घोर्थलीका विद्यालयमा पढाइ सुरु

तीन विद्यालयलाई केन्द्र तोकेर सामाजिक दूरीसहित साताको दुई दिन कक्षा लिन थालिएको हो
अनिश तिवारी

सिन्धुपाल्चोक — डेस्क–बेन्च पहिलाजस्तो टाँसिएका छैनन् । कम्तीमा दुई मिटर दूरी राखिएको छ । एउटा बेन्चमा दुई छेउमा गरी जम्मा दुई विद्यार्थी बस्छन् । विद्यालय पोसाक लगएका उनीहरू निर्धक्क पढाइ गरिरहेछन् ।

कक्षामा छिर्नुअघि साबुन–पानीले राम्ररी हात धुन्छन् । शिक्षकलाई टाढैबाट नमस्कार गर्छन् । एकआपसमा छुँदैनन् । विद्यालयबाट छुट्नु र पस्नअुघि सेनिटाइजर लगाउनु अनिवार्य गरिएको हुन्छ । अहिले सातामा दुई दिन ३ घण्टा कक्षा हुन्छ । शिक्षक विद्यार्थीहरूलाई पाठ बुझाएर पर्याप्त गृहकार्य दिन्छन् ।

जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका–१ घोर्थलीमा कोभिड–१९ संक्रमण रोक्न गरिएको लकडाउनमै निश्चित दुरी कायम गरेर अध्यापन थालिएको छ । सरकारले अनलाइन, टेलिभिजन र रेडियोजस्ता वैकल्पिक माध्यमबाट पढ्न निर्देशन दिए पनि घोर्थलीमा यस्ता माध्यम एकदमै न्यून रहेकाले विद्यालयमै पढाउन थालिएको वडाध्यक्ष कर्णबहादुर खड्काले बताए । ‘सिकाइ सहजीकरण अभियानअर्न्तगत तीनवटा विद्यालयलाई केन्द्र तोकेर ९ शिक्षक खट्नुभएको छ, हप्तामा दुई दिन ३ घण्टा संक्रमणबाट बच्ने हरसम्भव तरिका अपनाएर अध्ययन गराइन्छ,’ उनले भने ।

सेतीदेवी आधारभूत विद्यालय, कागेश्वरी मावि र सुन्दरीदेवी माविलाई केन्द्र तोकिएको छ । ‘शिक्षकहरू आफैं यसमा उत्साही देखिनुभएको छ, बालबालिका जाँगरिला बनेका छन्,’ शिक्षक ईश्वर दाहालले भने, ‘कुनै वैकल्पिक माध्यम नभएपछि वडा र गाउँपालिकाको सहजीकरणमा अध्ययनलाई निरन्तरता दिइएको हो ।’ बालबालिकालाई दिन पर्याप्त मास्क नभएकाले गाउँपालिकासँग माग गरिरहेको पनि उनले बताए ।

सरकारबाट प्रस्ट निर्देशन केही नआए पनि पढाइ थाल्न जनप्रतिनिधि तत्पर देखिएको र अभिभावक पनि सहमत रहेको शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख कृष्ण सुवेदीको भनाइ छ ।

हेलम्बु र इन्द्रावती गाउँपालिकाले पनि कोभिड–१९ अवधिका लागि शैक्षिक पुस्तिका बनाएर नयाँ शैक्षिक अभियान सुरु गर्ने जनाएका छन् । ‘इन्टरनेटबाट सुरु गर्न सबैतिर नेटवर्क सहज नहुने भएकाले सचेतना अपनाएर विद्यालयमै अभियान सुरु गर्दै छौं,’ हेलम्बु गाउँपालिकाका प्रमुख निमाग्याल्जेन शेर्पाले भने । इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले शैक्षिक अभियान बनाएर अगाडि बढ्ने प्रस्ट्याए । ‘शैक्षिक पुस्तिका बनाएर अब पढाउन थाल्नेछौं,’ उनले भने ।

प्रकाशित : असार १४, २०७७ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्

बागलुङमा क्वारेन्टाइन बाहिरका व्यक्तिलाई कोरोना संक्रमण

प्रकाश बराल

बागलुङ — बागलुङमा क्वारेन्टाइनबाहिरका व्यक्तिमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ । पोखरामा भएको पीसीआर परीक्षणका क्रममा शनिबार बेलुकी क्वारेन्टाइनमा नबसेका बागलुङका ३ जनामा कोरोना संक्रमण देखिएको हो ।

आइतबार बिहान मात्रै ती व्यक्तिमा कोरोना संक्रमण भएको थाहा भएपछि यहाँका सरकारी कार्यालय, सामाजिक संस्थासमेतले आकस्मिक बैठक बसालेका छन् । बागलुङ नगरपालिकाले पनि केही कर्मचारीलाई घरमै बस्न भनेको छ भने अन्य कार्यालयमा पनि बैठक बसिरहेको छ ।

‘केही व्यक्तिमा कोरोना पोजिटिभ देखिएको छ, उनीहरु कहाँ कसरी कोसँगको सम्पर्कमा थिए भन्ने अध्ययन हुँदैछ,’ स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले भने, ‘लकडाउन गरेर, सिल गरेर भन्दा पनि सचेत भएर कन्ट्याक्ट ट्रेसिङमार्फत समस्या सुल्झाउने काम गर्छौ ।’ उनीहरुको प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिलाई होम क्वारेन्टाइनमा राखेर पीसीआर परीक्षण गरिने उनले बताए ।

बागलुङमा अहिलेसम्म १ सय ५७ जनामा कोरोना संक्रमण देखिएको छ । तीमध्ये २३ जना निको भएर घर फर्केका छन् ।

प्रकाशित : असार १४, २०७७ ०८:४३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×