कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एउटै रङ, उस्तै घर

कान्तिपुर संवाददाता

(सिन्धुपाल्चोक) — हरियो जस्ता । सेतो र रातो रङले चिटिक्क पोतिएका एउटै आकारका घर । छेउमै कञ्चन इन्द्रावती नदी । एकै खालका नयाँ घरले इन्द्रावती गाउँपालिका–५, बाडेगाउँको रूप फेरेको छ । अक्सफाम, महिला आत्मनिर्भर केन्द्र मेलम्चीको आर्थिक प्राविधिक सहयोग र इन्द्रावती गाउँपालिकाको पहलकदमीमा माझी एकीकृत बस्तीमा ३६ घर बनेका हुन् । 

एउटै रङ, उस्तै घर

२०६७ सालमा इन्द्रावतीको बर्खे कटान र सुक्खा पहिरोले बस्ती धराप बनाएपछि इन्द्रावती किनारबाट माझी परिवार प्युघर सरेका थिए । उनीहरूले दुःख गरेर बनाएको सानो घर २०७२ को भूकम्पले ध्वस्त बनायो । मध्यपहाडी लोकमार्गले सडक निर्माणको क्रममा बस्ती नै उठाएपछि उनीहरू सुरक्षित स्थान खोज्दै भौंतारिए । ‘आफ्नै थातथलोबाट बेघर बनेका हामीले बल्ल चिटिक्कको घर पाएका छौं,’ हरिभक्त माझीले भने ।


बस्ती ठड्याएपछि गाउँभर पर्वजस्तै हर्ष छाएको एकीकृत माझी बस्ती व्यवस्थापन समितिकी अध्यक्ष शर्मिला माझीले बताइन् । झन्डै २८ रोपनी क्षेत्रफलमा फैलिएको एकीकृत बस्तीको भुइँतले घरमा तीन कोठा छन् । पानीको ट्यांकी निर्माण गरेर प्रत्येक घरमा खानेपानी, शौचालय र फोहोर व्यवस्थापन गर्ने व्यवस्थित टोकरी राखिएको अक्सफामका प्रमुख श्रीभक्त बस्नेतले बताए । ३ करोड १२ हजार ६५३ रुपैयाँको लागतमा माझी समुदायको श्रमदानबाट एक वर्षभित्रै एकीकृत बस्ती बनेको इन्द्रावती गाउँपालिका–५ का अध्यक्ष दुर्गाबहादुर तामाङले जानकारी दिए ।


नमुना बस्तीको अवधारणाअर्न्तगत एकीकृत बस्ती उभ्याइएकाले माझी परिवारलाई आयआर्जनको लागि होमस्टेको अवधारणा ल्याउने गाउँपालिकाले योजना बनाएको छ । माझीको मौलिक संस्कृतिलाई बस्तीभित्र समावेश गरेर इन्द्रावतीभित्रै माझी होमस्टे सुरुवात गर्ने अध्यक्ष तामाङले बताए ।


जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) को अध्ययन तथ्यांकअनुसार जिल्लाभर विभिन्न संस्कृति, समुदाय समेटेर २५ एकीकृत बस्ती बनिरहेका छन् । ‘सरकारी अनुदान लिएर एकीकृत बस्ती बनाउन सूचना दिइसकेका छौ,’ जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) का प्रमुख सन्तोष निरौलाले भने । सरकारी अनुदानको मापदण्डअनुरूप ग्रामिण क्षेत्रमा चार लाख, हिमाली भेगमा पाँच लाख र सहरी भूभागमा भए एक घर बराबर तीन लाख पूर्वाधारको रकम पाउने उनले बताए । विभिन्न एकिकृत बस्तीसहित गैरसरकारी संस्थाको सहयोगमा पाँच हजार भूकम्पपीडितको आवास बनिसकेको इकाईले जनाएको छ ।

प्रकाशित : फाल्गुन ३, २०७६ ०८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?