कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रामेछापमा कोरोना पुष्टि भएका युवा भागे

टीकाप्रसाद भट्ट

रामेछाप — रामेछापको गोकुलगंगा ४ घर भएका कोरोना संक्रमित युवा भागेका छन् । शुक्रबार अपरान्ह गाउँपालिकाको क्वारेन्टाइनबाट पालिका अध्यक्षले घर पठाएका एक युवालाई केही क्षणमै संक्रमण भएको पुष्टि भएपछि फर्काउन खोज्दा उनी भागेका हुन् ।

७ दिनदेखि गोकुलगंगा अस्पतालको क्वारेन्टाइनमा राखेका ती युवासहितका व्यक्तिहरुलाई पालिकाका अध्यक्ष खड्गबहादुर सुनुवारले स्वाब परीक्षण नेगेटिभ आएको भन्दै हात मिलाएर बिदा गरेका थिए । क्वारेन्टाइनबाट बिदाइ भएकाले बेताली बजारमा सामान किनमेल गर्नुका साथै घर परिवारका सदस्यलाई भेटेका थिए । त्यसको केही क्षणमा नै उक्त क्वारेन्टाइनमा रहेका ११ जनालाई कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।

संक्रमणको जानकारी पाउनासाथ सुनुवारले गाउँ जान क्‍वारेन्टाइनबाट बिदाई गरेका व्यक्तिहरुलाई फेरि फर्कनका लागि फोन गरेका र यातायातका साधन पठाएका थिए । अरु साधन चढेर फेरि क्वारेन्टाइन फर्के पनि बेताली घर भएका युवक भने फरार भएका हुन् । उनको खोजीमा बेताली अस्थायी प्रहरी चौकीबाट प्रहरी परिचालन गरिएको तर फेला नपरेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख बसन्त पाठकले बताए । उनका अनुसार खोजी जारी छ । संक्रमित १० जनालाई भने जिल्ला अस्पतालको आइसोलेसनमा राख्नका लागि लगिँदै छ ।

रामेछापमा एकैदिन १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा गोकुलगंगा गाउँपालिकाका ११ र लिखु तामाकोसी गाउँपालिकाका ६ जना रहेका छन् । लिखुबाट समेत संक्रमित जिल्ला अस्पताल पठाइएको छ । भारतबाट केही दिनअघि आएका उनीहरु सबै क्वारेन्टाइनमा चार दिन अघि उनीहरुको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको थियो ।

संक्रमित सबैलाई रामेछाप जिल्ला अस्पतालको आइसोलेसन वार्डमा राखेर उपचार गर्ने स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कर्णले बताए । जिल्ला अस्पतालमा १४ वटा आइसोलेसन वार्ड रहेकोमा ३ वटा थप व्यवस्था गरिएको छ ।

प्रकाशित : जेष्ठ २३, २०७७ २१:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?