कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पर्यटकले निकुञ्ज भरिभराउ

(चितवन) — ६ महिनायता १ लाख ३० हजार पर्यटकले चितवन राष्ट्रिय निकुञ्ज घुमेका छन् । यो पटक विदेशीकै हाराहारीमा स्वदेशी पर्यटकले निकुञ्ज घुमेका छन् । निकुञ्जका सूचना अधिकारी गोपालबहादुर घिमिरेका अनुसार यो आर्थिक वर्षको असारदेखि पुससम्म निकुञ्ज घुम्ने कूल पर्यटक १ लाख ३० हजार ३ सय ९२ पुगेको बताए ।

पर्यटकले निकुञ्ज भरिभराउ

अघिल्लो आर्थिक वर्षमा यो अवधिमा ८८ हजार १ सय ४८ जनाले निकुञ्ज भ्रमण गरेका थिए । वन सहायक संरक्षण अधिकृतसमेत रहेका घिमिरेले भने, ‘यो वर्ष पर्यटक आवागमनको संख्या उत्साहजनक देखिएको छ ।’ अघिल्लो आर्थिक वर्षको १२ महिनामा कूल १ लाख ८७ हजार १ सय ९ पर्यटकले निकुञ्ज घुमेका थिए । भ्रमण वर्षको औपचारिक घोषणाअघि नै पर्यटक संख्या राम्रो देखिएको हुँदा आउने महिनामा पर्यटक बढ्न सक्ने घिमिरेले बताए ।


तर भ्रमण वर्षले लक्ष्य गरेअनुरुप पर्यटक आउनेमा भने पर्यटन व्यवसायीहरू ढुक्क देखिँदैनन् । निकुञ्जको तथ्यांक हेर्दा गएको ६ महिनामा घुम्न आएका पर्यटकमा नेपाली र स्वदेशी लगभग बराबर छन् । अत्याधिक पर्यटक आएको कात्तिक, मंसिर र पुस महिनामा विदेशीभन्दा स्वदेशी पर्यटकको संख्या बढी छ । बाँकी समयमा पनि नेपाली पर्यटक धेरै नआए भ्रमण वर्षले लक्ष्य गरेको पर्यटकको संख्या पुग्न गाह्रो हुन्छ ।


भ्रमण वर्षका अवसरमा ४ लाख पर्यटकले चितवन घुम्ने अपेक्षा पर्यटन व्यवसायीहरूको हो । ‘६ महिनाको तथ्यांक तुलनात्मक रूपमा राम्रो हो । तर भ्रमण वर्षको जुन लक्ष्य छ त्यसअनुरूप पर्यटक आउन यो संख्या अझ धेरै बढ्नुपर्छ । जुन तरिकाले पर्यटक आएका छन्, त्यसले भ्रमण वर्षमा घुम्ने पर्यटकको संख्या २ लाखभन्दा केही माथि मात्रै रहने अवस्था छ,’ क्षेत्रीय होटल संघ चितवन सौराहाका निवर्तमान अध्यक्ष सुमन घिमिरेले भने ।


तीन महिनामा ९७ हजार पर्यटक

निकुञ्ज कार्यालयबाट प्राप्त विवरणअनुसार कूल पर्यटकमध्ये विदेशी ५९ हजार ४ सय ६७ जना छन् । स्वदेशी पर्यटकको संख्या पनि ५९ हजार १९ रहेको छ । सार्क राष्ट्रबाट निकुञ्ज घुम्न आएका पर्यटकको संख्या ११ हजार ९ सय ६ रहेको सूचना अधिकृत घिमिरेले जानकारी दिए । निकुञ्ज घुम्न कात्तिक, मंसिर र पुस महिनामा अत्याधिक पर्यटक आएका छन् । यी ३ महिनामा ९७ हजारधन्दा बढी पर्यटकले निकुञ्ज घुमेका छन् । चितवन निकुञ्ज विसं २०३० सालमा स्थापना भएको नेपालको पहिलो राष्ट्रिय निकुञ्ज हो । यो निकुञ्ज संयुक्त राष्ट्र संघीय निकाय युनेस्कोको विश्व सम्पदा सूचीमा पनि सूचीकृत छ । निकुञ्जमा विश्वमै दुर्लभ ठूलो एकसिंगे गैंडा, पाटो बाघ, घडियाल गोहीजस्ता जन्तु, जलचर, अनेकौं पक्षी र वनस्पति पाइन्छन् । निकुञ्ज आडमा थारू, दराई, कुमालजस्ता आदिवासी जनजाति समुदायको बाक्लो बसोबास छ । निकुञ्जभित्रको जंगली जनावरहरू हेर्न र निकुञ्ज आसपास बसेका आदिवासीहरूको संस्कार संस्कृति हेर्न देश विदेशबाट पर्यटक यहाँ आउने गर्दछन् ।


अहिलेसम्म धेरै पर्यटक आउँदा अघिल्लो वर्ष कात्तिक महिनामा २६ हजार १६४ पर्यटकले निकुञ्ज घुमेका थिए । यो वर्ष कात्तिकमा ३६ हजार ७ सय ३९, मंसिरमा ३० हजार २ सय ५७ र पुसमा ३० हजार ८ सय ४४ पर्यटकले निकुञ्ज घुमेका छन् । जुन संख्या निकुञ्जको इतिहासमै नयाँ रेकर्ड हो ।


यी तीनवटै महिनामा निकुञ्ज घुम्ने पर्यटकमा स्वदेशीको संख्या धरै छन् । स्वदेशी, विदेशी र सार्कसमेत गरेर ३ महिनामा कुल ९७ हजार ८ सय ४० पर्यटकले चितवन निकुञ्ज घुम्दा स्वदेशी पर्यटकको संख्या आधाभन्दा धेरै ५३ हजार २ सय २६ रहेको छ ।


सौराहामै चाप

चैत–वैशाख पनि पर्यटक धेरै आउने महिना हुन् । सहायक संरक्षण अधिकृत घिमिरे यो वर्ष स्वदेशी पर्यटकको संख्या बढेको र आएकामध्ये धेरै पर्यटक सौराहा जाने क्रम यथावत् रहेको बताउँछन् । निकुञ्जले चितवनसहित मकवानपुर, पर्साको केही भाग र नवलपुरलाई पनि छोएको छ । निकुञ्ज छिर्ने १० वटा प्रवेशद्वार छन् । जसमध्ये सौराहा एक हो । तर निकुञ्ज घुम्नेमध्ये ८० देखि ९० प्रतिशत पर्यटक सौराहा जान्छन् ।


सौराहामा वन्यजन्तु हेर्न र घुम्न मात्रै नभएर पछिल्लो समय बिहेका लागिसमेत आउने क्रम बढेको छ । भारतीयहरू बिहेका लागि सौराहा आउने गरेको क्षेत्रीय होटल संघ चितवन सौराहाका कोषाध्यक्ष माधव दुवाडीले बताए । ‘अघिल्लो वर्ष मात्रै उनको होटलबाट १२ वटा बिहे सम्पन्न भए । यो वर्ष पनि बुकिङ छ,’ उनले भने ।


सौराहाभन्दा अन्यत्र पर्यटनको राम्रो विस्तार भईनसकेको पर्यटन व्यवसायीहरू बताउँछन् । ‘भ्रमण वर्षको माहोलमा पनि हाम्रोतिर अवस्था सामान्यझैं छ । उही हो, पहिला जे जति पर्यटक आउँथे, अहिले पनि त्यति नै छ,’ पश्चिम चितवन मेघौलीमा रहेको पर्यटकीय होटल साराङ वाइल्ड लाइफ रिसोर्टका सञ्चालक सुबोध प्रधानले भने । पर्यटकहरू जिप वा हात्ती चढेर जंगल घुम्छन् । राप्ती नदीमा परम्परागत ढुंगा चढेर रमाउने गर्दछन् ।


‘सौराहा र निकुञ्ज घुम्नेहरू बढेका छन् । सौराहामा वन, वन्यजन्तुका अलवा अन्य पर्यटकीय गतिविधिहरू थप्न पाए झनै राम्रो हुन्थ्यो,’ क्षेत्रीय होटल संघ चितवन सौराहाका कोषाध्यक्ष माधव दुवाडीले भने ।

प्रकाशित : माघ ८, २०७६ ०९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?