कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वाग्मती प्रदेशमा एकै दिन ३२ पुल उद्घाटन

प्रताप विष्ट

हेटौंडा — वाग्मती प्रदेश सरकारले २ वर्षमा ३२ वटा पक्की पुल निर्माण गरेको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयले बनाएका ३२ वटै पुलको बुधबार मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्रालयबाटै उद्घाटन गरे । 

वाग्मती प्रदेशमा एकै दिन ३२ पुल उद्घाटन

मकवानपुरको कैलाश गाउँपालिका–१० दुबोखोलामा २ करोड ५५ लाखको लागतमा पुल बनाइएको छ । मुख्यमन्त्री पौडेलले दुबोखोलामै पुगेर पुल उद्घाटन गर्ने कार्यक्रम रहे पनि बाढीपहिरोका कारण सम्भव नभएको भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयालले जानकारी दिए ।

त्यस क्रममा मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले गरेका कामको परिणाम अब क्रमशः देखापर्दै जाने भन्दै चालू वर्ष एक सयभन्दा बढी पक्की पुल निर्माण भइसक्ने बताए ।

२ वर्षमा बनाइएका ३२ वटा पुलको लागत ७३ करोड ६७ लाख रुपैयाँ छ । यातायात पूर्वाधार निर्देशनालय हेटौंडाका निर्देशक डा. सहदेव भण्डारीका अनुसार ललितपुर, सिन्धुपाल्चोक र काभ्रेमा ५/५ वटा पक्की पुल निर्माण गरिएको छ । यसै गरी चितवन, दोलखा र नुवाकोटमा ३/३, मकवानपुरमा २ र भक्तपुर, काठमाडौं, धादिङ, सिन्धुली र रामेछापमा १/१ वटा पुल बनाइएका छन् ।

१२० वटा पक्की पुल बन्दै

प्रदेश सरकारको लगानीमा अहिले १३ जिल्लामा १२० वटा पक्की पुल निर्माणाधीन छन् । यातायात निर्देशक भण्डारीका अनुसार बहुवर्षीय योजनाका रूपमा केन्द्र सरकारको अनुदानमा ६३ र प्रदेश सरकारको लगानीमा ५७ वटा पक्की पुल निर्माण हुँदै छन् । संघीय सरकारको अनुदानमा मकवानपुरमा पूर्वाधार विकास कार्यालय चितवनमार्फत १० वटा पुल बन्दै छ ।

संघीय सरकारले चालू वर्ष मकवानपुरगढी गाउँपालिका–५ ज्यामिरे खोलामा पुल निर्माणका लागि ५० लाख, हेटौंडाको कुखरेनी खोलामा ६२ लाख ५० हजार, आँपखोल्सीमा १० लाख, मकवानपुरगढीको सिमलीटारमा १ करोड ३५ लाख, कैलाशको कालीखोलामा पुल बनाउन १५ लाख छुट्ट्याएको छ । त्यस्तै दामनको भुङ्देल खोलामा ८० लाख, नामटार–चुनियाँ–कालिकाटारको कालीखोलामा १ करोड, हेटौंडाको कर्राखोलामा ५० लाख, इन्द्रसरोवरको कुलेखानी–सिस्नेरी खोलामा पुल बनाउन १५ लाख तथा वाग्मती पुल, सिक्रे दोभान पुल र तालढुंगा काभ्रे–राईगाउँमा पुल निर्माणका लागि ५ करोड ९ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

यसै गरी प्रदेश सरकारको लगानीमा चालू आवमा मकवानपुरमा ६ वटा पक्की पुल निर्माण हुने भएको छ । प्रदेश सरकारले नुवाकोटमा ८, सिन्धुलीमा ६, रामेछाप, दोलखा र रसुवामा १/१ वटा, भक्तपुरमा ९ , काभ्रेमा ४, सिन्धुपाल्चोकमा ६, धादिङमा ४, चितवनमा ९, काठमाडौंमा ७ र ललितपुरमा २ वटा पुल निर्माण गर्ने भएको छ ।

प्रकाशित : श्रावण ८, २०७७ ११:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?