कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

किशोरीलाई बलात्कार गरेको आरोपमा एक पक्राउ

पेट दुखेर अस्पताल लगिएकी किशोरी गर्भवती भएको खुलेपछि पीडित परिवारले प्रहरीमा उजुरी दिएको थियो
राजकुमार कार्की

सिन्धुली — किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले गोलन्जोर गाउँपालिका–७ खुर्कोटका ४५ वर्षीय विदुरप्रसाद देवकोटालाई पक्राउ गरेको छ । स्वास्थ्य जाँचका क्रममा किशोरी गर्भवती भएको खुलेपछि पीडित परिवारले प्रहरीमा उजुरी दिएको थियो ।

इलाका प्रहरी कार्यालय खुर्कोटका अनुसार १५ वर्षीया किशोरीका आफन्तको उजुरीका आधारमा देवकोटालाई पक्राउ गरी सोमबार जिल्ला प्रहरी कार्यालयमा बुझाइएको छ । देवकोटाले किशोरीलाई गत माघमा बलात्कार गरेको प्रहरी निरीक्षक शान्ता वाइबाले परिवारलाई उद्धृत गर्दै बताइन् । उनका अनुसार बालिकाले पेट दुख्यो भनेपछि आफन्तले शनिबार स्थानीय सुनकोसी मेडिकलमा जाँच गराउन ल्याएका थिए ।

देवकोटाले त्रास देखाएर घटनाबारे कसैलाई नबताउन दबाब दिएको भनी पीडित किशोरीले बयान दिएको प्रहरी निरीक्षक वाइबाले सुनाइन् । किशोरीले घाँस काट्न गएका बेला आफूमाथि बलात्कार भएको प्रहरीलाई बताएकी छन् ।

स्थानीयका अनुसार देवकोटाले सुरुमा घटना गाउँमै गुपचुप गराउन खोजे पनि पीडित पक्ष मानेको थिएन । त्यसपछि फरार भएका उनलाई प्रहरीले गोप्य सूचनाका आधारमा आइतबार राति ग्वालटारबाट पक्राउ गरेको हो । किशोरीलाई अहिले महिला सञ्जालले संरक्षण दिएर राखेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामबहादुर क्षेत्रीले घटनाबारे थप अनुसन्धान भइरहेको बताए ।

प्रकाशित : श्रावण ५, २०७७ १३:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?