कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सडकको नक्सांकन फेरिँदा उठिबास

बजार क्षेत्र पर्ने भन्दै नक्सांकन बदल्न खोजेपछि मदन भण्डारी राजमार्गको रुटबारे अन्योल
राजकुमार कार्की

(सिन्धुली) — कमलामाई नगरपालिका–४ कुमालफाँटका दिलीप चौलागार्इंलाई हिजोआज एउटा चिन्ताले सताएको छ । भूकम्पपछि ऋणधन गरी बनाएको चारकोठे घर राजमार्गमा पर्ने हो कि भन्ने सोचाइले उनी राम्ररी सुत्न सक्दैनन् । ‘सबै जनाले यतैबाट सडक लानुपर्छ भन्छन्, यो एक टुक्रा जमिन र घर पनि देखी नसहने भए,’ उनले गुनासो गरे ।

सडकको नक्सांकन फेरिँदा उठिबास

उनका अनुसार पहिला सडकको नक्सांकन अरूतिरैबाट गरिएको थियो । ‘यता किनेर घर बनाइयो, अहिले फेरि यहीँबाट हुने भयो भन्छन्,’ चौलागाईंले दुःखेसो पोखे ।


उनी मात्र होइन, भूकम्पपछि घर बनाएका इन्द्रबहादुर भण्डारीको गुनासो पनि उस्तै छ । उनी भन्छन्, ‘नेताहरू नै हामीलाई उठिबास लगाएर सुकुम्बासी बनाउन तल्लीन छन्, जताबाट नापेको उतैबाट सडक लगे हुन्छ नि । एकातिरबाट नाप्ने अनि केके भनेर अर्कातिर सार्न खोज्नु न्यायसंगत हुँदैन ।’


थोरै जमिन र बासका लागि घर ठड्याएका दर्जनौं परिवार उठिबास लाग्ने हो कि भनेर चिन्तित छन् । जनप्रतिनिधिहरूले बजार क्षेत्र पर्ने भन्दै सडकको नक्सांकन बदल्न खोजेपछि राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत निर्माणाधीन हेटौंडा–सिन्धुली–चतरा (मदन भण्डारी राजमार्ग) को रुटबारे अन्योल भएको छ । सुरुको सर्भेमा कमलामाई नगरपालिका–६ को धुराबजार हुँदै मिलन चोक, साङवाले, खट्टार जोड्ने गरी राजमार्गको नक्सांकन तथा विस्तृत अध्यन प्रतिवेदन तयार भई ठेक्का लागेको छ ।

राजमार्ग निर्माण गर्दा धुराबजारका केही घरमा क्षति हुने भन्दै त्यस क्षेत्रबाट राजमार्ग निर्माणको रुट परिवर्तन गरी अन्यत्र लैजान जनप्रतिनिधिहरूले सडक आयोजनालाई दबाब दिँदै आएका छन् । संघीय सांसद, प्रदशेसभा सदस्य तथा स्थानीय तहका जनप्रतिनिधिले रुट परिवर्तन गरी सडक निर्माण गर्न लबिइङ गरेको सडक आयोजनाले जनाएको छ । संघीय सांसद हरिबोल गजुरेलको नेतृत्वमा यस क्षेत्रका वाग्मती प्रदेशसभा सदस्य तथा कमलामाई नगरपालिकासहित धुरा क्षेत्रबाट सडक निर्माण गर्दा केही घरमा क्षति हुने भन्दै राजमार्गको नक्सा तथा रुट परिवर्तन गर्न पहल थालेका छन् । सडकको नक्सा परिवर्तनमा चासो देखाएपछि त्यस क्षेत्रका स्थानीयले खेतीयोग्य जग्गा मास्न नदिने बताउँदै आएका छन् ।


दायाँबायाँ सडक बढाउँदा पुग्ने र आफूहरूको खेतीयोग्य जग्गाबाट राजमार्ग लैजान नदिने स्थानीयको भनाइ छ । डीपीआर तयार भई सडक निर्माणको ठेक्का लागेपछि बनेका अधिकांश घर सडकको मापदण्डलाई छोडेरै बनाइएको स्थानीय सन्तोष बोहोराले बताए । धुराबजारको सिरानबाटै हाल कमलामाई नगरपालिकाको कर तथा मालपोत कर तिर्दा मदन भण्डारी राजमार्गको दायाँबायाँ उल्लेख भई सोहीअनुसार स्थानीयले करसमेत तिर्दै आएकाले हाल परिवर्तन गर्छौं भनेर लाग्नु औचित्यहीन हुने अर्का स्थानीय कृष्ण अधिकारीले बताए ।


‘धुरा बजारबाट राजमार्ग निर्माण गर्दा केही घरमा क्षति पुग्ने देखिन्छ, त्यसैले परिवर्तन गर्न पहल गरेका हौं,’ वाग्मती प्रदेश सदस्य विनोद खड्काले भने, ‘हेटौंडा–सिन्धुली–चतरा राजमार्ग निर्माण गर्दा धुरा क्षेत्रमा बढी हुन्छ, विकल्पको खोजी भएको हो ।’ प्रदेशसभा सदस्य खड्काले राजमार्ग निर्माणको विषयमा लामो समयदेखि अन्योल कायम रहेकाले त्यसको निकासको प्रक्रिया सुरु गरेको र विकल्पको रूपमा तत्कालीन हाज्माको २ नं. गेट हुँदै आदर्श टोलबाट साङवाले जोड्ने गरी पहल सुरु भएको बताए ।

प्रकाशित : फाल्गुन १५, २०७६ ०८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?