कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लकडाउनमा विद्यार्थीलाई नयाँ पुस्तक

राजकुमार कार्की

सिन्धुली — कमलामाई नगरपालिकाका सामुदायिक विद्यालयले लकडाउनकै बीच विद्यार्थीलाई नयाँ पाठ्यपुस्तक बाँड्न थालेका छन् । खाली समयमा पनि विद्यार्थीको पढ्ने बानी नछुटोस् भनेर पुस्तक बाँडिएको उनीहरूले जनाएका छन् ।

लकडाउनमा विद्यार्थीलाई नयाँ पुस्तक

जिल्लाकै पुरानो कमला मावि र गौमती माविले बाँड्न सुरु गरिसकेका छन् भने अन्य विद्यालयमा पनि पाठ्यपुस्तक पुर्‍याउने क्रम जारी छ । पुस्तक बाँड्दा सामाजिक दुरी कायम गरिएको भने पाइएन ।

पाठ्यपुस्तक हेर्ने र नजानेको परिवार सदस्यलाई सोध्दा मात्र पनि पढ्ने बानी नहटी पछिलाइ सजिलो हुने कमला माविकी शिक्षिका लक्ष्मी श्रेष्ठले बताइन् । ‘नयाँ पुस्तक पाएपछि चासो बढ्ने र विद्यार्थी जिज्ञासु हुने भएकाले पढाइमा ध्यान जानेछ,’ उनले भनिन् ।

विद्यार्थीले पुरानो पुस्तक फिर्ता गरेर नयाँ लैजाने गरेका छन् । कोरोना संक्रमणको जोखिमलाई ध्यान राखेर विद्यार्थीलाई पालैपालो बोलाएर पुस्तक वितरण गरिएको कमलाकै अर्का शिक्षक टीकाराम श्रेष्ठले बताए । ‘हामी केही स्थानीय शिक्षकले नगरसँग समन्वय गरी पुस्तक विद्यालयमा ल्याएर वितरण गरिरहेका छौं,’ उनले भने ।


कमलामाईका सबै सामुदायिक विद्यालयमा नयाँ पुस्तक पुर्‍याउन लागिपरेको नगर शिक्षा शाखाका विज्ञ हरिप्रसाद पोखरेलले बताए । ‘सबै विद्यालयमा पुस्तक अब एक–दुई दिनमा पुग्छ,’ उनले भने, ‘नयाँ पुस्तक वितरणपछि कसरी जाने भन्ने सल्लाह गरेर निर्णयमा पुग्छौं ।’ कोरोना संक्रमणबाट जोगिएर पढाइलाइ निरन्तरता दिन रेडियो, अनलाइन, सामाजिक सञ्जाललगायत सबै उपाय अपनाइएको उनले बताए । यहाँका विद्यालयले परीक्षाको नतिजा प्रकाशनमा पनि रेडियो र सामाजिक सञ्जाल उपयोग गरेका थिए ।

कमलामाईमा सामुदायिक ९८ र निजी २६ विद्यालय छन् । जिल्लाको अर्को दुधौली नगरपालिका र सात गाउँपालिकामा रहेका सामुदायिक विद्यालयका लागि पनि नयाँ पाठ्यपुस्तक मगाउने क्रम जारी छ ।

प्रकाशित : वैशाख २२, २०७७ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?