कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

घुँगी खान सबै हुरुक्क

घुँगी खान सबै लालायित भए पनि पकाउन थारु समुदाय नै अगाडि छन् । होटलहरुमा पनि थारु समुदायलाई कुक राखेरै घुँगी पकाउने गरिन्छ ।  

(चितवन) — शंखेकीराजस्तो देखिने भएका कारण घुँगी खाने कुरा गर्दा धेरैलाई दिगमिग लाग्न सक्छ । तर थारू समुदायको यो लोकप्रिय परिकार अहिले थारूको भान्सामा मात्रै सीमित छैन । होटलहरूमा घुँगी पाक्न थालेको छ । हाटबजारमा अरू तरकारी सरह घुँगी बिक्री हुन सुरु भएको छ । के थारू, के अरू घुँगी खान भनेपछि अचेल सबै हुरुक्क हुने गरेका छन् ।

घुँगी खान सबै हुरुक्क

माघी थारूहरूको पर्व हो । थारूको पर्वको सन्दर्भ पारेर आयोजना भएको कार्यक्रममा थारूका परिकारहरू पाक्ने नै भए । चिच्चर, माछा, हाँसको मासुसँगै घुँगी खान रुचाउनेहरू महोत्सव हेर्न आउने नै भए । माडी सिधुवाकी मीनाकुमारी महतो थारू परिकार तयार पार्न व्यस्त छिन् । उनले पाँच किलो घुँगी सफा गरेर पकाउने तरखरमा छन् ।


‘घुँगीलाई लसुन चाहिन्छ । अरू मसला मिलाए पनि लसुन मिसाउन बिर्सनै हुन्न,’ लसुन पोटी छोडाउँदै मीनाले भनिन् । वंशराज मर्दनिया थारू ६० वर्षका भए । माडी जीवनपुरका वंशराजका वंशले घुँगी खाँदै आए । पहिला थारूहरूले मात्रै खान्थे । अरूले खान त्यति रुचि दिँदैन थिए । तर अहिले यो थारूको मात्रै परिकार नभएको वंशराजले बताए ।


‘हामी त पहिलेदेखि खाँदै आएको हो अहिले पनि खान्छौं । तर अहिले अरू समुदाय गुरुङ, मगर, नेवार, बाहुन क्षेत्री सवै खान्छन् । यो जात ऊ जात भन्ने नै छैन । उनीहरूले नपकाउलान् तर हामीले पकाएको घुँगी मिठै मानेर खान्छन्,’ वंशराजले भने । शंखेकीराजस्तो देखिए पनि घुँगी फरक हो । खोला, पोखरी र खेतबाट घुँगी संकलन गरेर ल्याएपछि एकरात पानीमा त्यसै राख्ने गरिन्छ । ‘एकरात पानीमा राखेपछि यसको पेटमा भएको सबै चिजहरू दिसा भएर बाहिर निस्कन्छ । त्यसपछि बेस्सरी पानीले धोएर सफा गर्दछौं । घुँगीको खोलको पछिल्लो भाग काट्छौं । फेरि पानीमा पखालेर सफा गर्दछौं । अनि पकाउँछौं,’ मीनाले तरिका बताइन् ।


घुँगी खान सबै लालायित भए पनि पकाउन थारूहरू नै अगाडि सर्ने उनको अनुभव छ । अरूको भान्सामा घुँगी खासै पाक्दैन । होटलहरूले पनि थारू ‘कुक’ राखेर घुँगी पकाउँछन् । घुँगी ओखती पनि हो भन्छन् थारू पाका पुरानाहरू । हात खुट्टा भाँचिएमा, मर्केमा ज्यान दुखेमा घुँगी पकाएर खाने चलन रहेको अर्का थारू वृद्ध माडी सिधुवाका जीएन महतोले बताए । यसमा क्यल्सियम भन्ने तत्त्व हुन्छ रे, जसले हड्डीलाई बलियो बनाउँछ । त्यसैले यो स्वादका लागि मात्रै नभएर हामी थारूहरूले ओखतीका लागि पनि निकै पहिला पुस्तौं पुस्तादेखि खाँदै आएको हो,’ जीएन महतोले भने ।


घुँगी खाने चलन बढे पनि घुँगी कम हुँदै गएको स्थानीय थारू समुदायका व्यक्तिहरूको अनुभव छ । ‘पहिला हामी घुँगी टिप्न जाने खोलाहरू अहिले राष्ट्रिय निकुञ्जभित्र परेका छन् । गाउँमा खेतीपातिमा विषादी र रासायनिक मल राख्ने चलन बढेर हो कि, किन हो पहिलाको जस्तो घुँगी पाइँदैन,’ वंशराजले भने । महोत्सवको स्टलमा पकाउने घुँगी नारायणगढ बजारबाट मगाउनुपरेको मीनाकुमारीले बताइन् । भदौ असोजमा घुँगी धेरै मान्छ । अरू बेला पनि घुँगी नपाइने हैन । ‘यो बाह्रै महिना पाइने गर्छ । तर पहिलाको जस्तो छैन । कम हुँदै गयो । माटै खराब भयो कि पानी राम्रो भएन कि ? हामीलाई यसको भने चिन्ता छ,’ जीएन महतोले भने ।


घुँगी थारूहरूको पहिचानजस्तै भएको हुँदा यसलाई जोगाउन पनि थारूहरू नै जाग्नुपर्ने उनले बताए । तर घुँगी के भएर कम भयो त्यो कुरा जान्नेहरूले बताउनुपर्ने उनको भनाइ छ ।

प्रकाशित : माघ १, २०७६ ०९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?