कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चितवनका चिकित्सकले फोनबाटै दिन्छन् परामर्श

रमेशकुमार पौडेल

चितवन — कोरोना भाइरस (कोभिड–१९)को संक्रमण भएको आशंका छ ? कुनै मिल्दो जुल्दो लक्षण तपाईं वा कसैमा देखियो ? यो बेला के गर्ने भन्ने अन्योलामा हुनुहुन्छ ? तपाईं चितवन वा आसपासमा बस्नु हुन्छ भने तत्कालै कुनै स्वास्थ्य संस्था नगए पनि यसका बारेमा उचित सल्लाह पाउन सक्‍नुहुनेछ । यस्ता आशंकाहरु निवारण गर्न चितवनका चिकित्सकहरुले फोनबाटै परामर्श दिन थालेका छन् ।

चितवनका चिकित्सकले फोनबाटै दिन्छन् परामर्श

यसका लागि चितवनका विशेषज्ञ चिकित्सकहरुको मोबाइल फोन नम्बर सार्वजनिक भएको छ । भरतपुरमा हालै तयार भएको कोरानो विशेष अस्थायी अस्पतालको व्यवस्थापन समितिका संयोजकसमेत रहेका भरतपुर अस्पतालका चिकित्सक डा.भोजराज अधिकारीका अनुसार रुघाखोकी लाग्दैमा धेरैजना आत्तिने गर्छन् । त्यसैले कस्ता व्यक्ति अस्पताल आउन आवश्यक हुन्छ भन्ने जानकारी दिन यो प्रबन्ध गरेको उनले बताए ।

भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपेरिटेन्डेन्ट डा.श्रीराम तिवारीले जारी गरेको सूचनामा ९८५५०५५६६६, ९८५५०७४६५६, ९८५११४३२९६, ९८५५०५९०८८, ९७४१०४८७८५ र ९८५१०७६०४३ नम्बरहरु रहेका छन् । यी नम्बरहरुमा रुघा, खोकी, ज्वरो आएका बिरामीहरुले सम्पर्क गरेर परामर्श लिन सक्‍नेछन् । क्यान्सर अस्पतालले पनि सूचना निकालेर आकस्मिक बाहेकका सेवाहरु केही समयपछि लिन अनुरोध गरेको छ ।


‘रुघा, खोकी, ज्वरो आउँदैमा कोराना हुँदैन । के हो भनेर सही सल्लाह दिन चिकित्सकका नम्बरहरु सार्वजनिक गरेका छौं । बिरामीको लक्षण र अवस्था सुनेपछि अस्पताल आउनपर्ने वा नपर्ने भन्ने कुराको निधो हुन्छ’ डा.अधिकारीले भने । अहिले मौसमी रुघाखोकी र ज्वरो आउने बेला पनि हो । यसैलाई धेरैले कोरोना भयो कि भनेर आत्तिने गरेका उनले बताए ।


‘रुघा, खोकी, ज्वरो आएको अवस्थामा कोरानाको परीक्षण गर्न पर्ने वा नपर्ने भनेर फोनमा विशेषज्ञ चिकित्सहरुले बताइरहनु भएको छ’ डा.अधिकारीले भने । भरतपुरमा कोरोना विशेष अस्पताल शुक्रबारबाट तयार भएको हो । अस्पतालमा अहिलेसम्म तीनजना आएका छन् । तीमध्ये दुईजनालाई कोरोना परीक्षण गर्नु पर्ने अवस्था रहेन । एकजनामा भने शंका देखेर परीक्षणको लागि नमुना काठमाडौं पठाउने व्यवस्था गरेको डा.अधिकारीले बताए ।


कोरोना विशेष अस्थायी अस्पतालका साथै भरतपुरको सरकारी अस्पतालमा पनि आइसोलेसन वार्ड छ । १९ बेडको आइसोलेसन वार्ड पनि चालु नै रहेको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए । भरतपुर अस्पतालले माघ १८ गते नै पाँच बेडको आइसोलेसन वार्ड बनाएको थियो । फागुन २९ गतेदेखि बेड संख्या बढाएर १९ पुर्‍याइएको हो । वार्डलाई थप व्यवस्थित बनाएको सूचना अधिकारी पौडेलले बताए ।


चितवनमा भरतपुर अस्पताल मार्फत अहिलेसम्म कोरोना भाइरस कोभिड–१९ को संक्रमण भएको आशंकामा पटकपटक गरेर चारजना व्यक्तिको नमुना परीक्षणका गर्न काठमाडौं पठाइएको थियो । जसमा कुनैमा पनि संक्रमण नभेटिएको अस्पतालले जनाएको छ । अस्पतालहरुले कोरोना बाहेक अन्य रोगहरुका बिरामीको चाप व्यवस्थापन गर्न विभिन्न तयारीहरु सुरु गरेका छन् ।


सात सय शय्या रहेको भरतपुरको सरकारी अस्पतालमा उपचार गराउन भन्दै सामान्य अवस्थामा दिनमै १४ सयजनाको हाराहारीमा बिरामीहरु आउने गर्दथे । अहिले पनि यो संख्या खासै घट्‍न नसकेको छैन । स्वास्थ्य बीमा मार्फत हुने होलबडी चेकअप र अन्य ऐच्छिक स्वास्थ्य परीक्षणहरु केही समयपछि गर्न अनुरोध गर्दै भरतपुर अस्पतालले सूचना निकालेको छ । आकस्मिक बाहेकका शल्यक्रिया पनि केही समयपछि गर्न भनेको छ ।


अस्पतालका प्रमुख मेडिकल सुपेरिटेन्डेन्ट डा.श्रीराम तिवारीले निकालेको सूचनामा आकस्मिक अवस्थामा बाहेक अन्य अवस्थामा अस्पताल नआउन भनिएको छ । अस्पतालमा कोही बिरामी भर्ना भएर बस्नुपर्ने भए कुरुवाका रुपमा एकजना मात्रै बस्‍न भनिएको छ । त्यसै गरी भरतपुर अस्पतालले पनि ज्वरो लगायत श्वास फेर्न गाह्रो हुने गरेर रुघा खोकी लागेमा सम्पर्क गर्नुपर्ने अस्पतालका चिकित्सकको फोन नम्बर सार्वजनिक गरेको छ ।

प्रकाशित : चैत्र ८, २०७६ १८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?