कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कमलामाईमा सुटुक्क योजना सम्झौता गरिएको भन्दै विवाद

राजकुमार कार्की

सिन्धुली — आफूहरूलाई थाहै नदिई सुटुक्क योजना सम्झौता गरिएको भन्दै कमलामाई नगरपालिकाको ४ नम्बर वडाका स्थानीयले विरोध जनाएका छन् । उनीहरूले तत्काल उक्त निर्णय सच्याउन माग गरेका छन् ।

कमलामाईमा सुटुक्क योजना सम्झौता गरिएको भन्दै विवाद

वडाध्यक्षले नै वडाको अधिकार मिचेर लकडाउनबीच नगर कार्यपालिकाले योजना सम्झौता गरेको आरोप लगाउँदै नसच्याइए आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।

वडाको जर्बुटाकला संग्रहालय पुग्ने सडक निर्माण तथा मर्मतका लागि प्रदेश पूर्वाधार विकास कार्यक्रमअन्तर्गत जिल्ला समन्वय समितिबाट नगरपालिकामार्फत उपभोक्ता समितिले काम गर्ने गरी विनियोजित १० लाखको योजनामा नगर उपप्रमुखको दस्तखत देखाएर मनपरी गरिएको वडाध्यक्ष महेन्द्रप्रसाद ढकालले आरोप लगाए । उनका अनुसार उपप्रमुख र वडाध्यक्षको उपस्थिति देखाई छुट्टाछुट्टै दुई उपभोक्ता समिति बनाएर नगरपालिकामा पेस गरिएको छ ।

नगरपालिकामै बसेर उपप्रमुख मञ्जु देवकोटाको उपस्थिति देखाई प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीले आफ्नो अनुकूलको काम गरेको ढकालको भनाइ छ । ‘वडाको अधिकार हनन, गरी उपभोक्ता भेलाबिनै आएका कागजातलाई प्रमुख प्रशासकीय अधिकृत सुवेदीले मान्यता दिई सम्झौता गरेकाले तत्काल छानबिन गरी दोषीउपर कारबाही हुनुपर्छ,’ उनले भने ।

उपभोक्ता समिति गठन हुँदा जानकारी नपाएको भन्दै स्थानीयले नगरपालिका कार्यालय घेराउ गर्दै केही बेर नाराबाजीसमेत गरेका थिए ।

उपभोक्ता समिति गठनमा विवाद भए उपप्रमुखको उपस्थितिमा पुनः गठन गर्न सकिने नगरपालिकाको नियम भए पनि स्थानीय र वडालाई सूचना नै नदिफर्जी काम भएको वडाध्यक्ष ढकालको भनाइ छ ।

प्रमुख प्रशासकीय अधिकृत सुवेदी उपप्रमुखको उपस्थितिमा गठन भएर आएको उपभोक्ता समितिसँग सम्झौता गरेको स्विकार्छन् । भन्छन्, ‘पहिला आएकोसँग सम्झौता भयो, अब अर्को पनि उपभोक्ता समिति आएकाले छानबिन हुन्छ ।’

नगरप्रमुख खड्गबहादुर खत्रीले उपभोक्ता समिति गठनमा विवाद देखिएकाले कार्यपालिका बैठकले टुंगो लगाउने बताए ।

प्रकाशित : जेष्ठ २९, २०७७ ०९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?