कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५६

बालबालिकालाई गाउँमै पुगेर पाठ्यपुस्तक र गृहकार्य

अनिश तिवारी

सिन्धुपाल्चोक — लकडाउनले पढाइ रोकिएपछि जिल्लाका केही विद्यालयले बालबालिकालाई गाउँमै पाठ्यपुस्तक पुर्‍याएर पढाउने व्यवस्था मिलाएका छन् । तीन नगर र नौ गाउँपालिकाका दुई दर्जन विद्यालयले कक्षा १ देखि दशसम्मका पाठ्यपुस्तक घरछेउमै पुर्‍याइदिएका हुन् ।

बालबालिकालाई गाउँमै पुगेर पाठ्यपुस्तक र गृहकार्य

जिल्ला शिक्षा विकास तथा समन्वय एकाइकाअनुसार यहाँका ५ सय २८ विद्यालयमा झन्डै ६५ हजार बालबालिका छन् । बाह्रबिसे–९ राम्चेस्थित सरस्वती माविले घरमै शिक्षक खटाएर गृहकार्यसमेत दिन थालेको छ । ‘घरमै बालबालिकालाई भेट्दै पाठ्यपुस्तक दिँदै छौं, उनीहरूलाई गृहकार्य पनि दिँदै छौं,’ प्रधानाध्यापक कृष्ण तिवारीले भने ।

बालबालिकालाई गाउँगाउँमै पुस्तक उपलब्ध गराइए पनि शैक्षिक वातावरण तयार पार्न चुनौतीपूर्ण रहेको शिक्षक र जनप्रतिनिधि बताउँछन् । इन्द्रावती गाउँपालिकाले सुरक्षा सतर्कतासहित पढाइ अघि बढाउन नयाँ कार्यक्रम बनाइरहेको जनाएको छ । ‘यस्तो बेला शैक्षिक अध्ययनको वातावरण तयार पर्न अभिभावकलाई लिएर एउटा खाका बनाउँदै छौं, घरकै अध्ययनलाई कसरी प्रभावकारी बनाउने भन्नेमा चाँडै अगाडि बढ्नेछौं,’ गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले भने ।

सीमावर्ती तातोपानीदेखि पश्चिम हेलम्बु र पाँचपोखरीसम्म दुर्गम क्षेत्रका विद्यालयले बालबालिकालाई गाउँमै पुस्तक पुर्‍याउँदै छन् । ‘शैक्षिक निर्णयअनुरूप सबै विद्यालयले घरमै पाठ्यपुस्तक पुर्‍याइरहेका छन्, अब कसरी कक्षा चलाउने भन्नेबारे छलफल भइरहेको छ,’ जिल्ला शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख कृष्ण सुवेदीले भने ।

प्रकाशित : जेष्ठ १, २०७७ ०८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?