वाग्मती प्रदेश सरकारले पत्रकारहरुको कोरोना बिमा गरिदिने

प्रताप विष्ट

हेटौडा — वाग्मती प्रदेश सरकारले प्रदेशमा रहेका एक हजार पत्रकारहरुको कोरोना बिमा गरिदिने भएको छ ।

कोरोनाको सक्रमण बढ्दै गएकाले फ्रन्‍टलाइनमा बसेर संचारकर्म गर्ने पत्रकारहरुलाई एक लाखको कोरोना बिमा गर्न लागिएको हो ।

वाग्मती प्रदेशमा करिब साढे ५ हजार भन्दाबढी सञ्चारकर्मीहरु रहेका छन । ‘प्रदेश सरकारले फ्रन्टलाइनमा रहेका सञ्चारकर्मीहरुलाई कोरोना बिमा गर्न लागेको हो,’ आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमरकट्टेलले भने,‘यो बिमा कार्यक्रमले फ्रन्टलाइनमा काम गर्ने सञ्चारकर्मीहरुलाई थोरै भएपनि काम गर्ने ऊर्जा पैदा गर्ने सोचेका छौं ।’

वाग्मती प्रदेशको उपत्यकाका तीन जिल्ला र उपत्यका बाहिरका १० जिल्लालाई महासंघको सदस्यताको आधारमा जिल्ला/जिल्लामा बिमा गर्ने पत्रकारहरुको संख्या तोक्ने व्यवस्था गरेको छ ।

प्रदेश पत्रकार महासंघ र उपत्यका पत्रकार महासंघको समन्वयमा पत्रकारहरुको कोरोना बिमा गर्न लागेको प्रेस रजिष्ट्रार रेवती सापकोटाले बताए । 'तोकिएको संख्या र मापदण्डभित्र रहेर जिल्ला पत्रकार महासंघको सिफारिसमा प्रदेश र उपत्यका महासंघको समन्वयमा एक साताभित्रमा कोरोना बिमा गर्ने छौ,' उनले भने ।

यसैगरी प्रदेशमा रहेका सञ्चारमाध्यमहरुलाई राहत पुर्‍याउने उद्देश्यले प्रदेश सभाको गतिविधि प्रत्यक्ष प्रसारण र प्रकाशन गर्ने सञ्चारमाध्यमहरुलाई प्रदेश सरकारले १५ लाख ४० हजार रुपैयाँ विनियोजित गरेको छ ।

प्रदेश सभाको नीति तथा कार्यक्रम र बजेट प्रस्ततिको प्रत्यक्ष प्रसारण र प्रकाशन गर्ने संचारमाध्यमलाई रकम उपलब्ध गराउने व्यवस्था गरिएको प्रेस रजिष्ट्रार सापकोटाले बताए । टेलीभिजन,रेडियो र अनलाइनलाई उक्त रकम उपलब्ध गराउन लागिएको हो ।

प्रकाशित : जेष्ठ १९, २०७७ १५:५५
प्रतिक्रिया
पठाउनुहोस्

बेइजिङका विद्यालय सुचारू

लक्ष्मी लम्साल

बेइजिङ — कोभिड-१९ महामारीका कारण लामो समयदेखि हिउँदे बिदा र अनलाइन कक्षा लिइरहेका बेइजिङका बालबालिकाहरू सोमबारदेखि विद्यालय जान थालेका छन् ।

जुन १ तारिख अन्तर्राष्ट्रिय बालदिवसको अवसरमा बेइजिङका विद्यालय, क्याम्पसहरू खुल्ला भएको घोषणा गरिएको छ । कोरोनाको कहर मत्थर हुँदै गएपछि पछिल्ला दिनहरूमा विद्यार्थीहरू विद्यालय फर्किने क्रम जारी छ ।

गत मे २६ सम्ममा बेइजिङको शिक्षा विभागले छात्रछात्राको विद्यालय फर्किने वातावरण बनाउनका लागि सबै प्रक्रिया पूरा भएको घोषणा गर्नका लागि लाइभ कार्यक्रम गरिएको थियो ।

जसमा विद्यालय प्रवेश गर्ने विद्यार्थीका लागि महामारी प्रतिरोधका लागि स्क्रिनिङ, स्यानिटाइजर, ज्वरोमापन लगायतका यावत विधिहरू व्यवस्थापन गरिएको जानकारी गराइएको थियो । जुन १ तारिख बेइजिङका ६, ७, ८, १० र ११ कक्षाका करिब ४ लाख विद्यार्थीहरू कक्षाकोठामा प्रवेश गरेका छन् । एकसातापछि नै ४ र ५ कक्षाका विद्यार्थीहरू पनि विद्यालय फर्किने वातावरण मिलाइँदैछ।

गत मेको मध्यदेखि नै चीनको शिक्षा मन्त्रालयले महामारीको वैज्ञानिक तथा सटिक रोकथाम र नियन्त्रणका उपाय अबलम्बन गर्ने र क्रमशः विद्यार्थीहरूलाई कक्षाकोठासम्म सुरक्षाको प्रत्याभूति दिने तरिका लागू गरिरहेको बताएको छ। विद्यार्थीको विद्यालय फर्किने अवधिमा महामारी रोकथामका कडा उपायहरू कायम राख्दै उनीहरूमा देखापरेको मनोवैज्ञानिक असरलाई हटाउने खालका कार्यक्रमहरू पनि एकसाथ सञ्‍चालन गरिएका छन् ।

गत वर्षको डिसेम्बर अन्त्यदेखि चीनमा कोरोना भाइरस देखापरेपछि विद्यालय तथा सार्वजनिक भीडभाडका सम्पूर्ण गतिविधि अन्त्य गरिएको थियो । शैक्षिक क्षेत्रमा लामो समयसम्म विदाका साथै अनलाइन कक्षाको अभ्यास गरिएको थियो ।

हाल चीनमा कोरोना भाइरसको संक्रमण क्रमशः घट्दै गएको छ तर पनि बाहिरी मुलुकबाट फर्किएका यात्रुहरूबाट कोरोना भित्रिएका केसहरू प्रायः देखिएका छन्। कोरोना भाइरस विरूद्धका चेकजाँच विधिहरू यथावत राख्दै चीनमा लगभग सबै क्षेत्रको जीवन पुनः सामान्य लयमा वहाल हुँदै गएको छ ।

प्रकाशित : जेष्ठ १९, २०७७ १५:३९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×