कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाढीपहिरोमा ज्यान गुमाउने परिवारलाई राहत घोषणा

सुवास विडारी

मकवानपुर — बाढीपहिरोका कारण ज्यान गुमाउनेको परिवार वाग्मती प्रदेश सरकारले राहतस्वरुप प्रतिपरिवार एकलाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।

आइतबार बसेको वाग्मती प्रदेशको मन्त्रिपरिषद्को बैठकले प्रदेशको १३ जिल्लामा बाढीपहिरोमा परी ज्यान गुमाउनेहरुको परिवारलाई प्रतिपरिवार एकलाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेका आर्थिक मामिला तथा योजना मन्त्री कैलशाप्रसाद ढुंगेलले जानकारी दिए । उनका अनुसार अविरल वर्षाका कारण आएको बाढी पहिरोमा परी हालसम्म प्रदेशभर ज्यान गुमाउने २५ जनाको परिवारलाई राहत रकम तत्काल उपलब्ध गराइनेछ ।

त्यसैगरी घाइते भएका व्यक्तिहरुलाई उपचारको व्यवस्था मिलाउने र बेपत्ता भएकाहरुको खोजी कार्य गरी उद्धार गर्न सम्बन्धित जिल्लाका विपद् व्यवस्थापन समन्वय समितिहरुलाई सक्रिय तुल्याइने निर्णय बैठकले गरेको उनले बताए । विपद् व्यवस्थापन समन्वय समितिलाई सक्रिय तुल्याउन प्रदेश सरकारले आवश्यक स्रोत साधनको व्यवस्था गरिने ढुंगेलले जानकारी दिए ।

बैठकले आर्थिक कार्यविधि ऐनको प्रथम संशोधन २०७७ को मस्यौदा र वातावरण संरक्षण गर्न बनेको अध्यादेश २०७७ लाई प्रदेशसभामा दर्ताका लागि स्वीकृत समेत प्रदान गरेको छ । साउन २ गते बस्‍ने प्रदेशसभाको बैठकमा छलफल गर्ने गरी दुईवटा विधेयक दर्ता गराउन लागिएको हो ।

प्रकाशित : असार २८, २०७७ १७:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?