कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

'खाद्यान्न ढुवानी' लेखिएको गाडीमा मदिरा ओसारपसार

'अत्यावश्यक खाद्यान्न ढुवानी' लेखेर स्टिकर टाँसेको गाडीमा ५२ कार्टुन ओल्ड दरबार, तारा लगायतका विभिन्न ब्राण्डका मदिरा फेला परेको छ ।
कृष्ण थापा

नुवाकोट — अत्यावश्यक खाद्यान्न ढुवानीको स्टिकर टाँसेर मदिरा ओसारपसार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । 

बा१९च २६४५ नम्बरको जिपमा स्टिकर टाँसी मदिरा ‌ओसार्ने लिखु गाउँपालिका-१ ढिकुरेका गाडीधनी तथा चालक अच्युत थापामगर र वडा नं ५ थानसिङका व्यापारी दिनेश पौडेल पक्राउ परेका हुन् । उनीहरुलाई विदुर नगरपालिका-५ गंगटेबाट प्रहरी टोलीले जाँचका क्रममा पक्राउ गरेको हो ।

प्रहरीका अनुसार ५२ कार्टुन ओल्ड दरबार, तारा लगायतका विभिन्न ब्राण्डका मदिरा गाडीबाट बरामद गरिएको छ । सो मदिरा व्यापारी पौडेलको पसलका लागि लैजाँदै गरेको पाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजेश थापाले बताए । मदिरा विदुर नगरपालिका-१ ढुंगेस्थित डीपी सप्लार्यसबाट खरिद गरेको र सोको मूल्य साढे ४ लाख रुपैयाँ पर्ने प्रहरीले जनाएको छ ।

उनीहरुलाई लकडाउन उल्लंघन गरेको अभियोगमा कारबाही चलाइने सूचना अधिकारी थापाले बताए । ठूला खाद्यान्न स्टोरले गाडीभित्र तेल, मदिरा र माथि खाद्यान्न ओसारपसार गर्दै आइरहेको स्थानीय बासिन्दाको भनाइ छ ।

प्रकाशित : जेष्ठ २, २०७७ १७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?