कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संघीय प्रहरी इकाई वाग्मती सिल 

नगेन्द्र अधिकारी

काभ्रे — संघीय प्रहरी इकाई वाग्मती सिल गरिएको छ । प्रहरीमा धमाधम संक्रमण देखिन थालेपछि जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले इकाई सिल गर्ने निर्णय गरेको हो ।

कार्यालयमा कार्यरत र सम्पर्कमा आएकाको कन्ट्याक ट्रेसिङ गरी पीसीआर परीक्षण गर्नुपर्ने भएकाले सिल गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले जानकारी दिए । हालसम्म इकाईका ७ जनामा संक्रमण पुष्टि भएका छन् भने कन्ट्याक ट्रेसिङका आधारमा ४६ जनाको स्वाब संकलन गरिएको छ । ७ जनामा संक्रमण पुष्टि भएपछि पनि आवतजावत नरोकिएपछि कार्यलय सिल भएको हो ।

बैठकले भदौ १ गतेसम्म ६ वटा नगरपालिकामा कम्तीमा १० बेडको आइसोलेसन कक्ष तयार गर्न अनुरोध गर्ने निर्णय गरेको छ । धुलिखेल अस्पताललाई थप ३५ बेड र शिर मेमोरियल अस्पताललाई १५ बेड क्षमता थप गर्न निर्देशन दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी तिमल्सिनाले जानकारी दिए । बैठकले शिर मेमोरियल अस्पताललाई कोरोना लेभल ३ अस्पतालको मान्यता दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयललाई सिफारिस गर्ने निर्णयसमेत गरेको उनले बताए ।

यस्तै बनेपामा बस्ने सर्लाहीका १२ वर्षीय बालकमा पनि कोरोना संक्रमण पुष्टि भएपछि बनेपा–७ को गोदामचोक क्षेत्र सिल गरिएको वडाध्यक्ष वर्ण शाक्यले जानकारी दिए । ती बालक सिरक डसना बनाउँदै आएका अभिभावकसँग थिए ।


प्रकाशित : श्रावण २५, २०७७ १९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?