कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मकवानपुरमा विदेशबाट फर्केका ३०१ जना होम क्‍वारेन्टाइनमा

सुवास विडारी

मकवानपुर — मकवानपुर जिल्लामा विदेशबाट फर्किएका सबैलाई उच्च निगरानीमा राखिएको छ । चैत महिनामा मात्र मकवानपुर जिल्लामा विभिन्न देशबाट फर्किनेको संख्या ३ सय १ रहेको  छ । विभिन्न देशमा कामका लागि काम, अध्ययन एवम् अन्य प्रयोजनका लागि गएर फर्किएकाहरूमाथि उच्च निगरानी भइरहेको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।

मकवानपुरमा विदेशबाट फर्केका ३०१ जना होम क्‍वारेन्टाइनमा

चैत १६ गतेसम्मको तथ्यांकअनुसार सबैभन्दा बढी विदेशबाट फर्कनेको संख्या हेटौंडा उपमहानगरपालिकामा छ भने सबैभन्दा कम राक्सिराङ गाउँपालिकामा रहेको छ । हेटौंडा उपमहानगरपालिका क्षेत्रमा विदेशबाट आएकाहरूको संख्या १ सय २८ रहेको छ भने थाहा नगरपालिकामा ६७ रहेको छ । कैलाश गाउँपालिकामा ५, इन्द्रसरोवरमा १६, भीमफेदी गाउँपालिकामा १२, मनहरी गाउँपालिकामा ४८, राक्सिराङ गाउँपालिकामा १, मकवानपुरगढी गाउँपालिकामा ५, बकैया गाउँपालिकामा ५ र बाग्मती गाउँपालिकामा ११ जना विदेशबाट फर्केर आएका छन् ।

विदेशबाट आएका सबै ३ सय १ जनाको नै प्रारिम्भक स्क्रिनिङ गरिएको र उनीहरूको स्वास्थ्य अवस्था समान्य रहेको छ । प्रशासनका अनुसार चैत १६ गतेसम्म हेटौंडा नगरमा रहेका २ जना आइसोलेसनमा छन् भने बाँकी होम क्वारेन्टाइनमा छन् । वागमती गाउँपालिकाका एकजना काठमाडौंमा क्वारेन्टाइनमा बसेर आएका छन् । बाँकी सबै होम क्वारेन्टाइनमा रहेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले बताए ।

विदेशबाट फर्किएका प्रायः सबै होम क्वारेन्टाइनमा रहेकाले प्रशासनले होम क्वारेन्टाइनमा निगरानी बढाउने निर्णय समेत गरेको छ । होम क्वारेन्टाइनमा बसेकाहरू सामान्य अवस्थामा झैं हिँडडुल गरेको गुनासो स्थानीयहरूले प्रशासन, सुरक्षा निकायसँग गरेकाले निगरानी बढाउन लागिएको जनाइएको छ ।

‘हामीले चैत महिनाभित्रमा गाउँपालिकामा आएकाहरूको तथ्यांक संकलन गरी उनीहरूको दैनिक स्वास्थ्य परीक्षण समेत गरिरहेका छौं । गाउँपालिकामार्फत् उनीहरूको स्वास्थ्य परीक्षणको काम अगाडि बढाएको छौं’, प्रजिअ नेपालले भने । स्वास्थ्य अवस्था सामान्य भएकै कारण होम क्वारेन्टाइन बस्न दिइए उनले बताए । ‘घरमा पनि छुट्टै कोठामा बस्ने गरी व्यवस्था मिलाएका छौं’, उनले थपे ।

हेटौंडाको क्वारेन्टाइन र आइसोलेसनमा चारजना

हेटौंडामा रहेका क्वारेन्टाइन र आइसोलेसनमा गरी चार जनालाई राखिएको छ । हेटौंडा–४ स्थित कर्रामा रहेको आइसोलेसन र एकेडेमीमा रहेको क्वारेन्टाइनमा गरी चारजना राखिएको छ । कर्रामा रहेको आइसोलेसन वार्डमा २ र क्वारेन्टाइनमा एक जना र एकेडेमीमा रहेको क्वारेन्टाइनमा एक जना रहेको स्वास्थ्य निरीक्षक एवम् आइसोलेसन वार्ड इञ्चार्ज भोला चौलागाईंले जानकारी दिए । आइसोलेसन र क्वारेन्टाइनमा रहेकाहरूले स्वाब परीक्षणको काम अघि बढेको छ ।

उनका अनुसार क्वारेन्टाइन र आइसोलेसनमा बसेकाहरू सबै पुरुष छन् । सेल्फ क्वारेन्टाइनमा रहेका हेटौंडाका एक चिकित्सकलाई भने कोरोना नरहेको पुष्टि भएको छ । सेल्फ क्वारेन्टाइनमा रहेका ती चिकित्सकको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको चौलागाईंले बताए । क्वारेन्टाइनमा विदेशबाट आएका र कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका शंकास्पद बिरामीहरूलाई ल्याएर निगरानीमा राख्ने, स्वाब परीक्षणका लागि पठाउने र उपचार गर्ने जनाइएको छ ।

प्रकाशित : चैत्र १७, २०७६ ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?