कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वाग्मतीमा परीक्षण बढेसँग संक्रमित पनि थपिँदै

सुवास विडारी

मकवानपुर — वाग्मती प्रदेशमा सोमबार मात्रै थप ९५ जनामा कोरोना देखिएको छ । परीक्षण तीव्र पारिएसँगै यहाँ संक्रमित संख्या पनि बढ्न थालेको हो । 

वाग्मतीमा परीक्षण बढेसँग संक्रमित पनि थपिँदै

हालसम्म प्रदेशभर ४ सय ७ जनामा संक्रमण पुष्टि भएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । तीमध्ये १ सय १६ जना निको भइसकेका छन् । मन्त्रालयका सूचना अधिकारी पुरुषोत्तम सेढाईंका अनुसार वाग्मती प्रदेशमै कोरोनाका कारण हालसम्म पाँच जनाले ज्यान गुमाइसकेका छन् ।

‘दैनिक रूपमा कोरोना संक्रमितको संख्या बढिरहेको छ । परीक्षणको दर र दायरा बढाएसँगै संक्रमितको संख्यासमेत थप भएको हो,’ उनले भने, ‘वाग्मतीका धादिङ, चितवन र काठमाडौंमा बढी संक्रमित भेटिन थाले ।’ प्रदेशभर हाल ३ सय १२ संक्रमित आइसोलेसनमा बसिरहेका छन् । मन्त्रालयका अनुसार धादिङमा १ सय १२, चितवनमा ४४, काठमाडौंमा ३०, सिन्धुपाल्चोकम २६, नुवाकोट र रामेछापमा २३/२३, भक्तपुरमा १५, मकवानपुरमा १४, रसुवामा नौ, सिन्धुली र ललितपुरमा सात/सात जना र दोलखामा दुई जना कोरोना संक्रमित छन् ।

प्रदेशभर १ हजार २ सय ५८ वटा आइसोलेसन बेड रहेको र संक्रमितको संख्या बढेसँगै आइसोलेसन बेड पनि थप्ने निर्णय वाग्मती सरकारले गरिसकेको छ । २ हजार ४ सय ५० बेड थप्ने सरकारको तयारी छ । अब थपिनेमध्ये १० प्रतिशत बेड महिलाका लागि छुट्ट्याइने बताइएको छ । उपत्यकाका तीन जिल्लामा १ हजार, चितवन, मकवानपुर, धादिङ, नुवाकोट, काभ्रेपलान्चोक र सिन्धुलीमा २–२ सय, सिन्धुपाल्चोकमा १ सय र दोलखा, रामेछाप र रसुवामा ५०–५० वटा आइसोलेसन बेड तयार गरिनेछ ।

प्रदेशमा हालसम्म १६ हजार १० वटा स्वाब संकलन गरी पीसीआर गरिएको छ । ११ हजार १ सय ५० वटा क्वारेन्टाइन बेड निर्माण भएकोमा हाल २ हजार २ सय ३३ जना बसिरहेका छन् । त्यस्तै १ हजार १ सय १० जना होम क्वारेन्टाइनमा बसिरहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित : असार १६, २०७७ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?