कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विभागलाई थाहै नदिई भत्काइन्छ सडक

प्रशान्त माली

काठमाडौँ — कालोपत्र गरेको एक साता नपुग्दै ललितपुरको पुल्चोक–झम्सीखेल–सानेपा सडक भत्काउन थालिएको छ । पाइपलाइन मर्मत गर्न भन्दै डिभिजन सडक कार्यालय ललितपुरले एक साताअघि पिच गरेको उक्त सडक काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले भत्काएको हो ।

विभागलाई थाहै नदिई भत्काइन्छ सडक

सडक खन्न केयूकेएलले स्वीकृतिसमेत नलिएको सडक विभागका महानिर्देशक केशव शर्माले बताए । एक महिनाअघि पनि पाटन कृष्ण गल्लीमा विनास्वीकृति सडक खनिएको उनको भनाइ छ ।


समन्वयविनै केयूकेएलले उक्त काम गरेपछि डिभिजन सडक कार्यालय ललितपुरका प्रमुख अमृतमणि रिमाल र महानिर्देशक शर्माले सामाजिक सञ्जालमा तस्बिर पोस्ट गर्दै आक्रोशसमेत पोखेका छन् । यसबारेमा सडक विभागका उपमहानिर्देशक शिवहरि सापकोटाले संसदको विकास तथा प्रविधि समितिको बैठकमा समेत कुरा उठाएका छन् ।


गत वैशाखमा पनि केयूकेएलले पुतलीसडकमा कालोपत्रे गर्दागर्दै खडक खनेको थियो । स्वीकृतिविनै सडक भत्काइएको विभागले जनाएको छ । उपमहानिर्देशक सापकोटा कालोपत्रे गरेको एक वर्षसम्म मर्मतसम्भारको अवधि भएकाले त्यसबीचमा कसैले सडक बिगार्न नहुने बताउँछन् । ‘विभागले चाहे पनि मर्मत गर्न मिल्दैन, अरू ठेक्काको त कुरै छाडौं,’ उनले भने, ‘तर केयूकेएल, टेलिकमले मनपरी खन्ने गरेका छन् ।’ उनका अनुसार सबभन्दा बढी समन्वय गर्नुपर्ने निकाय विद्युत् प्राधिकरण हो । प्राधिकरणले पनि विनास्वीकृति पोल गाड्ने र हटाउने गरिरहेको उनले बताए ।


केयूकेएलका महाप्रबन्धक मिलन शाक्यले भने आ–आफ्नो निकायको वार्षिक कार्यक्रमअनुसार निर्धारित समयमा काम सम्पन्न गर्नुपर्ने भएकाले समस्या हुने गरेको बताए । ‘काम नगर्ने हो भने बजेट फ्रिज हुन्छ,’ उनले भने, ‘एउटा निकाय र अर्कोबीच समन्वयको अभावले पनि समस्या देखिएको हो ।’


सडक विभागले कालोपत्र गरेको केही दिन नबित्दै खानेपानीले पाइप, टेलिकम र प्राधिकरणले पोल गाड्ने क्रम निरन्तर चलिरहेको छ । यसले सडक कुरूप बन्नुका साथै धुलोधुवाँको मात्रा बढेको छ । सडकको दायाँबायाँ खानेपानी, विद्युत, टेलिफोनलगायतका तार भूमिगत बनाउने (युटिलिटी करिडोर) सम्बन्धी कानुन बनेमा यो समस्या केही हदसम्म समाधान हुने सरकारी अधिकारी बताउँछन् ।


संसद्को विकास तथा प्रविधि समितिको सोमबारको बैठकमा अधिकारीहरूले आवश्यक कानुन नबन्दा अन्तरनिकायबीच समन्वय हुन नसकेको बताएका थिए । खानेपानी मन्त्रालयका सचिव माधव बेल्वासेले युटिलिटी करिडोर आवश्यक भए पनि कानुन बन्न ढिलाइ भइरहेको बताए । सहरी विकास मन्त्रालयले ऐनको मस्यौदा तयार गरिसकेको उनको भनाइ छ । विद्युत् प्राधिकरणले तार भूमिगत बिछ्याउन सडक विभागसँग सम्झौता गरिसकेको छ ।


संसदको विकास तथा प्रविधि समिति सदस्य टोपबहादुर रायमाझीले कानुन बनेर आएपछि त्यो कामलाई प्रभावित पार्न सक्नेतर्फ बेलैमा सचेत बन्नुपर्ने बताए । ऊर्जा मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठ करिडोरको ऐन नबेसम्म अन्तरनिकायबीच समन्वयले मात्र समस्या समाधान नहुने बताउँछन् । ‘खानेपानीका धेरै पाइप बिछ्याइसकेका छन्,’ उनले भने, ‘चाँडै ऐन बनाएर लागू गर्नुपर्‍यो ।’


युटिलिटी ऐनअनुसार सडकमुनि टनेल बनाइनेछ । त्यसमा युटिलिटी पूर्वाधार एकै ठाउँमा राखिनेछ । एउटा ‘वेट’ (पानी र ढल) र अर्को ‘ड्राई’ (बिजुली, टीभी, इन्टरनेट, टेलिफोन, केबलतार) को छुट्टै करिडोर बनाउनुपर्छ । यी दुवै च्यानललाई छुट्याएर लैजान सके राम्रो हुने विकास तथा प्रविधि समिति सदस्य टोपबहादुर रायमाझीले बताए । नेपाल विद्युत् प्राधिकरणका निर्देशक सुरेन्द्र हाडाले करिडोर आएमा पानी, ढल, बिजुलीका पोल भन्दै घरीघरी सडक खन्नुपर्ने अवस्थाको अन्त्य हुने बताए ।

प्रकाशित : फाल्गुन १, २०७६ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?