कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

चेपाङ बस्तीमा दादुरा–रुबेला प्रकोप

दुई बालबालिकाको मृत्यु र डेढ सयजति थलिएपछि बल्ल खोप कार्यक्रम  
हरिहरसिंह राठौर

बरवाङ (धादिङ) — कोरोना संक्रमणले देश लकडाउन भइरहँदा धादिङका विकट चेपाङ बस्तीमा फैलिएको दादुरा–रुबेला प्रकोप ओझेलमा परेको छ । दुई महिनायता फैलिएको प्रकोपले दुई जनाको ज्यान गइसकेको छ भने डेढ सयजति थलिएका छन् ।

चेपाङ बस्तीमा दादुरा–रुबेला प्रकोप

फागुन ६ मा बेनीघाट–६ बुमराङमा ४ बालबालिकामा दादुरा–रुबेला पुष्टि भएको थियो । त्यस्तै छिमेकी गजुरी गाउँपालिकाका ३ र ४ नम्बर वडामा यसै साता संक्रमण देखिएको छ । ६ महिने शिशुदेखि ३४ वर्षीय युवकसम्म प्रभावित छन् ।

प्रकोप रोक्न बुधबारदेखि बल्ल खोप कार्यक्रम सुरु गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयले बेनीघाट–रोराङ र गजुरी गाउँपालिकामा पुन: दादुरा–रुबेला खोप कार्यक्रम सञ्चालन गरेको हो ।

६ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई लक्ष्यित खोप कार्यक्रम वैशाख २३ सम्म जारी रहने स्वास्थ्य कार्यालयका खोप अधिकृत श्याम पोखरेलले बताए । बेनीघाटमा १३ हजार र गजुरीमा ८ हजार ७ सय ७९ जनालाई खोपसँगै जुका र भिटामिन ए क्याप्सुल पनि दिइनेछ ।

दादुराले वडा नं ६ की २९ महिने बालिका अनिशा र वडा नं ४ का आठमहिने शिशु सुशान्त चेपाङको मृत्यु भएको बेनीघाट गाउँपालिकाका स्वास्थ्य प्रमुख शंकरबाबु दुवाडीले बताए ।

सबैभन्दा बढी तार्केटार, बुङपुङ, भुमेडाँडा, वुमराङ, सोलडाँडा, रोतेस, रुदिङ, जरुङमा प्रकोप फैलिएको उनले जानकारी दिए ।

२०७४ मंसिर १६ गते धादिङलाई आधारभूत खोप सुनिश्चित जिल्ला घोषणा गरिएको थियो । यसका लागि सरकारले तत्कालीन ५५ गाविसलाई ५० हजारका दरले बजेट पठाएको थियो । गैससले पनि करोडौं लगानी गरेका थिए । तर, विकट चेपाङ बस्तीका बालबालिकाले अनिवार्य लगाउनुपर्ने खोप नै पाएनन् ।

गत १७ गते छोरी अनिशालाई गुमाएकी सोल्टीमायाले भनिन्, ‘हाम्रा आमाले पनि कुनै सुई लगाएनन्, मैले पनि लगाइनँ, छोरीहरूलाई पनि लगाएन । ३० वर्षीया सोल्टीमाया ६ सन्तानकी आमा हुन् । छोरीहरू १४ वर्षीया अनिता र ७ वर्षीया कविता पनि दादुराले ग्रस्त छन् ।

‘खोप नलगाएकै कारण हरेक वर्ष यस भेगमा दादुरा फैलिन्छ, विकट बस्तीमा शिशुहरूको मृत्यु हुन्छ, कतै अत्तोपत्तो हुँदैन,’ स्थानीय शिक्षक तिलक चेपाङले भने ।

जिल्लामा सबैभन्दा बढी चेपाङ बेनीघाटमै छन् । वडा नं ६ का ५ सय घरधुरीमध्ये साढे तीन सयजति चेपाङकै रहेको वडाध्यक्ष देवकृष्ण आलेले वताए । ‘चेपाङ बस्तीमा हालसम्म कुनै खोपसेवा सञ्चालन नगरिएकाले हरेक वर्ष दादुरालगायत महामारी भइरहन्छ,’ उनले भने ।

बेनीघाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण भट्टराईले दादुरा फैलिएपछि मात्रै करिब २ सय जनालाई खोप दिइएको बताए । लकडाउन सकिएपछि घुम्ती शिविर सञ्चालन गरेर छुटेका ५ वर्षमुनिका बालबालिकालाई आधारभूत खोपसेवा दिइने उनको भनाइ छ ।

प्रकाशित : वैशाख २०, २०७७ ११:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?