कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारतीय पर्यटक मृत्युबारे अनुसन्धान गर्न कार्यदल

(हेटौंडा) — मकवानपुरको थाहा नगरपालिका ४ स्थित एभरेस्ट पानोरमा रिसोर्टमा ८ जना भारतीय पर्यटकको साताअघि मृत्यु भएको घटनाबारे स्थलगत अध्ययन/अनुसन्धान गर्न ५ सदस्यीय कार्यदल गठन भएको छ ।

भारतीय पर्यटक मृत्युबारे अनुसन्धान गर्न कार्यदल

वाग्मती प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले उपत्यका पर्यटन कार्यालयका प्रमुख नवीन गिरीको संयोजकत्वका कार्यदल गठन गरेको हो ।


कार्यदलका सदस्यहरूमा उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका निर्देशक नेत्रप्रसाद भट्टराई, क्षेत्रीय होटल संघका अध्यक्ष, प्रदेश उद्योग वाणिज्य संघका अध्यक्ष रहेका छन भने सदस्यसचिवमा पर्यटन मन्त्रालयका दामोदर पाण्डे छन् ।


कार्यदललाई एभरेस्ट पानोरमा रिसोर्टको अध्ययन अनुसन्धानको साथै प्रदेशमा रहेका होटल, लज, रेस्टुरेन्ट, रिसोर्टका मापदण्ड कार्यान्वयनको अवस्था र पर्यटकले पाउने सेवा, सुविधा र सुरक्षाका अवस्थाबारे १५ दिनभित्र प्रतिवेदन पेस गर्न समयावधि तोकेको छ । ‘पानोरम रिसोर्टसहित प्रदेशका सबै होटलहरूको स्थलगत अध्ययन अनुसन्धान गरेर प्रतिवेदन पेस गर्न कार्यदल गठन गरेका हौं,’ उद्योग पर्यटन मन्त्री अरुण नेपाल भने, ‘प्रतिवेदन आएपछि त्यसको अध्ययनपश्चात् मापदण्ड कार्यान्वयन गर्न पहल गर्छौं ।’


माघ ७ मा पानोरमा रिसोर्टमा निस्सासिएर भारतको दक्षिणी राज्य केरलाका चार बालकसहित ८ जनाको मृत्यु भएको थियो । उनीहरू दुई परिवारका थिए । चिसोका कारण उनीहरूले रिसेप्सनमा बलिरहेको ग्यास हिटर कोठामा लगेका थिए । कोठामा अक्सिन अभावले उनीहरूको निस्सासिएर मृत्यु भएको थियो ।


घटनाबारे छानबिन गर्न संघीय सरकारले पनि समिति गठन गरेको छ । उक्त समितिले अध्ययन सुरु गरिसकेको छ । भारतको दक्षिणी राज्य केरला सरकारले उक्त घटनामा ज्यान गुमाएकाहरूको परिवारलाई पर्याप्त क्षतिपूर्ति दिन माग गरेको छ । केरलाका मुख्यमन्त्री पिनाराई विजयनले दामनस्थित पानोरमा रिसोर्टमा मृत्यु भएका ८ जना भारतीय नागरिकको परिवारलाई नेपाल सरकारबाट क्षतिपूर्ति दिलाउन माग गरेका छन् । उनले केन्द्र सरकारबाट आवश्यक पहल थाल्न विदेश मन्त्री एस जयंशकरलाई पत्र लेख्दै त्यस्तो आग्रह गरेका हुन् ।

प्रकाशित : माघ १५, २०७६ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?