काठमाडौं विश्वविद्यालयमा ‘जुँगाको लडाइँ’

नगेन्द्र अधिकारी

(काभ्रे) — प्राध्यापक र कर्मचारीको तालाबन्दीका कारण पुस १६ गतेबाट ठप्प काठमाडौं विश्वविद्यालयको पठनपाठन अझै सञ्चालन हुन सकेको छैन । माघ ५ मा भएको कार्यकारी परिषद्को बैठकले माघ १३ गते बस्ने विशेष सभामा सहमति कार्यान्वयन गर्ने आशयको प्रस्ताव तयार गरेपछि प्राध्यापक र कर्मचारी ‘सकरात्मक’ भए पनि ताला अझै खुलाएका छैनन् । 

ZenTravel

साउन २३ गतेबाट सुरु भएको प्राध्यापकको आन्दोलन ४२ दिनपछि सहमतिमा टुंगिएको थियो । भदौ ३० को सहमतिमा काठमाडौं विश्वविद्यालय प्राध्यापक संघ (कुपा) र कर्मचारी संघ (कुसा) लाई पारित गर्ने, विश्वविद्यालय सभामा प्रतिनिधित्व गराउने, आर्थिक तथा नीतिगत भ्रष्टाचार छानबिन गर्ने र वृत्ति विकासलगायतका विषय थिए । तर आफूलाई अलमल्याउन सहमति गरेको र कार्यान्वयन गर्न तत्परता नदेखाएको भन्दै प्राध्यापक र कर्मचारीले शैक्षिक र प्रशासनिक कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरे । यसअघिका आन्दोलनमा प्रशासनिक कार्यालयमा मात्रै तालाबन्दी गर्दै आएका उनीहरूले डीन कार्यालय, अन्य स्कुल, परीक्षा नियन्त्रणको कार्यालय, टेक्निकल ट्रेनिङ सेन्टरसहित प्रशासकीय भवनमा समेत तालाबन्दी गरी विज्ञप्ति टाँसेका छन् ।

तालाबन्दीका कारण पठनपाठन मात्रै नभई परीक्षासमेत प्रभावित भएको छ । आन्दोलन नटुंगिएपछि विश्वविद्यालयले माघ १३ गतेसम्म जाडो बिदा दिएको सूचना जारी गरेको छ । पटकपटक सम्झौता भए पनि कार्यान्वयन नभएको भन्दै सशंकित भएका प्राध्यापक र कर्मचारी कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बस्ने विशेष सभा पर्खिरहेका छन् । ‘हाम्रा एजेन्डा विशेष सभामा लैजाने सहमति सकारात्मक हो, तर पटकपटक सहमति गर्ने तर निर्णय नगर्ने प्रवृत्तिले हामी अझै सशंकित छौं,’ काठमाडौं विश्वविद्यालय प्राध्यापक संघका सभापति वेदमणि दाहालले भने, ‘सहमति गर्ने तर कार्यान्वयन नगर्ने स्थिति फेरि बन्यो भने आन्दोलनमा जानुको विकल्प छैन, त्यसले विश्वविद्यालयलाई धरासायी बनाउँछ ।’ प्राध्यापक संघका सल्लाहकार समेत रहेका पूर्व अध्यक्ष विभूतिरञ्जन झाका अनुसार सहमति गरेर कार्यान्वयन नगर्ने विश्वविद्यालय प्रशासनको पुरानै ‘रोग’ हो ।

‘आन्दोलन दबाउन सहमति गर्ने तर कार्यान्वयन नगर्ने विश्वविद्यालयको नियत नै हो,’ उनले भने, ‘१४ वर्षदेखि एउटै माग उठाउँदै आएका छौं, व्यवस्थापन सहमति पनि गर्छ तर कार्यान्वयन भने गर्दैन ।’ झा अनुसार, २०६२/६३ सालमा संघ गठन भएपछि उठाएका माग र भएको सहमति १४ वर्षपछि पनि एउटै छ, तर कार्यान्वयन भएको छैन । प्राध्यापक र कर्मचारी संघमार्फत बाह्य राजनीतिक प्रभाव भित्रिने बुझाइ केयू व्यवस्थापनको छ । सोही कारण पटकपटक कुपा र कुसालाई मान्यता दिने सहमति गरेर पनि कार्यान्वयन गरेको छैन । केयूका रजिस्ट्रार सुबोध शर्माले सहमति कार्यान्वयका लागि आफूहरू सकरात्मक भएको बताए । माघ १३ गते बस्ने विशेष सभाले यसबारे निर्णय लिने उनको भनाइ छ ।

‘प्राध्यापक र कर्मचारीसँग भएका सहमति विशेष सभामा लैजाने कार्यकारी परिषद्ले निर्णय गरेको छ, ती समस्या विशेष सभाबाट सम्बोधन हुने ठूलो अपेक्षा गरेका छौं,’ शर्माले भने, ‘व्यवस्थापन, प्राध्यापक र कर्मचारीबीच देखिएको विश्वासको संकट समाधान हुनेछ ।’

प्रकाशित : माघ १०, २०७६ ०८:४६
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

एपीएफविरुद्ध फेरि न्यु डायमन्ड भिड्ने

कान्तिपुर संवाददाता

काठमाडौँ — महिला भलिबलका चिरप्रतिद्वन्द्वी एपीएफ र न्यु डायमन्ड स्पोर्ट्स क्लबबीच पाँचौं आरबीबी–एनभीए राष्ट्रिय क्लब महिला भलिबल च्याम्पियनसिपको उपाधि भिडन्त हुने भएको छ । 

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा बिहीबार सेमिफाइनलमा एपीएफले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई २५–१५, २५–१६, २५–२२ को सोझो सेटमा हराएको थियो । अर्को खेलमा न्यु डायमन्डले भने त्रिभुवन आर्मी क्लबलाई नै सोझो सेटमै हरायो । डायमन्डले २५–१५, २५–२२, २५–१३ को नतिजा निकालेको थियो

सोही प्रतियोगिताको पुरुषतर्फ सेमिफाइनलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई पन्छाएको छ । अघिल्लो संस्करण विजेता आर्मीमाथि एपीएफले २५–२२, २५–२२, २६–२४ को सेटमा नतिजा निकाल्यो ।

अब एपीएफले उपाधिका हेल्प नेपाल स्पोर्ट्स क्लबसँग प्रतिस्पर्धा गर्नेछ । तीन भारतीय र भारतीय सेनाका नेपाली खेलाडीसम्मिलित हेल्प नेपालले नेपाल पुलिस क्लबलाई २५–२१, २५–१६, २५–१५ ले पराजित हरायो । हेल्प नेपालले गत संस्करणमा सहभागिता जनाए पनि खेलाडी विवादका कारण प्रतियोगिता बीचमै छाडेको थियो ।

च्याम्पियनसिपका शीर्ष तीन स्थानका विजेताले क्रमशः २ लाख, १ लाख र ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । विधागत उत्कृष्ट खेलाडीले जनही १० हजार र सर्वोत्कृष्ट खेलाडीले २५ हजार प्राप्त गर्नेछन् । दुवैको फाइनल शुक्रबार हुनेछ ।

प्रकाशित : माघ १०, २०७६ ०८:४३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×