कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मकवानपुरमा विदेशबाट फर्किएका २ सय ५३ निगरानीमा

सुवास विडारी

मकवानपुर — मकवानपुर जिल्लाका स्थानीय तहहरुले विभिन्न देशबाट आएकाहरुको तथ्यांक सकंलन गरिरहेका छन् ।

मकवानपुरमा विदेशबाट फर्किएका २ सय ५३ निगरानीमा

मकवानपुरका दशवटै स्थानीय तहले विश्वव्यापीरुमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) विरुद्ध उच्च सावधानी अपनाउनका लागि विदेशबाट फर्किएकाहरुको छुट्टाछुट्टै तथ्यांक संकलन गरी उनीहरुमाथि निगरानी समेत बढाइरहेको जनाएका छन् ।


जिल्लामा हालसम्म संकलन गरिएको तथ्यांकअनुसार २ सय ५३ जना विदेशबाट फर्किएको भेटिएका छन् । उनीहरुलाई उच्च निगरानीमा राखिएको जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले जानकारी दिए । जिल्ला समन्वय समिति मकवानपुरका अधिकृत भीमलाल महर्जनका अनुसार विदेशबाट आएका सबैजना स्थानीय तहको स्वास्थ्य संयोजक तथा स्वास्थ्यकर्मीको निगरानीमा होम क्वारेन्टाइनमा रहेका छन् ।


मकवानपुर जिल्लामा सबैभन्दा बढी हेटौंडा उपमहानगरपालिकामा १ सय २२ जना विदेशबाट आएको पाइएको अधिकृत महर्जनले बताए । स्थानीय जनप्रतिनिधि र स्थानीय सर्वसाधारणको सूचनाका आधारमा विदेशबाट आएका जिल्लाबासीको तथ्यांक संकलन गरिएको हो । उनका अनुसार मनहरी गाउँपालिकामा ४२ जना, थाहा नगरपालिकामा ३६ जना, इन्द्रसरोवर गाउँपालिकामा १६ जना, भीमफेदी गाउँपालिकामा १२ जना, बागमती गाउँपालिकामा ११ जना, मकवानपुरगढी र कैलाश गाउँपालिकामा ५/५ जना, बकैया गाउँपालिकामा ३ जना र राक्सिराङ गाउँपालिकामा १ जना विदेशबाट आएका नागरिक निगरानीमा रहेका छन् ।


विद्यालय अस्पतालमा परिणत

वाग्मती प्रदेश सरकारले हेटौंडा–४, कर्रास्थित श्रमिक माविको नवनिर्मित भवनमा आइसोलेसन कक्ष तयार पारेको छ । भेन्टिलेटरसहित ४ शैय्याको आईसीयु कक्षसहित ३० शैय्याको आइसोलेसन कक्ष तयार भएको हेटौंडा अस्पतालका प्रमुख डा. प्रवीण श्रेष्ठले जानकारी दिए ।

कोरोना भइरसको संक्रमणको आशंका भएका विरामीलाई आइसोलेसनमा राखेर उपचारसमेत गर्ने सुविधा तयार भएको डा. श्रेष्ठको भनाइ छ । उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीको व्यक्तिगत सुरक्षाका लागि लगाइने पोशाक दुई थानसहित सबै तयारी पूरा भएको डा. श्रेष्ठले बताए ।


प्रदेश सरकारले नेपाली सेना, नेपाल प्रहरी र हेटौंडा अस्पतालको सहयोगमा उक्त विद्यालयको निर्माणाधिन नौ कोठे भवनमा आइसोलेसन वार्ड निर्माण गरेको हेटौंडा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रकाश पौडेलले जानकारी दिए । ‘हेटौंडाका निजी मेडिकलहरुको पनि सहयोग हामीले लिएका छौं । थप आवश्यक सामग्रीहरु छिमेकी जिल्लाबाट माग गरेका छौं,’ उनले भने ।


उनका अनुसार विद्यालयमा निर्माणाधीन १३ वटै भवन आइसोलेसन निर्माणका लागि तयारी अवस्थामा राखिएको छ । ‘विरामीको पहिलो परीक्षण हेटौंडा अस्पतालमा हुनेछ । प्राथमिक उपचारको क्रममा शंका लागेको खण्डमा हामी विद्यालयको आइसोलेसन वार्डमा राख्ने छौं,’ अध्यक्ष पौडेलले भने ।

प्रकाशित : चैत्र १५, २०७६ १३:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?