कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नुवाकोट भैरवीको सिन्‍दुरे जात्राको खट उठेन

कृष्ण थापा

नुवाकोट — कोरोना भाइरस (कोभिड १९)का कारण यस वर्ष चैत्र शुक्लपूर्णिमा जालपादेवी मन्दिरमा लगिने भैरवीको खट उठ्न सकेन । स्थानीय प्रशासनले जात्रा गर्न रोक लगाएपछि सिन्दुरे जात्राको लागि गत बिहिबार चैत्र शुक्ल नवमीमा सिन्दुरे जात्राको अक्षता उठाउने कार्य रोकिएपछि देवीको विधि रोकिएको थियो । 

नुवाकोट भैरवीको सिन्‍दुरे जात्राको खट उठेन

चैत्र शुक्ल नवमीमा अक्षता उठाउने कार्य र बुधबार देवीको खट उठाउने कार्य रोकिएको राजप्रतिनिधि एवं नुवाकोट मौला अमाल प्रमुख द्वारे महेन्द्रकुमार शाहीले जानकारी दिए ।


लिच्छविकालीन शक्तिशाली देवी नुवाकोटकी भैरवीदेवीको सिन्दुरे (भैरवी वर्ष बन्धन) अवसरमा चैत्र शुक्ल पूर्णिमाबाट हुने जात्रा रोकिएको शाहीले बताए ।


यसअघि भैरवीको सिन्दुरे जात्रा २०११ सालमा राजा त्रिभुवनको निधन भएपछि एक वर्ष रोकिएको थियो । जात्रा स्थगित भएको यो दोस्रो पटक हो ।

भैरवीको खट बोक्न सूर्यगढी गाउॅपालिका १ लच्याङका गुठियार आउने गरेका थिए । भिडभाडले कोरोनाको संक्रमण हुन नदिन जात्रा रोकिएको प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले बताए ।

विदुर नगरपालिका २ स्थित पुरानो सदरमुकाम भैरवीथानमा चैत्र शुक्ल चतुर्दशीको दिन धार्मिक विधि अनुसार बुढी भैरवी र भैरवीथानमा लिंगोसमेत उठेन । बिहिबार भैरवीको मुकुटलाई खटमा राखेर पूजा सुरुवात गर्दै धामी र धमिनीसहित नगरपालिकाको वडा नं ५ मा रहेको बहिनी जालपादेवी मन्दिरमा लैजाने गरिन्छ । खट सूर्यगढी गाउॅपालिका १ लच्याङका गुठियार लच्याङवासीले पुर्खौदेखि बोक्दै आएका थिए ।

चैत्र पूर्णिमाको दिन खटलाई जलपादेवी मन्दिर पुर्याउने र द्वादशीको दिन नुवाकोटको भैरवीथान मुनि धरमपानी पार्टी ल्याइ भोलिपल्ट भैरवीथानमा पूजाआजा गरेर राजप्रतिनिधि एवं नुवाकोट मौला अमाल प्रमुख द्वारे शाहीले धामी र धमिनीलाई सिन्दुर छर्केपछि सिन्दुरे जात्रा सुरु भएको मानिन्छ ।

प्रकाशित : चैत्र २६, २०७६ २०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?