कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संक्रमण मुक्त भएपछि दुबोको माला लगाएर विदाई

राजकुमार कार्की

सिन्धुली — सिन्धुली अस्पतालबाट तीनजना पुरुष कोरोना भाइरसको संक्रमणबाट मुक्त भएपछि सोमबार घर फर्किएका छन् । २२ दिनसम्म आइसोलेसन कक्षमा रहेका उनीहरुको पीसीआर परीक्षण नतिजा निगेटिभ आएपछि सिन्धुली अस्पतालले बिदाइ गरेको अस्पताल व्यवस्थापक विमल श्रेष्ठले बताए ।

संक्रमण मुक्त भएपछि दुबोको माला लगाएर विदाई

आइसोलेसन कक्षमा रहेको १४ दिनसम्म कुनै लक्षण नदेखिएपछि अस्पतालले स्वाब परिक्षण नगरी घर पठाउन खोज्दा स्थानीयको विरोधपछि उनीहरु रोकिएका थिए ।

वाग्मती प्रदेश किटजन्य प्रयोगशालामा गरिएको पीसीआर परिक्षणमा नतिजा निगेटिभ आएपछि उनीहरुलाई सिन्धुली अस्पतालले विदाई गरेको हो । तीनै जनालाई अस्पतालमा कार्यरत नर्स, अनमी, अन्य महिला कर्मचारीले तयार गरेको दुबोको माला लगाएर विदाई गरिएको थियो ।

संक्रमित हुँदाको व्यवहार र अस्पताल कर्मचारीहरुले गरेको हेरचाहले लक्षण नै नदेखिई कोरोना भाइरस मुक्त हुन सफल भएको उनीहरुले प्रतिक्रिया दिएका छन् । तीनैजनालाइ घरसम्म पुग्नका लागि जिल्ला विपद् व्यवस्थापन समितिले यातायातको व्यवस्था समेत गरिदिएको छ ।

प्रजिअ एवं विपद् व्यवस्थापन समितिका अध्यक्ष योगेन्द्र पाण्डेले कोरोना मुक्त भएर घर फर्किएका तीनैजनालाई समाजमा सचेतना फैलाउन र आफ्ना अनुभव सुनाउन सुझाएका छन् । कोरोना भाइरस संक्रमण फैलन नदिन र संक्रमितको मनोबल बढाउन कोरोना संक्रमण मुक्त हुनेहरुको अनुभव सहायक सिद्ध हुने उनको भनाइ थियो ।

तीनजनालाई घर पठाएपछि सिन्धुलीमा कोरोना भाइरस संक्रमित निको हुनेको संख्या चार भएको छ भने कमलामाइ नगरपालिका–१० कै एकजना पुरुष संक्रमित मात्र अस्पतालको आइसोलेसनमा उपचाररत रहेका छन् । उनमा पनि कोरोना भाइरसको कुनै लक्षण नदेखिएकाले चाँडै घर फर्किने अस्पताल व्यवस्थापक श्रेष्ठले विश्वास व्यक्त गरे । यस अघि सिन्धुलीको भिमानकी संक्रमित महिला कोरोना संक्रमण मुक्त भएर घर फर्किसकेकी छिन् ।



प्रकाशित : असार ८, २०७७ १६:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?