कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दुई महिनापछि हेटौंडाका तरकारी बजार खुले

सुवास विडारी

हेटौंडा — दुई महिनादेखि बन्द हेटौंडाको थोक तथा खुद्रा तरकारी बजार बिहीबारबाट सञ्चालनमा आएको छ । मकवानपुर प्रशासनले कोरोना भाइरस (कोभिड–१९) संक्रमणको डरले लकडाउनसँगै बन्द गराएको तरकारी बजार संघीय सरकारको निर्देशनमा खुलेको हो ।

दुई महिनापछि हेटौंडाका तरकारी बजार खुले

विशेष गरी मकवानपुर उद्योग वाणिज्य संघले तराईबाट तरकारी ढुवानी गर्दा कोरोना संक्रमण फैलिनेभन्दै बजार बन्द गराउन प्रशासनलाई आग्रह गरेको थियो । संघीय सरकारले कृषिजन्य सामग्री ढुवानी नरोक्न परिपत्र गरेपछि प्रशासनले बाध्य भएर तरकारी बजार खोलेको हो । संघीय सरकारको निर्देशनअनुसार हेटौंडा–१० बसर्पाक र हेटौंडा–४, खोपेगल्लीस्थित तरकारी बजार बिहीबार बिहानदेखि खुलेका हुन् ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले बिहान ६ बजेदेखि ९ बजेसम्म तरकारी बजार खोल्न अनुमति दिएको बताए । ‘कोरोना संक्रमण फैलन सक्ने अवस्थाका कारण तरकारी बजार बन्द गरिएको थियो,’ उनले भने ।

प्रशासनले हेटौंडा उपमहानगरपालिका कार्यालय र मकवानपुर उद्योग वाणिज्य संघलाई तरकारी बजारको व्यवस्थापनको जिम्मेवारी दिएको छ । नगर प्रहरी र संघका प्रतिनिधिको संयुक्त सहभागितामा तरकारी बजारलाई व्यवस्थापन गरेर सञ्चालन गरिने बताइएको छ ।

वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालले खोपेगल्ली र बसपार्कको तरकारी बजार उचित व्यवस्थापन गरेर सञ्चालनमा ल्याइएको बताए । उपभोक्तालाई सामाजिक दूरी कायम गराउन कडाइका साथ निगरानी गर्ने, व्यवसायी र उपभोक्तालाई स्वास्थ्य सुरक्षा सामग्री लगाउन अनिवार्य गराइने अध्यक्ष कटुवालले बताए । बसपार्क र खोपेगल्लीमा करिब एक सय तरकारी पसलहरु रहेका छन् । तरकारी बजार बन्द भएपछि सहकारीमार्फत् एकीकृत प्रणालीबाट तरकारी बिक्री वितरण हुँदै आएको थियो ।

लामो समयदेखि तरकारी बजार बन्द हुँदा मकवानपुरका तरकारी उत्पादक किसानले करोडौं घाटा बेहोर्नु परेको थियो । तरकारी उत्पादनको पकेट क्षेत्र थाहा नगरपालिका, मकवानपुरगढी र मनहरी गाउँपालिकाकाका सयौं किसानले उत्पादन गरेको तरकारी खेतमै कुहिएको छ । तरकारी बजार बन्द भएपछि कतिपय किसानले हेटौंडा बजारको फुटपाथमा राखेर तरकारी बिक्री वितरण गरेका थिए ।

प्रकाशित : जेष्ठ २२, २०७७ ११:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?