कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रोकिएन घ्याप्चेको पहिरो

टीकाप्रसाद भट्ट

रामेछाप — हिउँदको सुक्खा मौसममा पनि पहिरो । धेरैले यो कुरा पत्याउँदैनन तर रामेछापको मन्थली नगरपालिका वडा ३ र ४ बीचमा पर्ने घ्याप्चेमा हिउँदमा पनि निरन्तर सुक्खा पहिरो झरिरहेको छ । 

रोकिएन घ्याप्चेको पहिरो

कुनै विस्फोटक पदार्थ पड्कँदा उड्ने धूलो जस्तै घ्याप्चेमा पहिरो झर्दा उडेको धूलोले वरिपरिका बस्ती धुलाम्य हुने गरेका छन् । वर्षामा फुटेर झर्न ठिक्क ढुंगा–माटाका ढिस्काहरू हिउँदमा चर्को घाम, हावा र सामान्य कम्पनले पनि झर्ने गरेको स्थानीय रामबहादुर मगरले बताए ।


घ्याप्चेमा ०१८ यता पहिरो जान थालेको हो । रणजोर खोलाको शिर उक्त स्थानमा पहिरो सामान्य खोला थियो । मगरका अनुसार पहिरोले सालु र कठजोर दुवैतर्फको जमिन झार्ने क्रम चलिरहेको छ । अहिलेसम्म पहिरोले करिब ८ सय मिटर चौडा क्षेत्रफल ओगटिसकेको छ । पहिरोको क्षेत्र विस्तार हुने क्रम पनि उत्तिकै बढेको छ । बिजुलीकोटतर्फको भागमा धेरै जमिन घ्याप्चेतिर तान्ने भएको छ । स्थानीय ज्ञानबहादुर खत्रीले भने, ‘काङ्वा गाउँको केही भाग जोखिममा छ । काङ्वाको माथिल्लो भेगको जंगलमा

धाँजा फाटेर जमिन झरिरहेको छ ।


पहिरोमा माटो र ढुंगा बराबरी झर्छ । नजिकै कोही जान सक्दैनन् । दिउँसोतिर ठूलो आवाज गरेर पहिरो झर्ने गरेको स्थानीय महेश श्रेष्ठले बताए । उनका अनुसार हिउँदमा झर्ने माटो र ढुंगा तल फेदिमा थुप्रिन्छ । वर्षालागेपछि त्यही माटो बगेर तामाकोसीतिर जान्छ ।


रणजोरमा पानीभन्दा धेरै लेदो बग्छ । पानी नै नदेखिने लेदो बग्ने रणजोरले सालुदेखि मन्थलीसम्म सयौं रोपनी खेतीयोग्य जमिन विनाश गरेको छ । लेदो र ढुंगाले खोलाको सतह उकास हुँदा खोला आसपासका खेतीयोग्य जमिन पुरिँदै गएका छन् । खेतभन्दा खोला माथि हुँदा रणजोर नियन्त्रणभन्दा बाहिर जाने गरेको हो ।


घ्याप्चेको पहिरो नियन्त्रणका लागि धेरै चुनावमा नेताहरूले नारा दिए । स्थानीयदेखि राष्ट्रियस्तरको निर्वाचनका लागि घ्याप्चेको पहिरो चुनावी मसला हुने गरेको छ तर नियन्त्रणको प्रयास अहिलेसम्म हुन सकेको छैन । जाईका र अन्य दातृ संस्थाले पहिरो नियन्त्रणका लागि धेरै पटक सर्भेक्षण समेत गरे पनि हालसम्म कुनै संस्थाले पनि पहिरो रोकथामको लागि काम सुरु गरेका छैनन् ।

धेरै ठूलो लगानी गर्नुपर्ने अवस्था रहेकाले स्थानीय सरकारले घ्याप्चेको पहिरो नियन्त्रणका लागि योजना वनाउन नसकेको मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार बस्नेत बताउँछन् ।


उनका अनुसार स्थानीय सरकारले गर्न सक्ने लगानीले पहिरो नियन्त्रणमा आउने सम्भावना नै छैन । घ्याप्चे पहिरो नियन्त्रणका साथै त्यसबाट बग्ने रणजोर खोला नियन्त्रण गर्न सके सयौं रोपनी खेतीयोग्य जमिन निकाल्न सकिने अवस्था रहेको बस्नेतले बताए । भूसंरक्षण विभागमार्फत पहिरो नियन्त्रणका लागि केही वर्षअघि कार्यक्रम सुरु गरिएको थियो । काम गर्दा गर्दै आएको पहिरोले गरेको कामसमेत लग्यो । फेरि विभाग घ्याप्चेमा फर्किएको छैन ।


घ्याप्चे रामेछापको सबैभन्दा ठूलो पहिरो हो । यो पहिरो जान थालेपछि ७० परिवारको उठिबास लाग्यो । सालुको गैह्राथोकबाट धेरै बसाइँ हिँडे । अझै धेरै परिवार जोखिममा छन् । पहिरोले गैह्राथोक गाउँलाई समेत चिरा–चिरा पारेको छ । खेतबारीमा धाँजा फाँटेका छन् । ०७२ को भूकम्पले गैह्राथोकमा थप क्षति पुगेको छ ।


उक्त स्थानमा बसोबास गर्नेलाई सुरक्षित स्थानमा सार्ने प्रयोजनका लागि घडेरी किन्न २ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय भएको थियो । हालसम्म जम्मा ४ परिवारले मात्र सुरक्षित स्थानमा जानका लागि जग्गा व्यवस्थापन गरेका छन् । अरू जोखिममै बसोबास गर्दै आएका छन् ।



प्रकाशित : माघ १३, २०७६ ०९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?