कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मुलुकी फौजदारी संहिता कार्यान्वयनमा जटिलता

हेटौंडा — गत भदौबाट लागू मुलुकी फौजदारी संहिता कार्यान्वयनको क्रममा केही जटिलताहरू देखिएका छन् । अभियोजन पक्षको दाबी र अदालतले गर्ने फैसलाले जटिलता देखापरेको हो । मुलुकी फौजदारी संहिता २०७४ को २४४ (घ) ले तीन वा तीनभन्दा बढी व्यक्तिले गरेको चोरीलाई डाँका कसुर ठहर्ने व्यवस्था गरेको छ तर कार्यान्वयनमा जटिलता देखापरेको छ । 

मकवानपुर जिल्ला अदालतले तीन जना संलग्न भएर गरिएको चोरीलाई चोरीकै महलअनुसार दण्डसजाय तोकेको छ । तर अभियोजन पक्षले तीन जना संलग्न भएर गरिएको चोरीलाई डाँका कसुरको माग दाबी गरेको थियो । जिल्ला अदालत मकवानपुरको न्यायाधीश दिल्लीरत्न श्रेष्ठको माघ ६ मा बसेको इजलासले हेटौंडाका राम घलान, लक्ष्मण घलान र विजय महतले हेटौंडा उपमहानगरपालिका १० टीसीएन रोडस्थित एआर अटो सप्लायर्स मोटर ग्यारेजको रेडिवाटर, गेयर बक्स हाडी र गेयर बक्स चेन्जर प्लेट चोरी गरेको ठहर गर्दै जनही १ वर्ष ६ महिना कैद र १५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । उनीहरूलाई कसुरको गाम्भीर्यता र सन्तुलनको हिसाबले फैसला गरिएको स्रेस्तेदार केशवराज कौशिकले बताए । तीन वा तीनभन्दा बढी व्यक्तिले गरेको चोरी डाँका कसुर ठहर्ने महलमा ५ वर्षदेखि १० वर्षसम्म कैद र ५० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था छ ।


अभियोजन पक्षले ५९ हजार रुपैयाँबराबरको सामान चोरीको दाबी गरेको भए पनि अदालतको मूल्यांकनमा १ हजार ९ सय ५० रुपैयाँको बराबरको सामान चोरी भएको उल्लेख छ । कानुनी जटिलताका कारणले गर्दा जिल्ला अदालत मकवानपुरले उक्त मुद्दामा मुलुकी अपराध संहिता २४४ दफा २ को (घ) को व्याख्यामा जटिल कानुनी प्रश्न समावेश भएको ठहर गर्दै उक्त मुद्दाको निरुपणका लागि एमिकस क्युरीको व्यवस्था गरेको थियो । एमिकस क्युरी भूमिकामा रहेका वरिष्ठ कानुन व्यवसायीहरूले पनि चोरीको सामानको मूल्य १ हजार ९ सय ५० रुपैयाँ मात्र, वारदातको समयमा कसैलाई कुटपिट नगरेको, डरधाकधम्की नदेखाएको हतियार प्रयोग नगरेकाले डाँका कसुरमा सजाय गर्नु मनासिव नठहर्ने राय दिएका थिए ।


अदालतले उक्त चोरी कार्य तीन वा तीन जनाभन्दा बढीको जमातबाट मात्र हुन सक्ने प्रकृतिको चोरीको वारदात देखिँदैन । उक्त घटना एक जनाबाट पनि हुन सक्ने देखिन्छ । चोरीको वारदातमा प्रतिवादीहरूले बल प्रयोग गरेको, डर देखाएको र पीडितलाई धम्की दिएको भन्ने जस्ता नितान्त अभाव देखिएकाले तीन वा तीन जनाभन्दा बढी चोरीको घटना संलग्न भएको भए पनि डाँका कसुर नठहर्ने फैसला गरेको छ ।


‘भर्खरै कार्यान्वयमा आएको मुलुकी फौजदारी संहिता व्यवहारमा लागू गर्ने क्रममा यस्ता जटिलताहरू देखिएका छन्,’ अधिवक्ता ईश्वरराज ढकालले भने, ‘यस्ता जटिलताहरूलाई चाँडै नै संशोधन गर्न जरुरी छ, संशोधन गर्न सकिएन भने न्याय निरुपण गर्दा समस्या उत्पन्न हुन्छ ।’

प्रकाशित : माघ १५, २०७६ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?