कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रामेछापमा पुनर्निर्माण प्राधिकरणविरुद्ध उजुरी दिनेको घुइँचो

टीकाप्रसाद भट्ट

रामेछाप — भूकम्पबाट क्षति भएका घर पुर्ननिर्माणको लाभग्राहीको सूचीमा नपरेकाहरुले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्णयविरुद्ध पुनरावलोकनका लागि उजुरी दर्ता गरेका छन् । जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) को कार्यालयमा सोमबार र मंगलबार आवेदकहरुको भीड लागेको थियो ।

रामेछापमा पुनर्निर्माण प्राधिकरणविरुद्ध उजुरी दिनेको घुइँचो

उनीहरुले यसअघि २/३ पटक गुनासो दर्ता गराएपनि सुनुवाइ नभएको भन्दै प्राधिकरणको निर्णयविरुद्ध उजुरी हालेका हुन् ।

आयोजना प्रमुख गणेश अर्यालका अनुसार सोमबार राति साढे ९ बजेसम्म उजुरी दर्ता भएका र मंगलबारसमेत कार्यालयमा उत्तिकै भीड लागेको थियो । उजुरी दर्ताको समयसीमा साउन १५ गतेसम्म तोकिएको छ ।

समय सकिनै लाग्दा विभिन्न कठिनाइ झेल्दै पीडितहरु इकाई कार्यालय पुगे । कति त काठमाडौंबाट महँगो शूल्क तिरेर सवारी साधन रिजर्भ गरेर आएका थिए ।

रामेछापमा मात्र प्राधिकरणको निर्णयमा पुनरावलोकनको माग गर्दै संख्या १५ सयभन्दा बढीले उजुरी दिएका छन् । ‘यो संख्या उल्लेख्य हो ’, अर्याल भन्छन् – प्राधिकरणमा दोहोरोतेहोरो गुनासो गर्दा अनुदान नपाएका पीडितहरुले चित्त बुझाउने बाटोको रुपमा उक्त उजुरी दर्ता गरेका हुन् । यसबाट कति पीडितहरुको निर्णय सच्चिने भन्ने एकिन नभएको अर्यालले बताए ।

भूकम्पले बस्ने घर भत्काएको तर प्राधिकरणले गैर लाभग्राही सूचीमा समावेश नगरेका कारण समस्यामा परेकाहरुलाई प्राधिकरणको निर्णय चित्तनबुझे निर्णय पुनरावलोकन गर्न उजुरी हाल्न सकिने प्रावधान छ । उक्त उजुरी प्राधिकरणले नै फर्छ्यौट गर्छ ।

प्रकाशित : श्रावण १३, २०७७ १९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?