कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पाँच बालकसहित सात जना कैदमुक्त

प्रताप विष्ट

(हेटौंडा) — कोरोना भाइरस (कोभड–१९) संक्रमणको सम्भावित जोखिमलाई ख्याल गर्दै थोरै कैद भुक्तानी गर्न बाँकी रहेका पाँच बालकसहित सात जनालाई मकवानपुरले जिल्ला अदालतले जेलबाट मुक्त गर्ने आदेश दिएको छ । 

सवारी ज्यान र लागुऔषध, बालबिज्याइँको आरोपमा कैद भुक्तात गरिरहेका पाँच जना बालकहरुलाई बाँकी कैद मिनाहा गर्नेगरी न्यायधीश दिल्लीरत्न श्रेष्ठको इजलाशले छोडेको स्रेस्तेदार केशवराज कौशिकले जानकारी दिए । ‘बालक भएका कारणले उनीहरुलाई बाँकी रहेको कैदको रकम भुक्तानी गर्न लगाइएन,’ उनले भने ।

बहुविवाह गरेको ठहर गर्दै अदालतले एक वर्ष कैद र १५ हजार रुपैयाँ जरिवाना गर्ने फैसलाअनुरुप हेटौंडा उपमहानगरपालिका–१८ का अजय स्याङ्तान कारागारमा थिए । उनले कैद भुक्तानी गर्नुपर्ने तीन महिना बाँकी थियो । त्यही तीन महिनाको २७ हजार र फैसलाअनुरुप १५ हजार रुपैयाँ जरिवाना तिरेर जेलबाट छुटकारा पाएका छन् ।

त्यसैगरी, हेटौंडा–१ का सुरज केशरी पनि जेलबाट मुक्त भएका छन् । बालयौन दुरुपयोगमा उनी जेल परेका थिए । कैद भुक्तानी गर्न उनले एक महिना १९ दिनमात्र बाँकी थियो । बाँकी कैद बराबरको रकम तिरेर उनी पनि जेलमुक्त भएका हुन् ।

विपद्को विषम परिस्थितिमा कारागारमा रहने कैदीबन्दीको भीडभाड कम गर्ने प्रयोजनार्थ मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १५५ अनुसारको कैदवापत रकम लिई कैद मिनाहा गरिएको हो । अदालतले एक वर्षभन्दा कम कैद सजाय तोकिएका, आचरण राम्रो भएका र कैद भुक्तानी थोरै भएकालाई आवश्यक प्रक्रिया पुर्‍याएर अदालतको आदेशबाट जेलमुक्त गरिएको कारागारले जनाएको छ ।


प्रकाशित : चैत्र १८, २०७६ १७:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?