कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोना नियन्त्रण कोषमा ४० करोड थप्‍ने वाग्मती प्रदेश सरकारको निर्णय

सुवास विडारी

(मकवानपुर) — वाग्मती प्रदेश सरकारले कोरोना नियन्त्रणका लागि स्थापना गरेको कोषमा थप ४० करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको बैठकले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा ४० करोड रुपैयाँ थप्ने निर्णय गरेको हो । आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेलका अनुसार १० करोड रुपैयाँको कोष अब ५० करोड रुपैयाँको हुनेछ ।

प्रदेशका प्रत्यक्ष निर्वाचन तर्फका ६६ वटै निर्वाचन क्षेत्रमा प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्यको संयोजकत्वमा समानुपातिक सदस्य, स्थानीय तहका जनप्रतिनिधि, राजनीति दलको प्रतिनिधित्व गराइने अनुगमन समिति बनाउने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ ।


प्रदेश मन्त्रिपरिषदको यसअघिको बैठकले कोरोना भाइरस संक्रमण, नियन्त्रण तथा उपचार सहयोग कार्यविधि २०७६ स्वीकृत गरी महानगरपालिकालाई २० लाख रुपैयाँ, उपमहानगरपालिकालाई १५ लाख रुपैयाँ, नगरपालिकालाई १२ लाख रुपैयाँ र गाउँपालिकालाई १० लाख रुपैयाँ सहायता उपलब्ध गराउने निर्णय गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री जम्कट्टेलले जानकारी दिए । मन्त्री जम्कट्टेलका अनुसार जिल्ला विपद् व्यवस्थापन समितिलाई पाँच लाख रुपैयाँ पनि सोही कोषबाट उपलब्ध गराउने निर्णय गरिएको छ । सो रकम कोरोना संक्रमण रोकथाम एवं उपचार, आइसोलेसन तथा क्‍वारेन्टाइन निर्माण, मेडिकल सामग्री खरिद, विपन्न परिवारलाई राहतका लागि स्थानीय सरकारले खर्च गर्न सक्नेछन् ।


वाग्मती प्रदेशले कोभिड १९ को पहिचान रोकथाम, परीक्षण तथा उपचारका लागि १३ वटै जिल्लालाई तयारी अवस्थामा राखेको छ । वाग्मती प्रदेशमा काठमाडौंबाहेकका जिल्लामा सोमबारसम्म ५४० वटा आइसोलेसन वेड तयार भएका छन् । रसुवामा ३५, नुवाकोटमा ९, धादिङमा ३८, दोलखामा ४८, सिन्धुलीमा २३, सिन्धुपाल्चोकमा १७, काभ्रेमा २१, चितवनमा ११३, मकवानपुरमा ६, ललितपुरमा १४६ रामेछापमा ४८ र भक्तपुरमा २५ गरी ५४० आइसोलेसन वेड तयार रहको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । ती जिल्लामा ८१ वटा अस्पताल रहेका छन् । ती १२ वटा जिल्लाले आइसोलेसन कक्ष, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र पीपीइ, सरसफाइ र डिस्इन्फेक्सनसम्बन्धी सामान प्रदेश र संघबाट अपेक्षा गरेका छन् ।

हालसम्म १६८ जना शंकास्पद बिरामीलाई व्यवस्थापन गरिएको सो मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार धादिङमा २८ जना, काभ्रेमा १० , चितवनमा १०८ र ललितपुरमा १८ जना शंकास्पद बिरामीलाई व्यवस्थापन गरिएको छ । तीमध्ये ३४ जना शंकास्पद बिरामीको आइतबार व्यवस्थापन गरिएको थियो । काभ्रेमा १४ जना र ललितपुरमा ६ जना कोभिड १९ का शंकास्पद बिरामी छन् । नुवाकोटमा ५०, सिन्धुलीमा १०५, सिन्धुपाल्चोकमा १२, ललितपुरमा ५५ गरी २२२ वटा पीपीई छन् ।

प्रकाशित : चैत्र १८, २०७६ १५:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?