कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भरतपुरमा पर्याप्त छैनन् क्वारेन्टाइन

जिल्लाका अन्य नगरले विदेशमा रहेका आफ्ना नागरिकको विवरण निकालेर क्वारेन्टाइन बनाइरहँदा भरतपुरमा भने बल्ल विवरण संकलन हुँदै छ 
रमेशकुमार पौडेल

चितवन — भरतपुर महानगरमा जिल्लाका आधा मानिस बसोबास गर्छन् । तर, यहाँको क्वारेन्टाइन क्षमता निकै कम छ । भारतबाट मानिसहरू आउने क्रम बढेसँगै उनीहरूलाई कहाँ व्यवस्थापन गर्ने भन्ने समस्या देखिन थालेको छ ।

भरतपुरमा पर्याप्त छैनन् क्वारेन्टाइन

जिल्ला प्रशासनका अनुसार हालसम्म जिल्लामा ३ हजार १ सय ३३ क्वारेन्टाइन बेड छन् । भरतपुर–११ सबैभन्दा बढी जनघनत्व रहेको वडा हो । यहाँ बरन्डाभार जंगलछेउको कमलामाई मन्दिर क्षेत्रमा १६ बेडको क्वारेन्टाइन बनाइएको छ । त्यहाँ भारतबाट आएका आठ जनालाई राखिएको छ । वीरगन्जबाट आएका आठ जनाको परिवारलाई पनि टोलबासीले त्यहीँ राख्न दबाब दिइरहेका छन् । ती परिवारसँग बच्चा पनि रहेकाले क्वारेन्टाइनमा तिनका लागि छुट्टै व्यवस्था छैन ।

वडा नम्बर १२ ले राजमार्गको आडमा रहेको मोहन माविको भवनमा १० बेडको क्वारेन्टाइन बनाएको छ । त्यो पूरै भरिभराउ छ । नयाँ मान्छे आए राख्ने ठाउँ छैन । वडाध्यक्ष नरेन्द्र कन्दङ्वा क्वारेन्टाइन थप्न ठाउँ नै नभएको बताउँछन् ।

चितवनमा हालसम्म पाँच जनामा कोरोना संक्रमण देखिएको छ । महानगरमै संक्रमण देखिएपछि सबै वडालाई कम्तीमा १० बेडको क्वारेन्टाइन निर्माण गर्न भनिएको थियो । तर, अहिले त्यसले नधान्ने देखिएको छ । २८ नम्बर वडाको क्वारेन्टाइनमा १७ जना बसिरहेका छन् । ‘महानगरले भनेपछि १० बेडको बनायौं । तर १७ जना आए । बढी भएका सात जनाका लागि स्कुलको बेन्च जोडेर खाट बनायौं । ओढ्ने–ओछ्याउने घरबाटै ल्याउन भनेका छौं,’ वडाध्यक्ष आशबहादुर कुमालले भने, ‘हामी बाटोमा छौं भनेर अरूको पनि फोन आइरहेको छ ।’

महानगरपालिकाकी सूचना अधिकारी मेनका पण्डितका अनुसार अहिले महानगरमा २६ ठाउँमा ३ सय २५ बेडका क्वारेन्टाइन छन् । सबैभन्दा धेरै माडी नगरपालिकामा १ हजार ६ सय १० बेड छन् । माडीभन्दा भरतपुर भूगोल र जनसंख्यामा धेरै ठूलो भए पनि क्वारेन्टाइन निकै थोरै छन् ।

माडीका मेयर ठाकुर ढकाल नगरका ४ हजार २ सय जना विदेशमा रहेको बताउँछन् । तीमध्ये २८ सयजना भारतमा छन् । ‘यो तथ्यांकलाई हेरेर हामीले कम्तीमा पनि १६ सय बेडको क्वारेन्टाइन बनायौं । सबै एकै पटक अवश्य आउँदैनन् । आएकाहरूले ठाउँ नपाएर भौंतारिनु नपर्ला,’ उनले भने ।

त्यसपछि सबैभन्दा बढी राप्ती नगरपालिकामा ८ सय १० बेडको क्वारेन्टाइन छ । मेयर प्रभा बरालले विदेशमा भएका नगरवासीको तथ्यांक लिएर क्वारेन्टाइन तयार गरेको बताइन् । ‘५१ सय ७२ जना विदेशमा रहेछन् । तीमध्ये भारतमा २ सय ४७ जना रहेछन् । यो तथ्यांकका आधारमा तत्काल आठ सय जना आए व्यवस्थापन गर्न सक्ने गरेर क्वारेन्टाइन बनाएका छौं,’ उनले भनिन् ।

भरतपुर महानगरले भने विदेशमा रहेकाको यकिन तथ्यांक जुटाउन सकेको छैन । सूचना अधिकारी पण्डित २५ हजारजति रहेको अनुमान गर्छिन् । ‘आधिकारिक विवरण लिन टोल विकास संस्थालाई खटाइएको छ,’ उनले भनिन्, ‘संकलनको काम जारी छ ।’

भरतपुर–११ को क्वारेन्टाइनमा बस्दै आएका युवक पानी पर्दा भित्रै आइपुग्ने बताउँछन् । २६ वर्षीय उनी केही दिनअघि भारतबाट आएका हुन् । ‘यो समस्या हटाउनु होला भनेका छौं । अरू त ठिकै छ,’ उनले भने ।

भरतपुर महानगरका प्रवक्ता र महानगरको क्वारेन्टाइन व्यवस्थापन समितिको संयोजकसमेत रहेका १० नम्बर वडाध्यक्ष अरुणपीडित भण्डारी क्वारेन्टाइन निर्माणमा महानगर सुरुवाती चरणमा रहेको बताउँछन् । ‘तत्कालका लागि कम्तीमा सबै वडाले १० बेडको क्वारेन्टाइन तयार गरुन् भन्ने हो । केहीले त्योभन्दा धेरै क्षमताको गरे, केहीले बनाउँदै पनि छन् । तर हामीलाई यतिले मात्रै पुग्दैन,’ उनले भने । महानगरमा भारतमै मजदुरी गर्न जानेहरूको संख्या अन्य स्थानीय तहको जस्तो धेरै नरहेको उनको अनुमान छ । त्यसैले तत्काल आउनेहरुलाई अहिलेको क्वारेन्टाइनले थेग्न सक्ने बताउँछन् ।

प्रकाशित : जेष्ठ १८, २०७७ १३:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?