कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निर्माण सामग्रीमा मूल्यवृद्धि हटाउन मकवानपुरका व्यवसायीको माग

सुवास विडारी

मकवानपुर — उत्पादकले विनाकारण निर्माण सामग्रीको मूल्य बढाएको भन्दै निर्माण व्यवसायीले त्यसलाई हटाउन माग गरेका छन् । सामग्रीको मूल्यसँगै ढुवानी भाडासमेत बढ्दा आफूहरू मारमा परेको जनाउँदै मकवानपुरका निर्माण व्यवसायीले शुक्रबार प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएका छन् ।

निर्माण सामग्रीमा मूल्यवृद्धि हटाउन मकवानपुरका व्यवसायीको माग

निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष श्यामसुन्दर ढकालसहितको टोलीले प्रमुख जिल्ला अधिकारी दीपकराज नेपाललाई ज्ञापनपत्र बुझाएको हो । लकडाउनपछि उद्योगहरूले सिमेन्टमा प्रतिबोरा ८० देखि १ सय २० रुपैयाँ, फलामे डन्डीमा प्रतिकेजी १० देखि १५ रुपैयाँसम्म मूल्यवृद्धि गरेको भन्दै संघले आपत्ति जनाएको छ ।

विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्यमा गिरावट आइरहँदा ढुवानी भाडा घट्नुको साटो झन् बढेकोमा अध्यक्ष ढकालले आश्चर्य व्यक्त गरे । कोरोनाको जोखिमका बीच पनि विकास–निर्माणका काम गरिरहेका व्यवसायीलाई अस्वाभाविक मूल्यवृद्धिले मारमा परेको भन्दै नियमन गर्न माग गरिएको छ । अहिलेको विषम परिस्थितिमा निर्माण व्यवसायीको ओभरहेड खर्च बढ्ने र मूल्यवृद्धिले झनै भार थपिने भएकाले काम गर्न नसक्ने अवस्थामा पुगेको संघका कोषाध्यक्ष ईश्वर पाठकले बताए ।

हेटौंडामै रहेका शिवम्, हेटौंडा र ऋद्धिसिद्धि सिमेन्टले पनि बिनाकारण मूल्य बढाएकाले मकवानपुर प्रशासनले त्यसको नियमन गर्नुपर्ने व्यवसायीको आग्रह छ । ज्ञापनपत्र बुझ्दै प्रजिअ नेपालले यसबारे सरोकारवाला निकायसँग छलफल गरी समस्या समाधान गराउने प्रतिबद्धता जनाए । भाडा वृद्धि गरिएको विषयमा ढुवानी व्यवसायीसँग छलफल गरिने उनको भनाइ छ ।

प्रकाशित : जेष्ठ २३, २०७७ १४:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?