राखिएको आइसोलेसन वार्डका इन्चार्ज भोला चौलागाईंले बताए ।

उनका अनुसार आइसोलेसनमा हाल ४० जना रहेका छन् । जसमध्ये ३९ जना संक्रमित र एकजना शंकास्पद बिरामी रहेका छन् । जिल्लामा हाल सक्रिय कोरोना संक्रमितको संख्या ८४ जना रहेको छ । ‘अब थपिएका संक्रमितलाई कहाँ राख्ने हामी वैकल्पिक उपाय खोज्दैछौं ।’, चौलागाईंले भने ।

उनका अनुसार हाल हेटौंडा–५ का ४ जना, ४ नम्बर वडाको १ र १० नम्बर वडका ३ जना संक्रमितलाई घरकै आइसोलेसनमा राखिएको छ । ‘आइसोलेसनमा राख्नलाई बेड छैन् । घरमै सुरक्षित साथ आइसोलेसनमा राख्ने व्यवस्था मिलाएका छौं ।’, उनले भने ।

मकवानपुरमा हालसम्म कोरोना संक्रमितको संख्या १३४ पुगेको छ । जसमध्ये ४४ जना संक्रमित निको भएर डिस्चार्ज भइसकेका छन् ।

शौचालय व्यवस्थित नहुँदा समस्या

हेटौंडा–४ कर्रास्थित श्रमिक माविको भवनमा सञ्चालनमा रहेको कोभिड–१९ आइसोलेसन वार्डमा व्यवस्थित शौचालय नहुँदा कोरोना संक्रमित र आइसोलेसनमा भर्ना हुनेले सास्ती खेप्नु परिरहेको छ ।जस्ताले बारेर पर्दा राखिएको खुला आकाशमुनिको शौचालय प्रयोग गर्नु परेकाे आइसोलेसनमा बस्नेहरूकाे गुनासाे छ । ३५ बेड क्षमताको कक्षमा व्यवस्थित शौचालय नहुँदा संक्रमित र बिरामीको स्वास्थ्यमाथि लापरबाही भइरहेको गुनासो त्यहाँ रहेकाहरुको छ ।

‘पानी नपरेको बेला त खासै समस्या हुँदैन तर, पानी परेको बेला शौचालय जानुपर्दा भने भिजेरै जानुपर्ने अवस्था छ । विद्यालयको पक्की शौचालय पनि छन् तर सबैलाई पुगिरहेको छैन ।’ आइसोलेसन वार्डका इन्चार्ज भोला चौलागाईंले भने । पक्की शौचालय थप गर्नेबारे कसैले वास्ता नगरेका र संक्रमितको संख्या अझै थपिने हो भने झनै समस्या उत्पन्न हुने देखिएको उनले बताए । जिल्लाका विभिन्न स्थानमा कोरोना लक्षणका बिरामी देखिएपनि स्वाब संकलनका लागि यस आइसोलेसनमै ल्याउने गरिएको छ ।

प्रकाशित : श्रावण २९, २०७७ ११:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?