कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पासो बने बालुवा झिकेका खाल्डा

जथाभावी उत्खननले स्थानीय खोला किनारका ठाउँठाउँमा बनेका गहिरा खाल्डाका कारण अकालमै ज्यान जाने घटना रोकिएको छैन
हरिहरसिंह राठौर

धादिङ — १६ वर्षीय ताराबहादुर लुंगेली मगर गत बुधबार गल्छी गाउँपालिका–२ मा पर्ने त्रिशूली नदीमा बालुवा झिक्ने क्रममा डुबेर बेपत्ता भए । उनी लगायत स्थानीय १६ युवकलाई नदी छेउमै घर भएका डिलबहादुर भण्डारीले एक टिपर बालुवा झिकेको ५५ सय रुपैयाँ र घरमै खानबस्न दिने सर्तमा असार १९ गतेबाट काममा लगाएका थिए ।

पासो बने बालुवा झिकेका खाल्डा

बाढी आएका बेला बालुवा झिक्दाझिक्दै डुबेका उनको अवस्था अझै अज्ञात छ । उनका आफन्तजनले क्षतिपूर्ति माग्दै गल्छी गाउँपालिका र गजुरीस्थित प्रहरी चौकीमा निवेदन दिएका छन् ।

गत मंगलबार पनि बालुवा निकाल्ने क्रममै खाल्डोमा फसेका खोटाङ बडापोखरी–१ का १९ वर्षीय चन्द्रमणि राई त्रिशूलीमै बेपत्ता छन् । गत चैत १३ गते नुहाउन गएका २० वर्षीय रविन राईको पनि बालुवा निकालेकै खाल्डोमा परेर मृत्यु भएको थियो । जथाभावी उत्खननले त्रिशूलीलगायत स्थानीय खोला किनारमा ठाउँठाउँमा बनेका गहिरा खाल्डाका कारण अकालमै ज्यान जाने घटना भइरहेका छन् ।

गत वर्षको साउन २५ मा गजुरी–६ दरियाल खोलामा यस्तै खाल्डोमा परेर २ युवकको मृत्यु भएको थियो । स्थानीय खोलामा बालुवा उत्खनन गरेर छाडेको खाल्डोमा उनीहरु परेका थिए । त्यसको केही दिनपछि नै धादिङ र नुवाकोट सिमानामा पर्ने ककनी गाउँपालिकाको कोल्पु खोलाको मुहानक्षेत्र कुमरीमा बालुवा निकाल्न खनेको खाल्डोमा परेर एक बालिकासहित २ जनाले ज्यान गुमाए । नुहाउन गएकी स्थानीय १३ वर्षीया विनीता खाल्डोमा डुबेकी थिइन्, उनलाई बचाउन गएकी लक्ष्मी तामाङको पनि खाल्डोमै डुबेर मृत्यु भएको थियो ।

उर्लंदो नदीमा बालुवा झिक्दा सुरक्षा सतर्कता नअपाउँदा हरेक वर्ष मजदुरहरुको मृत्यु हुने गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार यसरी खाल्डोमा परेर बर्सेनि ६ जना बढीको ज्यान जाने गरेको छ । नदीजन्य पदार्थ उत्खनन गर्ने मजुदरसँगै स्थानीय र पौडी खेल्न आएका बालबालिकाले यसरी ज्यान गुमाउने गरेका छन् । कतिपय पशुवस्तु पनि खाल्डोमा पर्ने गरेका स्थानीय बताउँछन् ।

नदीमा बालुवा झिक्दा न्यूनतम सुरक्षा सतर्कता अपनाउन सचेत गराइएको गल्छी गाउँपालिका अध्यक्ष कृष्णहरि श्रेष्ठले बताए । ‘कम्तीमा लाइफ ज्याकेट लगाएर पसे पनि जोखिम कम हुन्थ्यो,’ उनले भने, ‘हामीले मजदुर र बालुवा खरिद गर्नेहरूलाई सावधानी अपनाउन भनिसकेका छौं ।’

प्रकाशित : असार ३०, २०७७ २२:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?