समयमै काम सक्न ठेकेदारलाई मुख्यमन्‍त्री पौडेलको निर्देशन 

कान्तिपुर संवाददाता

नुवाकोट — वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सडक निर्माण गुणस्तर र समयमै काम सक्‍न ठेकेदारलाई निर्देशन दिएका छन् । बिहीबार शिवपुरी गाउँपालिका ६ स्थित गुर्जेभन्ज्याङ–समुन्द्रदेवी–लिखु पुल–मानेभन्ज्याङ–दुप्चेश्‍वर सडक शिलान्यास गर्दै मुख्यमन्‍त्री पौडेलले उक्त निर्देशन दिएका हुन् । ठेकेदारहरुले योजना अलपत्र पार्ने, सम्झौता अवधिभित्र काम नसक्नेजस्ता समस्या रहेको उल्लेख गर्दै उनले अब त्यसबाट मुक्त हुनुपर्ने बताए । 

मुख्यमन्‍त्री पौडेलले प्रदेशको शिर निहुर्‍याउने गरी काम नगरेको दाबी गरे । ‘वाग्मती प्रदेशको शिर निहुर्‍याउने गरी काम गरेका छैनौं,’ उनले भने, ‘शिर उँचो हुने गरी काम गरेका छौं ।’ प्रदेश सरकारले काम गर्न नसकेको भन्दै पार्टीभित्रैबाट आलोचना भइरहेको बेला पौडेलले खण्डन गरेका हुन् ।


प्रतिनिधि सभा सांसद हितबहादुर तामाङले पनि सडकको गुणस्तरीय काम हुनुपर्नेमा जोड दिए । उनले समान ढंगले व्यवहार गर्न र आवश्यकताका आधारमा कार्यक्रम र बजेट व्यवस्था गर्न मुख्यमन्त्रीलाई आग्रह गरे । ‘समानता र न्यायका साथ खुट्टा नलर्बराइकन मुख्यमन्‍त्रीज्यू अगाडि बढ्नस्’ संघीय सांसद तामाङको आग्रह थियो । सांसद तामाङले ठेकेदार र कर्मचारी जिम्मेवार बन्‍नुपर्ने बताए ।


सडक सञ्‍जालले सबै क्षेत्रलाई विकासको मुहार फेर्ने संघीय सांसद नारायणप्रसाद खतिवडाले बताए ।


वाग्मती प्रदेशका उपसभामुख राधिका तामाङले सबै तहले घरआँगन आउने सडकलाई जुटेर निर्माणमा लाग्‍नु पर्नेमा जोड दिइन् ।


प्रदेश सरकारको लगानीमा बन्‍न लागेको गुर्जेभन्ज्याङ-मानेभन्‍ज्याङ-दुप्चेश्‍वर सडक २३ करोड ८२ लाख रुपैयाँ ठेक्का लगाइएको छ । गत मंसिर १७ मा सम्झौता भएको ८ किलोमिटरको उक्त सडक ०७८ साल मंसिर १६ मा सम्पन्‍न गर्ने लक्ष्य छ । प्रकाशित : फाल्गुन ९, २०७६ १०:३७

ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

‘प्यारासाइट’ले ओस्कार जित्दा ट्रम्प किन दु:खी ?

एजेन्सी

कोलोराडो — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस वर्ष दक्षिण कोरियाली चलचित्र ‘प्यारासाइट’ ले ओस्कार अवार्ड जितेकोमा दुःख व्यक्त गरेका छन् । बिहीबार कोलोराडोमा भएको चुनावी र्‍यालीलाई सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले ‘प्यारासाइट’ दक्षिण कोरियाली चलचित्र भएकैले ओस्कार दिइनु गलत भएको बताएका हुन् ।

‘यस वर्षको एकेडेमी(ओस्कार) अवार्ड कति खराब थियो, तपाईँले ध्यान दिनुभयो? र विजेता भयो... दक्षिण कोरियाको एउटा चलचित्र,’ ट्रम्पले भने।

प्यारासाइटलाई अवार्ड दिनु गलत रहेको कारण बताउँदै ट्रम्पले भने, ‘यस्तो के वाइहात हो? दक्षिण कोरियासँगको व्यापारमा हाम्रा थुप्रै समस्या छन्। यस्तो अवस्थामा दक्षिण कोरियाली चलचित्रलाई नै यस वर्षको उत्कृष्ट चलचित्रको अवार्ड दिए।’

बोङ जून होको निर्देशन रहेको ‘प्यारासाइट’ चलचित्र ओस्कारमा उत्कृष्ट चलचित्रको अवार्ड जित्ने पहिलो विदेशी भाषाको चलचित्र हो। यसका साथै ‘प्यारासाइट’ ले उत्कृष्ट निर्देशक र उत्कृष्ट मौलिक पटकथाको अवार्ड पनि जित्न सफल भएको थियो।
ट्रम्पले अहिलेका चलचित्रप्रति असन्तुष्टि जनाइरहँदा ७० वर्षभन्दा पहिले बनेका अमेरिकी चलचित्रप्रति भने रुचि देखाएका थिए।
‘म गोन विथ द विन्ड जस्ता चलचित्र खोजिरहेको छु, के हामीकहाँ गोन विथ द विन्डजस्ता चलचित्र छैनन्। सनसेट बुलेवार्डजस्ता चलचित्र थुप्रै महान चलचित्र छन् नि,’ ट्रम्पले भने। ‘गोन विथ द विन्ड’ सन् १९३९ मा बनेको ऐतिहासिक अमेरिकी चलचित्र हो। मार्गरेट मिचेलको उपन्यासमा आधारित भएर बनाइएको यस चलचित्र भिक्टर फ्लेमिङले निर्देशन गरेका थिए।

‘प्यारासाइट’ राम्रो छ वा छैन भन्नेबारे भने आफूलाई केही जानकारी नभएको बताउँदै ट्रम्पले भने, ‘मलाई लाग्छ यो विदेशी भाषाको उत्कृष्ट चलचित्र हुन सक्थ्यो तर सर्वोत्कृष्ट चलचित्र नै। यसभन्दा पहिले यस्तो कहिल्यै भएको थियो?’

‘प्यारासाइट’ को अमेरिकी वितरक निअनले राष्ट्रपति ट्रम्पको विवादास्पद अभिव्यक्तिको आलोचना गरेको छ। निअनले ट्विटरमा लेखेको छ, ‘बुझ्न सकिने कुरा हो, उनी पढ्न सक्दैनन्।’
त्यस्तै राष्ट्रपति ट्रम्पले आफू ब्राड पिटको प्रशंसक नभएको पनि बताएका छन्। हलिउड अभिनेता पिटले ओस्कारमा उत्कृष्ट सह–अभिनेताको अवार्ड ग्रहण गर्दा ट्रम्पविरुद्धको महाभियोग प्रस्तावको प्रसंग ल्याएका थिए। ‘म ब्राड पिटको ठूलो प्रशंसक कहिल्यै थिइनँ तरउसमा केही बुद्धिमता भने देखिन्छ।’

प्रकाशित : फाल्गुन ९, २०७६ १०:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×