कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हेटौंडाका खाद्य, दाना र दुग्ध उद्योग आंशिक रूपमा खुल्ला

प्रताप विष्ट

हेटौंडा — लकडाउनको अवस्थामा पनि सरकारले अत्यावश्यक उद्योगको उत्पादन पूर्ण क्षमताका साथ सुचारु गराउने भने पनि यहाँका उद्योग संचालन हुन सकेका छैनन् ।

हेटौंडाका खाद्य, दाना र दुग्ध उद्योग आंशिक रूपमा खुल्ला

हेटौंडा औधोगिक क्षेत्र भित्र रहेका १ सय ११ वटा उद्योगमध्ये २० वटा उद्योग आशिंक रूपमा संचालन भइरहेका छन । ठूला उद्योगको रूपमा रहेका भ्याली पेलेट फिड इन्डस्ट्रिज, सिद्धार्थ पेलेट फिड इन्डस्ट्रिज, खाद्य उद्योग र हेटौंडा दुग्ध वितरण आयोजना आंशिक संचालनमा आएका छन् ।

भ्याली पेलेट फिड इन्डस्ट्रिजको १ सय १० जना कामदारमध्ये ३५ जना मात्रै आएर उद्योग संचालन गरिरहेका छन् भने सिद्धार्थ पेलेट इन्डस्ट्रिजका ६५ जनामा ३२ जनाले काम गरिरहेका छन्। यसैगरी हेटौंडा दुग्ध वितरण आयोजनाका १ सय २० जनामध्ये ६० जनाले काम गरिरहेका छन् भने खाद्य उद्योगमा २६ जनालेमात्र काम गरिरहेका छन् । उद्योगहरु एक सिफ्टमात्र चलिरहेका छन् । ‘सिंगो कामदारको हिसाबले ६- ७ प्रतिशतमात्र मजदुर उपस्थित भएर उद्योग संचालन भइरहेका छन,’ उद्योग संघ मकवानपुरका अध्यक्ष लेखराज पोखरेलले भने, ‘औधोगिक क्षेत्र र बाहिरका ठूला उद्योग संचालन हुन सकेका छैनन् ।’

औधोगिक क्षेत्र भित्रका उद्योगमा ५ हजार मजदुर कार्यरत छन् । सरकारले उद्योगमा कार्यरत मजदुरहरूलाई उद्योग भित्र नै आवासको व्यवस्था गर्नुपर्ने शर्त राखेकाले उद्योग संचालन गर्न कठिनाई भएको उद्योग व्यवस्थापनले जनाएको छ । युनिलिभर लिमिटेडका व्यवस्थापकले उद्योग संचालन गर्ने रुची देखाएका थिए । उद्योगमा रहेका मजदुरलाई उद्योग भित्र आवास र खानपिनको व्यवस्था गर्नुपर्ने भएपछि उद्योग संचालनमा ल्याएका छैनन् ।

औधोगिक क्षेत्रभित्र रहेका दुग्ध, साबुन, कुकिज, दाना र प्लास्टिक प्याकेजिङ उद्योगहरू आंशिक रूपमा सञ्चालनमा रहेको कार्यालय प्रमुख राजेन्द्र कँडेलले बताए । उनका अनुसार औद्योगिक क्षेत्रभित्रका उद्योगले दैनिक मुनाफा गर्ने करिब ३० करोड रुपैयाँ क्षति व्यहोरिरहेका छन् । सरकारलाई बुझाउने राजश्वलाई हेर्दा औसतमा एउटा उद्योगले मासिक ३ करोड ३० लाख रुपैयाँ बराबरको कारोबार गर्ने उनको भनाइ छ ।

उनका अनुसार हाल सञ्चालनमा रहेका अधिकांश उद्योग पनि बिहान मात्र चलिरहेका छन् । ‘रातिको सिफ्टमा मजदुर आउजाउमा समस्या भएकाले बिहान र दिउँसोमा मात्र उद्योग सञ्चालन गर्न उद्योगी बाध्य भएका हुन्,' उनले भने ।

कोरोना भाइरस संक्रमणका कारण कच्चा पदार्थ आयात र बजारीकरणमा प्रभाव परेको भन्दै उद्योग संघ हेटौंडाका अध्यक्ष पोखरेलले सरकारले बैंकको ब्याज छुट तथा किस्ता तिर्ने मिति थप गर्नुपर्ने माग गरेका छन् । औद्योगिक क्षेत्रभित्र दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने मजदुर पनि भोकमरीको अवस्था सिर्जना भएसँगै घर फर्किएको श्रमिकहरूले बताएका छन् । दैनिक ज्यालादारी गरेर गुजारा गर्दै आएका पर्सा, बारा, रौतहटलगायत तराईका अधिकांश मजदुर पैदलै घर फकिसकेका छन् ।

प्रकाशित : चैत्र २६, २०७६ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?