कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भक्तपुरकी संक्रमितलाई भेटेका १० को स्वाब संकलन

राजकुमार कार्की

सिन्धुली — भक्तपुरकी कोरोना संक्रमित महिलालाई भेटेका १० जनाको स्वाब संकलन गरिएको छ । महिलाको भिमानस्थित माइतीघरका आठ र धनुषामा भेटेका दुई जनाको स्वाब परीक्षण गर्न लागिएको हो ।

भक्तपुरकी संक्रमितलाई भेटेका १० को स्वाब संकलन

संकलित स्वाब शुक्रबार परीक्षणका लागि प्रादेशिक अस्पताल हेटौंडा पठाइने जनस्वास्थ्य कार्यालय प्रमुख जितेन्द्र शाहले जानकारी दिए । प्रशासनले कन्ट्याक्ट ट्रेसिङका आधारमा भिमान बजारका १७ परिवारलाई बिहीबारदेखि बाहिर निस्कन बन्देज लगाएको छ ।

ती महिला सोमबार सिन्धुलीको कमलामाई नगरपालिका–९ भिमानस्थित माइतीघरमा खाना खाएर भक्तपुर गएकी थिइन् । बुधबार माइतीका सहित पाँच घर सिल गरी १९ जनालाई क्वारेन्टाइनमा राखिएको थियो । माइतीसँग सम्पर्कमा रहेका १७ परिवारलाई समेत घरबाहिर निस्कन बन्देज लगाइएको प्रजिअ योगेन्द्रप्रसाद पाण्डेले जानकारी दिए ।

माइतीका मानिसको ती १७ घरमा पनि आउजाउ पाइएकाले बाहिर निस्कन रोक लगाइएको वडाध्यक्ष देवराज पौडेलले बताए । ‘ती घरमा प्रहरीले निगरानी बढाएको छ,’ उनले भने, ‘उनीहरूलाई सामान आवश्यक परे सम्पर्कका लागि मोबाइल नम्बर दिइएको छ । सहयोगका लागि चार युवक स्वयंसेवकका रूपमा खटाइएका छन् ।’ तर, उनीहरूको स्वास्थ्य जाँच गर्न किटसमेत नरहेको उनले गुनासो गरे ।

संक्रमित महिला मोटरसाइकलमा सुनसरीबाट महोत्तरी हुँदै माइतीघर पुगेकी थिइन् । माइतीका तीन घरका आफन्तको एउटै कम्पाउन्ड भएकाले १६ जनालाई होम क्वारेन्टाइनमा राखिएको छ । उनीहरूको सम्पर्कमा आएका अन्य तीनलाई सरकारी क्वारेन्टाइनमा राखिएको छ ।

भिमानबाटै गएकी महिला संक्रमित भेटिएपछि अहिले बजारक्षेत्रमा चहलपहल स्वात्तै घटेको छ । ‘सडक सुनसान छ । मानिस हिँड्दैनन् । गाडी पनि चलेका छैनन्,’ स्थानीय फणीन्द्र कार्कीले भने ।

प्रकाशित : जेष्ठ २, २०७७ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?