२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६२

गौरीशंकर परिपथ निर्माण गर्दै प्रदेश

मकवानपुर — वागमती प्रदेश सरकारले दोलखा जिल्ला तथा चीनको सिमानास्थित गौरीशंकर हिमाल अवलोकन गर्न परिपथ निर्माण गर्ने भएको छ ।

धार्मिक मान्यताअनुसार गौरीशंकर आरोहण गर्न नमिल्ने भएपछि प्रदेश सरकारले नयाँ पर्यटकीय गन्तव्यको रूपमा गौरीशंकर परिपथ निर्माण गर्न लागेको हो । प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले नेपाल भ्रमण वर्ष २०२० को सन्दर्भ पारेर नयाँ पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने गरी यसै वर्षबाट काम अगाडि बढाउने तयारी भइरहेको मन्त्री अरुण नेपालले बताए ।


‘गौरीशंकर हिमाल धार्मिक मान्यताअनुसार आरोहण गर्न नमिल्ने रहेछ । प्रदेश सरकारले त्यसको दर्शनका लागि हिमाललाई एक फन्को घुम्ने गरी परिपथ निर्माण गर्न लागेको हो,’ उनले भने । उनका अनुसारका चालू आर्थिक वर्षमा डीपीआर निर्माणका लागि २ करोड रुपैयाँ विनियोजन गरिएको छ । ‘यस वर्षभित्रमा डीपीआर निर्माण सक्नेछौं । आगामी वर्ष आवश्यकताअनुसार बजेट विनियोजन हुनेछ,’ मन्त्री नेपालले भने, ‘उक्त परिपथ निर्माणका लागि करिब डेढ अर्ब रुपैयाँ लाग्ने अनुमान छ ।’


हिन्दु धर्मावलम्बीहरूले आराध्यदेव शिव र पार्वतीको प्रतीक रूपमा गौरीशंकर हिमाललाई लिने गरेको पाइएकाले परिपथ निर्माण गरी धार्मिक र ट्रेकिङमा रुचि राख्ने पर्यटकलाई त्यहाँसम्म पुर्‍याउने काममा प्रदेश सरकार लागि रहेको मन्त्री नेपालले बताए । परिपथ निर्माणका लागि डीपीआर अध्ययन गर्न ११ वटा कन्सल्टेन्सी छनोट भइसकेको मन्त्रालयले जनाएको छ । ‘कन्सल्टेन्सी छनोट भइसकेको छ । डीपीआर निर्माण यसै वर्ष सकाएर आगामी वर्षबाट आवश्यकताअनुसार बजेट विनियोजन हुनेछ । हामी तीन वर्षभित्रमा पूर्णरूपमा परिपथ निर्माण सम्पन्न गरिसक्नेछौं,’ उनले भने ।


७१३४ मिटर अग्लो यस हिमालबाट नेपालको प्रामाणिक समय निर्धारणसमेत गरिएको छ । जापानमा फुजी पहाडलाई पवित्र पहाडका रूपमा लिएजस्तै नेपालमा गौरीशंकर हिमाललाई पवित्र हिमालका रूपमा लिइने गरेकाले पनि धार्मिक पर्यटक आकर्षित गर्न सकिने मन्त्रालयले जनाएको छ । ‘गौरीशंकर हिमाललाई नेपालको कैलाश क्षेत्रका रूपमा विकास गर्नसमेत मन्त्रालयलाई सुझाव प्राप्त भइरहेको छ । हामी सोहीअनुसार धार्मिक–सांस्कृतिक पर्यटन र जैविक विविधताका हिसाबले गौरीशंकर हिमाल र रोल्वालिङ क्षेत्रको राष्ट्रिय–अन्तर्राष्ट्रिय महत्त्वमाथि प्रकाश पार्दै परिपथ निर्माणमा अगाडि बढेका हौं,’ मन्त्री नेपालले भने ।


गौरीशंकरको फेदीमा सुन्दर च्छो रोल्पा हिमताल र बेदिङ गुम्बा रहेकाले यसलाई व्यापक प्रचारप्रसार गर्न सके थप पर्यटकको आगमन हुने विश्वास मन्त्रालयको छ । विद्यार्थीसहित अध्येताहरूका लागि पनि गौरीशंकर महत्त्वपूर्ण स्थल भएको र जैविक विविधताले भरिएकाले नेपालकै ठूलो योग ध्यान केन्द्र स्थल स्थापना गर्नुपर्ने मागसमेत मन्त्रालयमा त्यस क्षेत्रका मानिसले गरिरहेका छन् ।


प्रकाशित : माघ ७, २०७६ ०७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले संघीय संसद्‌मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम कस्तो लाग्यो ?