कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अन्तर्राष्ट्रियस्तरको ‘हेल्थ डेस्क’ निर्माणपछि तातोपानी नाका खुलाइने

–तत्काललाई औषधि र अत्यावश्यक सामग्री मात्र आयात हुने
–जाँचपासमा संलग्न सबै कर्मचारीका लागि विशेष प्रकारको ‘कोरोना प्रतिरोधी कपडा’को व्यवस्था गरिने
–वारपार गर्नेको दुवैतर्फ स्वास्थ्य परीक्षण हुने
अनिश तिवारी

(सिन्धुपाल्चोक) — कोरोना भाइरस (कोभीड–१९) संक्रमण सम्भावित जोखिमलाई ध्यानमा राख्दै बन्द गरिएको चीन जोड्ने तातोपानी नाका अन्तर्राष्ट्रिय स्तरको ‘हेल्थ डेस्क’ स्थापना गरी खुलाइने भएको छ ।

अन्तर्राष्ट्रियस्तरको ‘हेल्थ डेस्क’ निर्माणपछि तातोपानी नाका खुलाइने

शनिबार जिल्ला प्रशासन, भन्सारदेखि जनप्रतिनिधि, सुरक्षाकर्मीबीचको वृहत छलफलपछि तातोपानी नाकालाई आवश्यक सबै तयारीपछि मात्रै सुरक्षित रुपमा सञ्चालनमा ल्याइने निर्णय भएको हो । गत बुधबार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले तातोपानी नाका खुलाउने निर्णय गरेको थियो ।


स्वास्थ्य परीक्षणको आवश्यक सबै व्यवस्था गर्नेगरी तीन बुँदे निर्णय गर्दै नाका खुलाउन लागिएको भोटेकोसी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले बताए । ‘विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिमको हेल्थ डेस्क स्थापना, परीक्षण र झिुर्पुमा व्यवस्थित आइसोलेसन कक्ष बनाउने निर्णय गरेका छौं, यसको तयारीस्वरुप नाकाक्षेत्रमा शनिबारबाटै काम सुरु भइसकेको छ,’ उनले भने ।


तातोपानी नाकाबाट तत्काललाई औषधि र अत्यावश्यक सामग्री मात्र आयात हुने तथा यस्ता सामग्री सम्पूर्ण परीक्षण सकेर मात्रै ल्याएको हुनुपर्ने निर्णय पुस्तिकामा उल्लेख छ । उनका अनुसार नाका सञ्चालनका लागि यहाँका सम्पूर्ण व्यवासायीसँग थप प्राविधिक विषयमा छलफल गरिनेछ । ‘नाका खुलाउन आवश्यक तयारी गर्दैछौं, यसलाई संवेदनशील रुपमा लिएका छौं,’ तातोपानी नाका संञ्चालन, व्यवस्थापन तथा कोरोना भाइरस रोकथाम समितिका अध्यक्षसमेत रहेका पौडेलले भने ।


२०७२ को भूकम्पपछि बन्द तातोपानी नाका चार वर्षपछि यसै वर्ष खुलाइएको थियो । चीनको वुहानबाट कोरोना भाइरसको संक्रमण फैलिएलगत्तै सम्भावित जोखिम कम गर्न माघ १५ मा नाका बन्द गरिएको थियो ।


‘डिस–इन्फेक्टेन्ट’ छरेर मात्रै जाँचपास

चीनबाट आएका सामाग्रीलाई ‘डिस–इन्फेक्टेन्ट’ छरेर मात्रै जाँचपास गरिने समेत निर्णय भएको छ । ७२ देखि ७४ घण्टाको बीचमा पुन: किटनाशक औषधि छर्किएपछि मात्रै सामान भित्र्याउने प्रक्रिया अघि बढाइने पौडेलले बताए ।


‘तातोपानी नाका खुलेलगत्तै जाँचपासमा आवश्यक सबै मेडिकल प्रोटोकलको पालना गरिनेछ,’ तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत लालबहादुर खत्रीले भने । उनका अनुसार आयातनिर्यातका क्रममा मितेरी पुलको दुवै छेउमामा सवारी चालकको अनिवार्य स्वास्थ्य परीक्षण गरिनेछ । ‘यसले गर्दा संक्रमण फैलने डर हुँदैन,’ उनले दाबी गरे ।


जाँचपासमा संलग्न सबै कर्मचारीका लागि विशेष प्रकारको ‘कोरोना प्रतिरोधी कपडा’को व्यवस्था गरिएको पनि उनको भनाइ छ । तातोपानी नाका खुलाउने आन्तरिक तयारी भइरहँदा सीमाबासी बीचमा भने नाका खोल्न हुने र नहुनेमा मत विभाजन भएको स्थानीय व्यवसायी सेते श्रेष्ठले बताए ।


दुवैतर्फ हेल्थ डेस्क

नाका हुँदै वारपार गर्ने सबैको स्वास्थ्य परीक्षणका लागि नेपाल र चीन दुवैतर्फ विशेष स्वास्थ्य टोली (हेल्थ डेस्क) तयारी अवस्थामा राखिएको छ । स्वास्थ्य परीक्षणसँगै सीमा सुरक्षामा दुवैतर्फ सतर्कता अपनाइएको सीमास्थित सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक हरिबहादुर थापाले बताए । ‘चीन पक्षले पनि स्वास्थ्य परीक्षणको मितेरी पुलछेउमा एउटा टिम राखेको छ,’ उनले भने ।


प्रकाशित : चैत्र १५, २०७६ २२:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?