कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मन्त्रीको प्रतिबद्धतापछि वाग्मती प्रदेशसभा बैठक सञ्‍चालन

सुवास विडारी

मकवानपुर — वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले बजेट निर्माण र सदनमा उपलब्ध गराउने क्रममा भएको कमीकमजोरीलाई सच्याएर अगाडि बढ्ने प्रतिबद्धता जनाएपश्चात् प्रदेशसभा बैठक सञ्चालन भएको छ । 

मन्त्रीको प्रतिबद्धतापछि वाग्मती प्रदेशसभा बैठक सञ्‍चालन

बजेटको क्षेत्रगत बाँडफाँड (रातो किताब) सदनमा दर्ता गराएको चार दिनपछि मात्र सांसद्हरुलाई उपलब्ध गराएको भन्दै कांग्रेसले सोमबार सदन अवरुद्ध गरेको थियो । कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले सदनमा उठाएको प्रश्नहरुको जवाफ दिनेक्रममा मन्त्री ढुंगेलले यस्ता किसिमका कमिकमजोरी नदोहोर्‍याउने प्रतिबद्धता जनाएपश्चात् प्रदेशसभा बैठक सुचारु भएको हो । कांग्रेसले मन्त्री ढुंगेलले आत्मालोचनासहित आगामी दिनमा कमीकमजोरी नदोहोर्‍याउन प्रतिबद्धता सदनमै राख्नुपर्ने अडान लिएको थियो ।

मन्त्री ढुंगेलको जवाफ चित्त बुझ्दो नआएको भन्दै कांग्रेसले पुन: सदन अवरुद्ध गरेको थियो । कांग्रेसको अवरोधकाबीच सभामुख सानुकुमार श्रेष्ठले पुन: प्रतिबद्धतासहित आफ्नो भनाइ राख्न मन्त्रीलाई निर्देशन दिएका थिए । सोही क्रममा मन्त्री ढुंगेलले आगामी दिनमा यस्ता कमीकमजोरीलाई नदोहोर्‍याउने प्रतिबद्धता जनाएपश्चात् सदन सुचारु भएको थियो ।

वाग्मती प्रदेशसभाबाट सोमबार एउटा विधेयक पारित भएको छ । प्रदेश मामिला समिति बैठकबाट सर्वसम्मतिले पारित भएर आएको अन्तरप्रदेश बासिन्दाको समान, सुरक्षा, व्यवहार र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभाबाट पनि पारित भएको हो ।

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले अन्य प्रदेशबाट यस प्रदेशमा आएर बस्नेहरुका लागि मध्यनजर गर्दै उक्त विधेयक ल्याइएको बताए ।

प्रकाशित : असार १५, २०७७ १८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?